ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
जित
2082 General Election

जित

Inquiry Nepal Inquiry Nepal March 29, 2026 at 8:04 AM 34 views
अभावले डामेका मतदाताहरूलाई, भर्‍याङ बनाएर सिंहदरवार पुगेका छौ। भर्‍याङ बिर्सिएर सिंहझैं गर्जन नखोज्नु, आकाशतिर हेरेर हिंडे लडिन्छ, हिंड्दा भुइमा हेरेर हिंड्नु।...

प्रिय जित

यति धेरै साथ पाएका छौ

यो साथको कतै तिमीलाई मात नलागोस्

घरलाई बलियो बनाउन बरू अरू हातहरू थप्नु

तर, हात झिक्ने कुरा कहिल्यै नगर्नु

आकाशतिर हेरेर हिंडे लडिन्छ

हिंड्दा भुइँमा हेरेर हिंड्नु।

प्रिय जित

तिमी भगवान् हैनौ, भगवान् बन्न कहिल्यै नखोज्नु

बरू सक्यौ भने मान्छे नै हुनु, सबैको हुन खोज्नु

भोट माग्न जाँदा देखेका विपनाहरूलाई सम्झनु

तिमीले तिम्रो भान्सामा पाकेको मीठो खाइरहँदा

खोलामा गिटी कुटेर

खोले खाइरहेका आशाहरू सम्झनु

तिमीले तिम्रो घरमा तातो र चिसो मिलाइरहँदा

वर्षौदेखि घाम र पानीले बेहिसाब कुटेका

फाटेका घरका छानाहरू सम्झनु।

प्रिय जित,

तिमी महँगो कहिल्यै नहुनु

तर, मान्छेको मनसम्मै नपुग्ने सस्तो पनि नहुनु

तिम्रो यो हिँडाइमाथि पुग्न मात्र नहोस्

दिनदिनै मर्दै गरेका सपना जोगाउनका लागि होस्

तिमीलाई नचिने पनि मान्छेले तिम्रो कामलाई चिने

त्यही भए र त

तिम्रो विकासप्रेमलाई आफ्नो एक भोटसँग किने

आफूलाई सुहाउँदो लुगा लाउन खोज्दा

टालेका लुगा वर्षौसम्म लाउनेहरूलाई सम्झनु

आफ्नो खेतमा जाँदै गर्दा

धनीपुर्जामा नाम नभएका

तर, वर्षौदेखि आश्वासनमा बाँचेका

जग्गाधनीहरूलाई सम्झनु।

प्रिय जित,

आमाले जन्माएको सन्तान तिमी

आमामथि शासन गर्न कहिल्यै नखोज्नु

बरू आमासँग सुशासनको कुरा सोध्नु

घर बाहिर भएका बुद्धि र बललाई

घर भित्र्याउने कुरा सोध्नु

अभावले डामेका मतदाताहरूलाई

भर्‍याङ बनाएर सिंहदरवार पुगेका छौ

भर्‍याङ बिर्सिएर सिंहझैं गर्जन नखोज्नु

आकाशतिर हेरेर हिंडे लडिन्छ

हिंड्दा भुइँमा हेरेर हिंड्नु।

election election 2082