ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
उपमेयरमा ५२ मत पाएका गेलाल बने सांसद
2082 General Campaign

उपमेयरमा ५२ मत पाएका गेलाल बने सांसद

Inquiry Nepal Inquiry Nepal March 8, 2026 at 6:40 PM 47 views
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उदयपुर क्षेत्र नं-१ बाट पारशमणि गेलालले अप्रत्यासित जित निकाले।...

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उदयपुर क्षेत्र नं-१ बाट पारशमणि गेलालले अप्रत्यासित जित निकाले।

निकटम प्रतिद्वन्दीभन्दा झण्डै १९ हजार फराकिलो मतान्तरले विजयी भएका गेलाल ६ वर्षअघि नगर उपप्रमुखमा पराजित भएका थिए।

उदयपुरको चौदण्डीगढी नगरपालिका-९ ज्यामिरेमा जन्मेर सुनसरीको इनरुवा नगरपालिका-६ का स्थायी बासिन्दा गेलालले ०७४ को स्थानीय तह निर्वाचनमा स्वतन्त्रमा उपमेयरको उम्मेदवारी दिएका थिए।

उपमेयरमा झिनो (५२) मतमा चित्त बुझाउन बाध्य भएका ४० वर्षीय गेलाल ६ वर्षपछि ०८२ को चुनावमा रास्वपाको तर्फबाट उदयपुर १ मा ३० हजार ५ सय ९ मत प्राप्त गरी सांसद बनेका छन्।

रास्वपाको केन्द्रीय उद्योग विभाग सचिव समेत रहेका गेलालले ७९ हजार ९ सय ५६ मत खसेको उदयपुर-१ मा पुराना दलका उम्मेदवार मात्र नभएर नयाँ दल श्रम संस्कृति पार्टीका निकटतम प्रतिद्वन्दी राजेशकुमार राईभन्दा १८ हजार ९ सय ८४ मत बढी पाउँदै संघीय संसदमा प्रवेश गरेका छन्। श्रम संस्कृतिका राईले ११ हजार ६ सय ९६ मत पाए।

यो निर्वाचनमा त्रियुगाका पूर्व नगरप्रमुख समेत रहेका नेपाली कम्युनिष्ट पार्टीका बलदेव चौधरी १० हजार २१ मतसहित तेस्रो भए भने नेपाली कांग्रेसको विरासत जोगाउन चुनावी मैदानमा उत्रेका विदुर बस्नेत चौथो स्थानमा सीमित रहे। बस्नेतल ९ हजार ६ सय ७५ मत पाए।

यस क्षेत्रमा कांग्रेसको राम्रो पकट मानिएको थियो। यहाँबाट केन्द्रीय सदस्य तथा पूर्वमन्त्री समेत रहेका नेपाली कांग्रेसका डा. नारायण खड्काले यसै क्षेत्रबाट ०६४ को पहिलो र ०७० को दोस्रो संविधानसभा चुनावदेखि ०७४ र ०७९ समेत गरि लगातार ४ पटक जितेका छन्।

यस्तै, एमालेका उम्मेदवार बेलकाका पूर्व नगरप्रमुख दुर्गाकुमार थापा ९ हजार २ सय ६ मतमा चित्त बुझाउन बाध्य भए।

२०४२ वैशाख १० गते जन्मिएका गेलाल व्यवसायिक पृष्ठभूमिका हुन्। रास्वपा उदयपुर सभापति चित्र कार्कीका अनुसार सामाजिक अभियान रउद्यमसँग जोडिएका उनी ०७९ मा रवि लामिछानेले स्थापना गरेको नयाँ दल रास्वपा गठनसँगै राजनीति प्रवेश गरेका थिए।

त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर तह अध्ययन पूरा गरेका गेलाल सुनसरीको इटहरी, राजधानीलगायत विभिन्न ठाउँमा सवारी साधन (कार, जिप) को खरिद विक्री व्यवसाय गर्दै सामाजिक उद्यम र आर्थिक गतिविधिमा केन्द्रित हुँदै आएका छन्।

सामाजिक सरोकारका विषयमा सक्रिय रहदै आएका उनी नयाँ राजनीतिक विकल्पको रूपमा उदाएको रास्वपासँगको आबद्धताले सुरुवाती चरण फापेको देखाएको छ।

चुनावी अभियानका क्रममा उदयपुरको समग्र आर्थिक विकास, स्थानीय उद्योग विस्तार, युवालाई रोजगारी सिर्जना तथा कृषिमा आधुनिकीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। आइतबार निर्वाचित भएपछि पार्टीद्वारा आयोजित विजय र्यालीमा पनि उनले सोही कुरा दोहोर्याएका छन्।

कृषि, पर्यटन र साना-मझौला उद्योगको सम्भावना उदयपुरमा प्रशस्त भएकाले ती क्षेत्रलाई योजनाबद्ध रूपमा अघि बढाउदै स्थानीय अर्थतन्त्र बलियो बनाउने, सुशासन र पारदर्शितालाई प्राथमिकता दिने, जनतासँग प्रत्यक्ष संवाद गर्दै भ्रष्टाचार नियन्त्रण र सरकारी सेवालाई चुस्त, दुरुस्त र पारदर्शी बनाउने विषयलाई संसदमा मुख्य एजेन्डा बनाउने उनको भनाई छ।

राजनीतिमा नयाँ प्रवेशी भए पनि उदयपुर-१ का मतदाताले भारी मत र ठूलो विश्वासका साथ संसदमा पठाएका गेलालले चुनावी अभियानका क्रममा बोलेका कुरा कत्ति पुरा गर्छन् त्यो भने हेर्न बाँकी छ।

जनतासामु बोलेका कुरा र गरेका प्रतिवद्धताहरु प्रभावकारी रूपमा कार्यान्वयन गरे भने पुराना दलहरुको खोक्रा आस्वासनबाट वाक्क भएका निर्वाचन क्षेत्रबासी नागरिकले उनीमाथि भरोसा गर्ने ठाउँ पाउनेछन्।

campaign election 2082