ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
लमजुङमा निर्वाचनको तयारी पूरा: १९३ मतदान केन्द्रमा पुगे कर्मचारी र मतपेटिका
2082 General Election

लमजुङमा निर्वाचनको तयारी पूरा: १९३ मतदान केन्द्रमा पुगे कर्मचारी र मतपेटिका

Inquiry Nepal Inquiry Nepal March 4, 2026 at 5:57 PM 54 views
मुख्य निर्वाचन अधिकृत शिशिरराज ढकालले जिल्लाका सबै मतदान केन्द्रमा कर्मचारी, सुरक्षाकर्मी र निर्वाचन सामग्री पुगिसकेको जानकारी दिएका छन्।...

बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि लमजुङमा आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ।

मुख्य निर्वाचन अधिकृत शिशिरराज ढकालले जिल्लाका सबै मतदान केन्द्रमा कर्मचारी, सुरक्षाकर्मी र निर्वाचन सामग्री पुगिसकेको जानकारी दिएका छन्।

बेसीशहर नगरपालिका–८ स्थित जिल्ला समन्वय समितिको हलमा बुधबार आयोजित कार्यक्रममा बोल्दै ढकालले निर्वाचन गराउन आवश्यक सबै बन्दोबस्त मिलिसकेको बताएका हुन्।

उनका अनुसार जिल्लाभर १३० मतदान स्थल कायम गरिएको छ। ती स्थलहरूमा १९२ वटा स्थायी र एउटा अस्थायी गरी कुल १९३ वटा मतदान केन्द्र निर्धारण गरिएका छन्। ‘निर्वाचनका लागि खटिएका कर्मचारी, निर्वाचन सामग्री र सुरक्षाकर्मी तत्तत् स्थानमा पुगिसक्नुभएको छ,’ ढकालले भने।

मतदान केन्द्रमा पुगेका कर्मचारीहरूले सर्वदलीय बैठक राखी निर्वाचनको वातावरण तयार गरिसकेको उनले जानकारी दिए। शान्तिपूर्ण रूपमा मतदान सम्पन्न गर्न सबै पक्षसँग समन्वय भइसकेको उनको भनाइ छ।

मतदान सकिएपछि मतपेटिका भण्डारण र मतगणनाका लागि पनि पूर्वतयारी भइसकेको मुख्य निर्वाचन अधिकृत ढकालले प्रस्ट पारे। ‘मतपेटिका भण्डारण गर्ने कक्ष र मतगणना कार्य गर्ने स्थानको पनि हामीले चयन गरिसकेका छौँ,’ उनले थपे, ‘त्यो स्थानमा आवश्यक पर्ने सामग्री र सुरक्षाका लागि सीसीटीभीहरू जडान गरिसकेका छौं।’

मतगणनास्थलको तयारी र सुरक्षा व्यवस्थाबारे राजनीतिक दलका प्रतिनिधि र सञ्चारकर्मीहरूलाई समेत जानकारी गराइएको छ। भोलिको निर्वाचनका लागि कुनै कसर बाँकी नरहेको भन्दै उनले भने, ‘भोलि निर्वाचन गर्नका लागि करिब–करिब सम्पूर्ण तयारी पूरा भइसकेको छ।’

election election 2082