ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
प्रतिनिधि सभामा प्रतिपक्षीको अवरोधः तीन पटक बैठक बसेपनि कार्यसूचीमा प्रवेश पाएन
2082 General Parties

प्रतिनिधि सभामा प्रतिपक्षीको अवरोधः तीन पटक बैठक बसेपनि कार्यसूचीमा प्रवेश पाएन

Inquiry Nepal Inquiry Nepal May 13, 2026 at 5:59 PM 28 views
सभामुख डोलप्रसाद अर्यालले प्रतिपक्षी दलका नेता, प्रमुख सचेतक, सचेतकसहितसँग बारम्बार छलफल गरेपनि निकास भने निस्कन सकेन।...

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को उपस्थितिको माग गर्दै प्रतिपक्षी दलहरुले बारम्बार अवरोध गरेपछि बारम्बार बसेको प्रतिनिधि सभाको बैठक अन्ततः कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ।

सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि बुधबार नै छलफल सक्ने कार्यसूचीसहित सुरु भएको प्रतिनिधि सभाको बैठक स्थगित हुँदै तीन पटकसम्म बसेको थियो। सभामुख डोलप्रसाद अर्यालले प्रतिपक्षी दलका नेता, प्रमुख सचेतक, सचेतकसहितसँग बारम्बार छलफल गरेपनि निकास भने निस्कन सकेन।

प्रधानमन्त्री शाहलाई बैठकमा बोलाउने विषयमा ग्यारेन्टी लिन नसक्ने बताउँदै सभामुख अर्यालले बारम्बार बैठक सञ्चालनको वातावरण बनाइदिन आग्रह गरेका थिए। बुधबारको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल चलाउने तर प्रधानमन्त्री शाहसँग कुराकानी गरेरमात्र जवाफको कार्यतालिका बनाउने आवश्वासन उनको थियो।

उनको आश्वासनमा विश्वस्त हुन नसकेको भन्दै प्रतिपक्षी दलहरुले बारम्बार प्रधानमन्त्री शाहलाई सदनमा उपस्थित हुन रुलिङ गर्न सभामुख अर्यालसँग माग गरेका थिए। नीति तथा कार्यक्रम प्रधानमन्त्रीको अनुपस्थितिमा अर्थमन्त्री स्वर्णीम वाग्लेले सदनमा टेबुल गरेका थिए। तर छलफल सुरु हुन भने पाएन।

सभामुखको सचिवालयका अनुसार, निकासका लागि अर्यालले बारम्बार छलफल चलाएका थिए। राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री बाहिरिएको, सदनलाई उपेक्षा गरेको लगायत विषय उठाउँदै प्रतिपक्षी दलका नेताहरुले अधुरो सहमति नगर्ने अडान छलफलमा राखेका थिए।

प्रधानमन्त्रीले संसदीय मर्यादाको अपमान गरेको अरोप लगाउँदै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले भने बैठक छाडेका थिए। बैठक अवरुद्ध भएपछि सत्तापक्ष र प्रतिपक्षी दलका सांसदहरुबीच बारम्बार दोहोरी चलेको थियो।

प्रतिनिधिसभा नियमामवलीअनुसार सदनको कामकारवाही अघि बढाउन राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले सभामुखलाई दबाब दिएका थिए भने कार्यसूचीमा प्रवेश गरे बैठक नै बहिस्कार गर्ने चेतावनी प्रतिपक्षी दलको थियो।

बारम्बारको प्रयासमा पनि सहमति जुट्न नसकेपछि सभामुख अर्यालले बुधबारको कार्यसूचीमा रहेका सम्पूर्ण बुँदा हटाउँदै बैठक बिहीबारसम्मका लागि स्थगित गरेका छन्।

parties election 2082