ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
वेलायतमा अति दक्षिणपन्थी पार्टी ‘रिफर्म यूके’को उदय, ६ नेपाली उम्मेदवार विजयी
2082 General Candidates Result

वेलायतमा अति दक्षिणपन्थी पार्टी ‘रिफर्म यूके’को उदय, ६ नेपाली उम्मेदवार विजयी

Inquiry Nepal Inquiry Nepal May 9, 2026 at 7:15 AM 65 views
वेलायतमा बिहीबार सम्पन्न स्थानीय निर्वाचनको परिणाम सार्वजनिक भएसँगै यहाँका परम्परागत दलहरू लेबर र कन्जरभेटिभले ठूलो धक्का बेहोरेका छन्।...

वेलायतमा बिहीबार सम्पन्न स्थानीय निर्वाचनको परिणाम सार्वजनिक भएसँगै यहाँका परम्परागत दलहरू लेबर र कन्जरभेटिभले ठूलो धक्का बेहोरेका छन्। दक्षिणपन्थी ‘रिफर्म यूके’ ले उल्लेखनीय सफलता हासिल गरेको छ।

शनिबार बिहानसम्म प्राप्त परिणामअनुसार इंग्ल्यान्डमा रिफर्म यूकेले १,४४३ काउन्सिलर जित्दै अग्रस्थान हासिल गरेको छ। लेबर पार्टी ९५९ सिटसहित दोस्रो स्थानमा रहेको छ भने लिबरल डेमोक्र्याट्सले ८३४ सिट जितेका छन्। कन्जरभेटिभ पार्टी ७७३ सिटसहित चौथो स्थानमा पुगेको छ।

स्कटल्याण्डमा स्कटिस नेशनल पार्टीले ५८ सिट जितेको छ भने लेबर र रिफर्म यूके दुवैले १७/१७ सिट जितेका छन्। स्कटिस ग्रीन पार्टीले १५ सिट प्राप्त गर्दा कन्जरभेटिभले मात्र १२ सिटमा सीमित रहनुपरेको छ।

वेल्समा रिफर्म यूकेले ३४ सिट जित्दा प्लेड कम्रीले ४३ सिटमा जित हासिल गरेको छ। लेबरले ९ सिट र कन्जरभेटिभले ७ सिट जितेका छन्।

यस निर्वाचनमा विभिन्न दलबाट उम्मेदवारी दिएका दर्जनभन्दा बढी गैरआवासीय नेपालीमध्ये ६ जना विजयी भएका छन्।

रेडिङस्थित ब्याटल वार्डबाट प्रतिक्षा गुरुङ लेबर पार्टीको तर्फबाट काउन्सिलरमा निर्वाचित भएकी छन्।

अल्डरशटको म्यानर पार्क वार्डबाट जीब बेलबासे विजयी भएका छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेका पूर्व प्रवक्ता बेलबासे अर्घाखाँचीका हुन्। यसअघिको निर्वाचनमा पराजित भएका उनले यसपटकको जितप्रति खुसी व्यक्त गर्दै आगामी दिनमा नेपाली समुदायको हितमा सक्रिय रहने बताएका छन्।

त्यसैगरी, भूतपूर्व ब्रिटिश गोर्खा उत्तर गुरुङ अल्डरशटको वेलिङ्टन वार्डबाट लेबर पार्टीको तर्फबाट काउन्सिलरमा निर्वाचित भएका छन्।

लन्डन बरो अफ बार्नेटमा कन्जरभेटिभ पार्टीका लक्षबहादुर गुरुङ पुनः काउन्सिलर पदमा निर्वाचित भएका छन्। उनी यसअघि सोही बरोका उपमेयरसमेत रहिसकेका छन् र एनआरएनए अभियानमा विगत दुई दशकदेखि सक्रिय छन्।

नेपाली दम्पती नै विजयी

यस पटकको निर्वाचनमा एक नेपाली दम्पती नै काउन्सिलर पदमा निर्वाचित भएका छन्।

लन्डनस्थित रोयल बरो अफ ग्रीनविचको प्लमस्टेड एन्ड ग्लिन्डन वार्डबाट लेबर पार्टीका तर्फबाट उम्मेदवारी दिएका पूर्व मेयर जीत रानाभाट १,६१० मतसहित विजयी भएका छन्। उनी अनुभवी राजनीतिज्ञ हुन्।

उनकी पत्नी गौमाया गुरुङ पनि सोही बरोअन्तर्गत एबीउड वार्डबाट काउन्सिलरमा निर्वाचित भएकी छन्।

इंग्ल्यान्ड, स्कटल्याण्ड र वेल्सका १३६ स्थानीय काउन्सिलका ५,०१४ सिटका लागि भएको निर्वाचनमा नाइजेल फराज नेतृत्वको रिफर्म यूकेको उदयले यहाँस्थित आप्रवासी समुदायमा चिन्ता बढाएको छ। रिफर्म यूके अति दक्षिणपन्थी, लोकप्रियतावादी तथा आप्रवासप्रति कठोर नीति लिने पार्टीको रूपमा चिनिन्छ।

candidates election 2082