ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
2082 General Campaign

युवा बाहुल्य रहेको संसद् अधिवेशन भोलिबाट सुरु हुँदै, रास्वपा दबदबा

Inquiry Nepal Inquiry Nepal April 1, 2026 at 2:37 PM 62 views
काठमाडौँ । फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछिको पहिलो अधिवेशन बिहीबारदेखि सुरु हुँदैछ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन बिहीबार दिउँसो २ बजेका लागि आह्वान गरेका छन् । प्रतिनिधिसभाको उक्त अधिवेशन सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय कक्षमा र राष्ट्रियसभाको बैठक संघीय सचिवालयस्थित पुरानो भवनमा बस्नेछ । राष्ट्रिय स्वतन्त्र […]

काठमाडौँ । फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछिको पहिलो अधिवेशन बिहीबारदेखि सुरु हुँदैछ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन बिहीबार दिउँसो २ बजेका लागि आह्वान गरेका छन् । प्रतिनिधिसभाको उक्त अधिवेशन सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय कक्षमा र राष्ट्रियसभाको बैठक संघीय सचिवालयस्थित पुरानो भवनमा बस्नेछ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले करिब दुई तिहाइ बहुमत प्राप्त गरेपछि सुरु हुन लागेको यस अधिवेशनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा महत्वका साथ हेरिएको छ । निर्वाचनमार्फत जनताले रास्वपालाई मुलुकमा स्थायित्व र समृद्धिको मार्गमा अघि बढाउन करिब दुई तिहाइको बहुमतसहितको जनादेश दिएका छन् । प्रतिनिधिसभामा रास्वपाका १८२, कांग्रेसका ३८, एमालेका २५, नेपाली कम्युनिष्ट पार्टीका १७, श्रम संस्कृति पार्टीका सात, राप्रपाका पाँच र एक स्वतन्त्र सांसदको उपस्थिति रहेको छ । लैंगिक प्रतिनिधित्वका हिसाबले प्रतिनिधिसभामा १७९ पुरुष र ९६ जना महिला छन् ।

राजनीतिमा पुस्तान्तरणको माग गर्दै गत भदौमा भएको जेनजी आन्दोलनको मर्म र भावनाअनुसार अहिलेको संसद्मा युवा सांसदको बाहुल्यता देखिन्छ । २०६४ मा ६०१ सदस्यीय संविधानसभा गठन भएपछि नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सञ्चालन हुँदै आएको प्रतिनिधिसभाको अधिवेशन १८ वर्षपछि सिंहदरबारस्थित संसद् भवनमा बस्न लागेको हो । २०१५ मा सम्पन्न पहिलो आमनिर्वाचनपछिका संसद् अधिवेशन सिंहदरबारस्थित पूरानो संसद् भवन (ग्यालरी बैठक) मा बस्दै आएको थियो ।

संसद् सचिवालयले दुवै सदनको बैठक सञ्चालनका लागि भौतिक, सुरक्षा, प्राविधिक र जनशक्तिका हिसाबले सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । बैठकमा सदस्य बस्ने क्रमको निर्धारण विगतका परम्पराअनुरुप तय गरिएको छ । संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार प्रतिनिधिसभामा सभामुखको आसनको अगाडि दाहिनेतर्फ सत्तापक्ष, बीचमा सरकार र बायाँरिर्फ प्रतिपक्ष रहने व्यवस्था मिलाइएको छ ।

जसअनुसार प्रतिनिधिसभामा प्रधानमन्त्री र प्रमुख प्रतिपक्ष दलको नेताको आसन नजिकै रहनेछ । लोकतान्त्रिक संसदीय अभ्यास अपनाएका मुलुकमा संसद्लाई प्रतिपक्षको सत्ताका रूपमा लिइन्छ । यसपटक संसद्मा विगतका अधिवेशनजस्तो नभई सत्तापक्षको लहरमा मन्त्रिपरिषद्का सदस्य र रास्वपाका सांसद तथा प्रतिपक्षतर्फ एक स्वतन्त्रसहित ९३ सांसद रहनेछन् ।

प्रतिनिधिसभाको पहिलो अधिवेशन भएकाले आगामी अधिवेशन सभामुख र उपसभामुख चयन मुख्य कार्यसूचीमा रहनेछ । प्रतिनिधिसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रतिनिधिसभा सदस्यले आफूमध्येबाट सभामुख र उपसभामुख निर्वाचन गर्ने संवैधानिक व्यवस्था छ ।

सभामुख र उपसभामुखमध्ये एक फरक दल र फरक लिंगको हुनुपर्ने व्यवस्था छ । प्रतिनिधिसभाको पहिलो बैठकमा सभाको अध्यक्षता गर्ने ज्येष्ठ सदस्यले सांसदलाई स्वागत गर्ने तथा अधिवेशन आह्वानसम्बन्धी विषयमा जानकारी दिने पहिलो कार्यसूची रहनेछ । सभामुख र उपसभामुखको निर्वाचनसम्बन्धी कार्यतालिका तथा अन्य कार्यसूची सर्वदलीय बैठकमा भएको सहमतिका आधारमा निर्धारण हुनेछ । संसद् सचिवालयले बोलाएको सर्वदलीय बैठक जारी छ । यस अधिवेशनमा संघीय निजामती ऐन, प्रहरी ऐन, विद्यालय शिक्षालगायत महत्वपूर्ण विधेयक प्रस्तुत गरी पारित गर्नुपर्ने दायित्व छ । चैत १३ गतेको मन्त्रिपरिषद् बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीमा ४५ दिनभित्र संघीय निजामती विधेयक ४५ दिनभित्र तर्जुमा गर्ने उल्लेख छ ।

campaign election 2082