ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
वैदेशिक रोजगार व्यवसायीबीच चुनावी सरगर्मी सुरु
2082 General Election Update

वैदेशिक रोजगार व्यवसायीबीच चुनावी सरगर्मी सुरु

Inquiry Nepal Inquiry Nepal June 6, 2026 at 10:05 AM 57 views
<p>काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी आइतबार हुने विशेष महाधिवेशन तथा निर्वाचनलाई लिएर अहिले व्यवसायीबीच चुनावी सरगर्मी सुरु भएको छ । उच्च अदालत पाटनले सो निर्वाचन रोक्न माग गर्दै संघका अध्यक्ष भुवनसिंह गुरूङ पक्षद्वारा दायर गरिएको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेपछि संघको निर्वाचन प्रक्रिया निर्धारित कार्यतालिका अनुसार आगामी २४ जेठका लागि [&#8230;]</p> <p>The post वैदेशिक रोजगार व्यवसायीबीच चुनावी सरगर्मी सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय रा...

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी आइतबार हुने विशेष महाधिवेशन तथा निर्वाचनलाई लिएर अहिले व्यवसायीबीच चुनावी सरगर्मी सुरु भएको छ । उच्च अदालत पाटनले सो निर्वाचन रोक्न माग गर्दै संघका अध्यक्ष भुवनसिंह गुरूङ पक्षद्वारा दायर गरिएको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेपछि संघको निर्वाचन प्रक्रिया निर्धारित कार्यतालिका अनुसार आगामी २४ जेठका लागि नै तय भएको छ । यस निर्वाचनमा सकेसम्म व्यवसायीबीच सहमतिमार्फत नै नयाँ नेतृत्व चयन गर्ने प्रयास पनि भईरहेको छ ।

अध्यक्षमा आधा दर्जन आकांक्षी, सहमतिमार्फत नयाँ नेतृत्व चयनको प्रयास जारी

गत वैशाखमा संघको दुई तिहाई पदाधिकारीले सामूहिक राजीनामा दिएपछि अध्यक्ष भुवनसिंह गुरुङ नेतृत्वको कार्यसमिति स्वतः विघटन भएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले पुनः निर्वाचन गर्न पत्र पठाएपछि प्रबन्ध समितिले विशेष साधारणसभा बोलाएको हो ।

सो समय व्यवसायीबीच बिबाद बढ्दै गएपछि गत वैशाखमा संघका बहुमत पदाधिकारी तथा सदस्यले सामूहिक राजीनामा दिएपछि उत्पन्न परिस्थितिमा संघको सल्लाहकार समितिले विधानअनुसार कार्यसमिति स्वतः विघटन भएको निष्कर्ष निकाल्दै विशेष साधारणसभा तथा निर्वाचनका लागि प्रबन्ध समिति गठन गरेको थियो । प्रबन्ध समितिले जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई जानकारी गराएपछि जिल्ला प्रशासनले सो समितिमार्फत विशेष साधारणसभा र निर्वाचन सम्पन्न गर्न निर्देशन दिएको थियो ।

सोही निर्देशनअनुसार हुँदै गरेको विशेष साधारणसभा तथा निर्वाचनबाट संघको विधान बमोजिम नयाँ नेतृत्व चयन गर्ने प्रक्रियामा समिति अघि बढेको छ ।
अदालतको पछिल्लो आदेशसँगै अहिले संघमा आवद्ध विभिन्न समूह र व्यवसायी नयाँ नेतृत्व आ–आफ्नो पक्षमा पार्नका लागि सक्रिय भएका छन् । शुक्रबार पनि व्यवसायीबीच आ–आफ्नो समुह बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिने तयारी तिब्र देखिएको थियो ।

संघको आगामी नयाँ अध्यक्षदेखि विभिन्न पदाधिकारीसम्म आकांक्षीहरूको अहिले भिन्दाभिन्दै समूह बनाएर दौडधुप गरिरहेका छन् । जसका लागि काठमाडौंका विभिन्न स्थानमा प्रतिनिधि व्यवस्थापन, चुनावी रणनीति तथा उम्मेदवार छान्नका लागि व्यवसायीक छलफल र भेला भइरहेका छन् ।

संघका अध्यक्ष भुवन सिंह गुरुङले आफू पितृशोकमा रहेका बेला केही समूह र जिल्ला प्रशासन कार्यालय काठमाडौंको मिलेमतोमा संघको नेतृत्व परिवर्तन गर्ने प्रयास भएको आरोप लगाएका थिए । तर, अदालतबाट निर्वाचन प्रक्रिया नरोकिने आदेश आएपछि गुरुङ पक्ष पनि अब निर्वाचनमै केन्द्रित हुने भएको छ ।

जसकालागि अध्यक्ष गुरुङले शुक्रबार विशेष पत्रकार सम्मेलन गर्दै संघभित्रको पछिल्लो घटनाक्रम, आफूले नेतृत्वमा रहँदा गरेका काम, व्यवसायीका मुद्दा तथा आगामी निर्वाचन’bout आफ्नो धारणा सार्वजनिक गरेका थिए ।

यसपटकको निर्वाचनमा अध्यक्षका लागि विभिन्न समूहबाट बलिया दाबेदारहरू देखिएका छन् । नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका पूर्वअध्यक्ष प्रज्ञान न्यौपानेको नाम अध्यक्षमा आएको छ । त्यस्तै, सो एशोसिएसनभित्रैबाट अर्का व्यवसायी तथा संघका निवर्तमान सल्लाहकार नवराज केसीको नाममा सहमति जुटाएर अघि बढ्ने प्रयास पनि भईरहेको छ ।

सो निर्वाचनका लागि स्वतन्त्र व्यवसायीहरूको तर्फबाट संघको अध्यक्षमा नेपाल वैदेशिक रोजगार व्यवसायी एकता समितिका अध्यक्ष तथा संघका पुर्व उपाध्यक्ष हरिबहादुर पाण्डे क्षेत्रीको नेतृत्वमा प्यानल घोषणा हुँदै छ ।

त्यस्तै, एमाले निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चबाट पूर्वप्रथम उपाध्यक्ष डिकबहादुर खत्री ‘कुमार’,मञ्चका महासचिव तथा पूर्वतृतीय उपाध्यक्ष मिलन कट्टेल र मुक्ति अधिकारीमध्ये एक जनालाई अध्यक्षको उम्मेदवार बनाउने तयारी भइरहेको छ ।

निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सरकार निकट मानिने स्वतन्त्र वैदेशिक रोजगार व्यवसायी समूहले पनि पहिलोपटक संघको चुनावी प्रतिस्पर्धामा पूर्ण रूपमा सहभागी हुने घोषणा गरेको छ । यस समूहका अध्यक्ष कृष्णप्रसाद ढकालले अध्यक्षसहित १७ वटै पदमा आफ्नो समूहले उम्मेदवारी दिने बताएका छन् । स्वतन्त्र समूहको सक्रियताले यसपटकको निर्वाचनमा नयाँ शक्ति समीकरण बन्न सक्ने आंकलन व्यवसायीले गरेका छन् ।

संघको चुनावी राजनीतिमा यसअघि विशेषगरि लोकतान्त्रिक एसोसिएसन, प्रगतिशील मञ्च, गणतान्त्रिक मञ्च र एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनबीच प्रतिस्पर्धा हुने गरेको थियो । तर, यसपटक भने स्वतन्त्र समूहको प्रवेश र विभिन्न समूहभित्र देखिएको आन्तरिक समीकरणका कारण निर्वाचन विगतका वर्षहरूको भन्दा थप रोचक हुने देखिएको छ ।

संघ प्रबन्ध समितिले यस निर्वाचनमा सहभागी हुन विभिन्न संस्थाका आधिकारिक प्रतिनिधि छनोट गर्ने काम, मतदाता व्यवस्थापन तथा निर्वाचनसम्बन्धी अन्य प्रक्रिया निर्धारित कार्यतालिका अनुसार नै सम्पन्न गर्ने बताएको छ । यस निर्वाचनमा व्यवसायीबीच आगामी नेतृत्व मात्र नभएर वैदेशिक रोजगार क्षेत्रमा रहेका सम्पूर्ण व्यवसायीको साझा एजेन्डा, नीतिगत मुद्दा र भावी दिशा पनि निर्धारण गर्न सक्षम समुहलाई नयाँ नेतृत्वमा लैजानुपर्ने दबाब बढेको छ ।

सोही कारण पनि यस निर्वाचनलाई संघको इतिहासकै महत्वपूर्ण र बहुप्रतिक्षित निर्वाचनका रूपमा हेरिएको छ । व्यवसायीलाई चुनाव लागेपछि अहिले संघभित्र भएको बिबाद अब खुला शक्ति संघर्षमा रूपान्तरित भएको छ ।

The post वैदेशिक रोजगार व्यवसायीबीच चुनावी सरगर्मी सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

election election 2082