ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
नवलपुरमा २०४८ देखिको कांग्रेसको विरासत भत्कियो
2082 General Campaign Alert

नवलपुरमा २०४८ देखिको कांग्रेसको विरासत भत्कियो

Inquiry Nepal Inquiry Nepal March 8, 2026 at 5:54 PM 91 views
गौतम तत्कालीन नेकपा माओवादीको राजनीति गर्दै रास्वपामा प्रवेश गरेका थिए। उनी रास्वपाको गण्डकी प्रदेश सभापति समेत हुन्। यसअघि देवचुली कलेजको क्याम्पस प्रमुख भएर काम गरेका उनले स्नातकोत्तरसम्मको अध्ययन पुरा गरेका छन्।...

नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को क्षेत्र नम्बर एक नेपाली कांग्रेसको गढका रूपमा हेरिन्थ्यो। यहाँ २०४८ सालदेखि यताका निर्वाचनमा कांग्रेसका उम्मेदवार विजयी हुँदै आएका थिए। यस पटक भने कांग्रेसको गढका रूपमा रहेको यस क्षेत्र भत्किएको छ।

रास्वपाका उम्मेदवार राजन गौतमले कांग्रेसको गढका रूपमा हेरिने यस क्षेत्र भारी मतका साथ भत्काएका हुन्। गौतमले ५० हजार ९ सय ४५ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी कांग्रेसका बालकृष्ण घिमिरेले १६ हजार २ सय ९३ मत मात्र प्राप्त गरे। ३४ हजार ६ सय ५२ को यो फराकिलो मतान्तरले जित हासिल गर्दै कांग्रेसको विरासत रहेको किल्लामा जित हासिल गरेका हुन्। यहाँबाट एमालेका भागिरथ सापकोटाले ९ हजार १३१, श्रम संस्कृति पार्टीका भिमचन्द्र गुरुङले १ हजार ७०२, नेकपाका लोक प्रसाद भुर्तेलले १ हजार २४५, दीपक चन्द्र बस्ताकोटीले १ हजार २२१ मत प्राप्त गरेका छन्।

२०७९ सालको निर्वाचनमा कांग्रेस नेता डा. शशांक कोइरालासँग पराजित भएका गौतमले यस पटक भने आफ्ना प्रतिस्पर्धीलाई ठुलो मतान्तरले पछि पार्दै जित हासिल गरेका हुन्। अघिल्लो निर्वाचनमा २०७९मा कोइरालाले २७ हजार ६७ मत प्राप्त गर्दा एमालेका उम्मेदवार कृष्णप्रसाद पौडेलले २५ हजार ४७ मत प्राप्त गरेका थिए। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार राजन गौतमले २४ हजार ३०५ मत प्राप्त गरेका थिए। यहाँ राप्रपाका उम्मेदवार डा.मोहन लाल भूसालले ३ हजार ४३९ मत प्राप्त गर्न सफल भएका थिए।

गौतम तत्कालीन नेकपा माओवादीको राजनीति गर्दै रास्वपामा प्रवेश गरेका थिए। उनी रास्वपाको गण्डकी प्रदेश सभापति समेत हुन्। यसअघि देवचुली कलेजको क्याम्पस प्रमुख भएर काम गरेका उनले स्नातकोत्तरसम्मको अध्ययन पुरा गरेका छन्।

विगतको इतिहास यस्तो छ
यस निर्वाचन क्षेत्रमा अन्य पार्टीका उम्मेदवारलाई जित्न कठिन थियो। २०४८ सालदेखिको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार विजयी हुँदै आएका थिए। मानवअधिकार कर्मी राजेन्द्र पौडेलका अनुसार २०४८ सालमा भएको प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसका सूर्यभक्त अधिकारी, २०५१ सालको प्रतिनिधि सभामा दामोदर बस्ताकोटी, २०५६ सालको प्रतिनिधि सभामा महेन्द्रध्वज जिसी विजयी भएका थिए। त्यसपछि भएको २०६४ सालको पहिलो संविधान सभा, २०७० सालको दोस्रो संविधान सभा, २०७४ सालको प्रतिनिधि सभा र २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसका शशांक कोइराला लगातार विजयी हुँदै आएका थिए।

नवलपुरमा लामो समयसम्म नेपाली कांग्रेसले आफ्नो संगठन, नेतृत्व र मतदाताको आधार बलियो बनाउँदै आएको थियो। जिल्लाका अधिकांश निर्वाचन क्षेत्रमा कांग्रेसको प्रभाव देखिन्थ्यो। तर पछिल्ला केही वर्षमा देखिएको राजनीतिक ध्रुवीकरण, नयाँ राजनीतिक शक्तिको उदय र मतदाताको बदलिँदो मनोविज्ञानले कांग्रेसको परम्परागत आधारमा ठुलो धक्का दिएको मानवअधिकार कर्मी राजेन्द्र पौडेल बताउँछन्।

उनका अनुसार मतदाताको अपेक्षा र राजनीतिक दलहरूको कार्यशैलीबिच बढ्दो दूरी पनि यसको एक कारण हो। ‘वर्षौंदेखि एउटै दलले प्रतिनिधित्व गर्दा विकास र परिवर्तनको अपेक्षा पूरा नभएको भन्ने धारणा मतदातामा बढ्दै गयो। यहाँबाट पटक पटक जितेर गएका व्यक्तिको आवाज संसदमा समेत सुन्न पाएनन्,’– उनले भने। अहिले भने मतदाताले राष्ट्रिय स्तरमा नै नयाँ राजनीतिक दललाई खोजेको उनले बताए।

पछिल्लो परिणामले मतदाता परम्परागत विरासतभन्दा काम र विकल्पको आधारमा निर्णय गर्न थालेको पाइन्छ। राष्ट्रिय स्वतन्त्र पार्टीले झापादेखि कञ्चनपुरसम्मको पूर्वपश्चिम राजमार्ग छेउ क्लिन स्वीप गरेको छ। तराईका जिल्लामा रौतहटको क्षेत्र नम्बर २, कपिलवस्तुको क्षेत्र नम्बर ३ र बाँकेको क्षेत्र नम्बर २ मात्र अन्य दलले जित्न सकेका छन्। यद्यपि यी क्षेत्रमा पूर्वपश्चिम राजमार्गभन्दा भित्री क्षेत्र हुन्। विजयी भएको क्षेत्रमा रास्वपाका उम्मेदवारले भारी मतान्तरले प्रतिद्वन्द्वीलाई पराजित गरेका छन्।

campaign election 2082