ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
राखेपले दियो एन्फालाई २४ घण्टाको समय
2082 General Election

राखेपले दियो एन्फालाई २४ घण्टाको समय

Inquiry Nepal Inquiry Nepal March 25, 2026 at 12:07 PM 62 views
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई २४ घण्टाभित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिएको छ । एन्फाले प्रचलित कानुन विपरीत निर्वाचन प्रक्रिया अघि बढाएको आरोप लगाउँदै राखेपले सो चेतावनीसहितको निर्देशन दिएको हो । एन्फाका पदाधिकारीहरू यही चैत १३ गते हुने निर्वाचनका लागि झापा गएका हुनाले राखेपको पत्र एन्फाले प्राप्त […]

काठमाडौं ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई २४ घण्टाभित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिएको छ । एन्फाले प्रचलित कानुन विपरीत निर्वाचन प्रक्रिया अघि बढाएको आरोप लगाउँदै राखेपले सो चेतावनीसहितको निर्देशन दिएको हो ।

एन्फाका पदाधिकारीहरू यही चैत १३ गते हुने निर्वाचनका लागि झापा गएका हुनाले राखेपको पत्र एन्फाले प्राप्त गर्न सकेन । एन्फाले कार्यालय मंगलबार बिहानै बन्द भएको सूचना जारी गरेको थियो । जसले गर्दा राखेप पत्र लिएर गएका व्यक्ति रित्तो हात फर्केका थिए ।

उक्त पत्रमा एन्फाले आवश्यक समन्वय नगरी तथा स्वीकृति नलिई साधारण सभा र निर्वाचनको तालिका सार्वजनिक गरेको उल्लेख गरिएको छ । यसअघि पनि परिषद्ले फागुन २५ गते पत्र पठाउँदै कानुनी प्रक्रिया पूरा नभएसम्म साधारण सभा र निर्वाचन स्थगित गर्न भनेको थियो ।

राखेपले युवा तथा खेलकुद मन्त्रालयको राय र मन्त्रीस्तरीय निर्णयका आधारमा राष्ट्रिय खेलकुद विकास ऐन २०७७ र नियमावली २०७९ अनुसार निर्देशन दिएको जनाएको छ । तर एन्फाले त्यसको पूर्ण पालना नगरेको राखेपको भनाइ छ ।

एन्फाले भने अन्तर्राष्ट्रिय निकाय फिफा र एएफसीको निर्देशनलाई आधार मानेर निर्वाचन स्थगित गर्न नसकिने जवाफ दिएको छ । यसबीच एन्फा तोकिएकै मितिमा निर्वाचन गर्ने तयारीमा रहेको छ । एन्फाले सूचना प्रकाशित गर्दै चैत १३ गते निर्वाचन हुने दिन सचिवालय बन्द रहने जनाइसकेको छ ।

राखेपको कार्यकारी समितिको बैठकले ऐनको दफा २९ अनुसार थप प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । साथै, एन्फामाथि कारबाही किन नगर्ने भन्ने विषयमा पनि स्पष्टीकरण मागिएको छ ।

क्लबहरूको एन्फाविरुद्धको अनशन स्थगित
सहिद स्मारक लिगका ए,बी र सी डिभिजन क्लबहरूले ९ दिनदेखिको अनशन तोडेका छन् । ‘होम एन्ड अवे’ लिगको माग गर्दै क्लबका प्रतिनिधि सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको गेटबाहिर बसेको अनशन जुस पिएर अनशन तोडेका हुन् । क्लबहरूको अनुसार अनशन हाल स्थगित मात्रै गरिएको जनाएको छ ।

क्लब प्रतिनिधिहरूले राष्ट्रिय लिग र सहिद स्मारक महिला लिगमा सहभागी खेलाडीहरूको व्यवस्थापन, विदाई, र क्लबको आर्थिक व्यवस्थापन सम्बन्धी असहज अवस्था समाधान गर्नुपर्ने भएकाले अनशन स्थगन गर्ने निर्णय लिएको बताइयो ।

election election 2082