ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
झापा ५ मा एमाले ‘कम्फर्टेबल जोन’मा छ : चुनावी कमाण्डर दाहाल
2082 General Election

झापा ५ मा एमाले ‘कम्फर्टेबल जोन’मा छ : चुनावी कमाण्डर दाहाल

Inquiry Nepal Inquiry Nepal February 14, 2026 at 9:47 PM 54 views
एल्गोरिदम भनिन्छ नि, त्यो देखिन्छ अहिले। जस्तो कि मोबाइलमा जे चिज हेर्यो त्यही र त्यस्तै चिज आइरहने । आर्टिफिसियल इन्टेलिजेन्सले दिमाग पढ्ने र त्यो दिमागमा त्यही र त्यस्तै चिज घुसाइदि रहने। त्यो खालको कामहरू भइरहेको छ। त्यसलाई हामीले चिर्नुपर्ने छ।...

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनले देश निर्वाचनमय भएको छ। देशका सबै निर्वाचन क्षेत्रमा राजनीतिक गतिविधिले तीव्रता पाएको छ। तर अहिले सबैभन्दा बढी चासो र चर्चा भएको क्षेत्र झापाको निर्वाचन क्षेत्र नं. ५ हो। यहाँ पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको समेत उम्मेदवारी छ। यही निर्वाचन क्षेत्रबाट २०४८ सालदेखि नै नेकपा एमाले तथा ओलीले जित्दै आएका छन्। २०४८ सालदेखि नै चुनावी कमाण्डरको जिम्मेवारी सम्हाल्दै आएका नेता हुन्, देवेन्द्र दाहाल। लामो समय जिल्लाको नेतृत्व सम्हालेका उनी पार्टीका निवर्तमान पोलिटव्युरो सदस्य, पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री एवं अहिले पार्टी केन्द्रीय सदस्य हुन्। उनैको नेतृत्वमा ओलीको उम्मेदवारी रहेको निर्वाचन क्षेत्रमा पार्टी परिचालन भएको छ।

भदौ २३ र २४ जेनजी आन्दोलनपछि हुन लागेको यस पटकको निर्वाचनमा एमालेले कस्तो चुनावी रणनीति अपनाएको छ त? विगत र बिरासतकै आधारमा मात्र चुनाव जितिन्छ कि चुनौतीहरू के कस्ता छन्? यिनै विषयमा नागरिकले नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका झापा क्षेत्र नं. ५ का निर्वाचन परिचालन समितिका संयोजक देवेन्द्र दाहालसँग कुराकानी गरेको छ। प्रस्तु छ कुराकानीको सम्पादित अंश:

फागुन २१ को निर्वाचन नजिकै आइसकेको छ। नेकपा एमालेले झापा क्षेत्र नं. ५ मा कसरी काम भइरहेको छ?

आम निर्वाचन २०७९ को हामी सम्मुखमा छौँ र यसको लागि नेकपा एमालेले आफ्ना तयारीहरू जनताको बिचमा जाने कामहरू गरिराखेको छ। यस बिचमा पार्टी अध्यक्ष तथा यस क्षेत्रका उम्मेदवार केपी शर्मा ओली आफ्नो क्षेत्रमा आएर कमल गाउँपालिका, गौरादह नगरपालिका र गौरीगन्ज समेत तीन पालिकाका जनतासंग प्रत्यक्षीकरण गर्नुभएको छ, भेटघाट गर्नुभएको छ। यस क्रममा जनताहरूले आफ्ना गुनासोहरू पनि राखेका छन् र जनताहरूले स्वभाविक रुपले भोलिका दिनमा नेतृत्वमा गइसकेपछि के गर्ने भन्ने सन्दर्भमा सुझावहरू पनि दिएका छन्। उहाँले कम्तीमा ८० वटा टोलका मतदाताका सुझाव,प्रशंसा र गुनासोहरू सुनेर जानु भएको छ।

स्वाभाविक रूपले थुप्रै समस्याहरू त हामीले समाधान गरेका छौँ तर पनि अझै थुप्रै समस्याहरू बाँकी पनि रहेका छन् जनताका। ति समस्याहरू समाधान गर्नका लागि जनताले आफ्ना मागहरू अघि सारेका छन्। ति समस्या समाधान होस् भन्ने उनीहरूको चाहना छ। जस्तै, महारानीझोडाको धनि पुर्जाको समस्या छ। अझै पनि त्यो पूर्ण रूपमा समाधान हुन सकेको छैन। थुप्रै अव्यवस्थित बसोबासीहरू, सुकुम्बासीहरूलाई हामीले व्यवस्थित बसोबास गर्न सकेका छैनौ। हुन त यस बिचमा केही संख्या धनिपुर्जाहरू पनि वितरण गरिएका छन्। तर पनि थम कामहरू बाँकी छन्। अनि विकास निर्माणकै कामहरूमा पनि कतिपय ठाउँहरूमा बाँकी रहेका छन्। ति कामहरूको सन्दर्भमा जनताले भोलिका दिनमा यी कामहरू तीव्र गतिले हुनुपर्छ भनेर माग पनि गरेका छन्। त्यसमा केपी शर्मा ओली जो यो क्षेत्रको उम्मेदवार हुनुहुन्छ उहाँले जनताबाट जे जस्तो ढंगले आएका जिज्ञासाहरू छन्, प्रश्नहरू छन् त्यसको सन्दर्भमा आफैँ नै त्यसको जवाफ दिनुभएको छ। जनताहरूले पनि उहाँले दिनुभएका जवाफहरूमा चित्त पनि बुझाएका छन्। कतिपय ठाउँहरूमा जनताको तर्फबाट भनेर कतिपय मान्छेहरूले अलिक नेगेटिभ कोणबाट पनि प्रश्नहरू आए तर ति नेगेटिभ कोणबाट आएका प्रश्नलाई पनि हामीले पोजेटिभ ढंगले लिएका छौँ।

के एमालेले यहाँ नयाँ चुनौतीहरूको सामना गर्नु परेको अवस्था हो?

हामीले नयाँ चुनौतीहरूको पनि सामना गर्नुपरेको छ। त्यो नयाँ चुनौती भनेको के हो भने अहिलेको सामाजिक सञ्जालबाट फैलाइने भ्रम। सामाजिक सञ्जाल आफैँमा राम्रो कुरा पनि हो। तर सामाजिक सञ्जालले जनतालाई दिग्भ्रमित पार्ने माध्यम पनि रहेछ। त्यसले गर्दा हामीले अब त्यो सामाजिक सञ्जालको मार्फतबाट आएका नेगेटिभ कुराहरू छन्, गलत कुराहरू छन् त्यसको पनि हामीले खण्डन गर्नुपर्ने छ। त्यो खण्डन गर्दा दुईवटा विधि छन्। एउटा भनेको सामाजिक सञ्जालबाटै खण्डन गर्ने र अर्को भनेको जनताको घर दैलोमा गएर खण्डन गर्ने। उहाँहरूलाई बुझाउने कामहरू गरिरहेका छौँ। त्यस कारण यो चुनावको सन्दर्भमा यही फागुनको ४ गतेदेखि औपचारिक प्रचार प्रसारको क्रम सुरु हुन्छ। त्यो भन्दा अगाडि जनताको बिचमा भेटघाट प्रत्यक्षीकरण मात्रै गरेका हौ। हामी निर्वाचन आयोगले तोके अनुसारका प्रचार सामग्रीहरू पनि उत्पादन गर्छौँ। जनतालाई राम्रो ढंगले वास्तविकता बुझाउन, कार्यकर्तालाई प्रशिक्षित गर्ने र सूर्यको पक्षमा थप उत्साहका साथ मतदान गर्ने तयारी गर्ने काम गरिरहेका छौँ।

मतदाताहरूको घर-घरमा पुग्ने कुरा तपाईँँहरूको भएको छैन भन्ने सुनिन्छ नि?

त्यसको लागि पनि हामी तयारी गरिरहेका छौँ। प्रचार समिति निर्माण गर्ने काम यो क्षेत्र स्तरको प्रचार समिति निर्माण गर्ने काम हामीले गरिसक्यौ। त्यस पछाडी गाउँ स्तरको र नगर स्तरको प्रचार समिति गठन गर्ने कामहरू गरिसक्यौ। वडा स्तरिय टोल स्तरीयको प्रचार समिति पनि हामीले निर्माण गर्ने काम गरिसक्यौ। अब हामी जनताको घर दैलोमा जान सुरु गर्दैछौँ। धेरै ठाउँहरूमा हामीले जनताको बिचमा घर दैलो पनि सुरु गरेका छौँ। जनताको अभिमत पनि बुझ्ने कामहरू गरिरहेका छौँ। त्यसैले गर्दा काम मसिनो गरि भएन कि भन्ने कुराको फेरी हामी तयारीका कामहरू गरिसकेको हुँदा खेरि अब प्रचार सामग्री लिएर ४ गतेदेखि पछाडी हामी मसिनो गरि, अझै मसिनो गरि जनताको बिचमा जान्छौँ। जनतालाई भेटघाट गर्छौँ र जनताका समस्याहरू बुझ्छौँ र त्यो समाधानका लागि हामीले के गर्न सक्छौँ भनेर जनतालाई भन्छौँ।

मतदाताको अहिलेको मनोभावना कस्तो बुझ्नुभएको छ? पार्टीले त्यसलाई अध्ययन गरेको छ?

मतदाताको मनोभावना त हामीले बुझ्दै छौँ। किनभने मतदाताहरूले स्थिरता चाहेका छन्। मतदाताहरूले देशमा शान्ति सुव्यवस्था चाहेका छन्। हिजो भदौ २३ र २४ गतेको जे घटनाहरू भयो त्यो घटनाहरू फेरी नदोहोरियोस् भन्ने चाहेका छन्। ति घटना घटाउनेहरू मान्छे को थिए, ति अपराधी तत्वहरू को हुन्, जुन सिंहदरबारदेखि लिएर वडा तह सम्मको कार्यालयहरू जलाए र विभिन्न व्यापारिक प्रतिष्ठानहरू र नेताका घरहरू छानिछानि जलाए। तिनको सम्बन्धमा जवाफ दिनु पर्यो नि भन्ने खालको मनोवृत्ति देखिन्छ। एक खालका मान्छेहरू त्यसैलाई स्थापित गर्न लागिरहेका छन् र ति हिजो पनि तिनै थिए, यो मुलुक जलाउने पनि तिनै थिए र आज पनि त्यसलाई कसरी स्थापित गर्न सकिन्छ यो निर्वाचनको तर्फबाट यो निर्वाचनको माध्यमबाट भनेर लागिरहेका छन्। आम जनता त स्वभाविक रुपले त्यसको विरुद्धमा नै छन्। त्यसकारण समग्र देशको स्थिति हेर्ने हो भने यो स्थिति छ। हाम्रो क्षेत्रमा हेर्ने हो भने यो मुलुकै जलाउनेको पक्षमा मतदान गर्दैनन् यहाँका जनताहरू अलि सचेत पनि छन्। यो देशलाई निर्माण गर्ने, यो देशको विकास निर्माणमा योगदान पुर्याउने र लामो समयदेखि यस क्षेत्रबाट निर्वाचित भएर जानुभएको केपी शर्मा ओली यहाँ उम्मेदवार हुनुहुन्छ। यो क्षेत्रका जनताले त यो अवसर हो भन्ने ठानेका छन् भन्ने मैले बुझेको छु।

यो क्षेत्रमा युवाहरू समग्र एमालेबाट अलिकति टाढिएको भएको भन्ने गुनासो छ। युवाहरूलाई मतदातासंग जोडिने अभियानमा कसरी सहभागी गराउँदै हुनुहुन्छ?

यसमा दुईटा कुरा आयो। यहाँ एउटा भनेको आम युवाको कुरा आयो र अर्को भनेको पहिलो मतदाताको कुरा आयो। र आम युवाहरूमा अहिलेको सामाजिक सञ्जालले एक खालको अघि मैले भने दिमागलाई अलिकति भ्रमित बनाइदिएको छ के। एल्गोरिदम भनिन्छ नि, त्यो देखिन्छ अहिले। जस्तो कि मोवाईलमा जे चिज हेर्यो त्यहि र त्यस्तै चिज आइरहने। आर्टिफिसियल इन्टेलिजेन्सले दिमाग पढ्ने र त्यो दिमागमा त्यहि र त्यस्तै चिज घुसाइदि रहने। त्यो खालको कामहरू भइरहेको छ। त्यसलाई हामीले चिर्नु पर्ने छ। युवाहरू भन्नाले आम युवाहरू त्यो अवस्थामा छैनन्। तर पनि जो जो हिजो यो दुःख सुखमा यो प्रजातन्त्र लोकतन्त्र स्थापनाका लागि लागेको परिवार भयो अनि त्यो परिवार भित्रका पनि कतिपय अलि सचेततापूर्वक त्यसलाई चासो राख्ने मान्छेहरू भए र त्यस्ता खालका युवाहरूमा समस्या छैन। तर जो यी सबै प्रक्रियामा कुनै चासो छैन उनीहरूलाई, हामीलाई रोजगारी हुनुपर्यो, हामीलाई शिक्षा हुनुपर्यो, हामीलाई स्वास्थ्य हुनुपर्यो भनेर उनीहरू माग मात्रै राख्छन् देशको परिस्थिति बुझ्दैनन्। यो सबै काम यो पुराना दलहरूले गरे भन्ने एक खालको भाष्य निर्माण गरिएको छ। त्यसो हुँदा खेरी त्यो पुराना दलहरू प्रतिको वितृष्णा उनीहरूले जुन जगाइरहेका छन् त्यसलाई अहिले हामीले सम्झाउने काम गरिरहेका छौँ। हामीले युवाहरूका टिमहरू बनाएका छौँ र युवाहरूले नै सम्झाउने तिनलाई। युवाहरूका समूहहरू बनाएका छौँ र ति समूहले त्यस्तो खालको व्यक्तिहरूलाई व्यक्तिगत रूपमा पनि सम्झाएर वास्तविकता बुझाउने काम हामी गरिरहेका छौँ।

मतदाताहरूले स्थिरता चाहेका छन्। मतदाताहरूले देशमा शान्ति सुव्यवस्था चाहेका छन्। हिजो भदौ २३ र २४ गतेको जे घटनाहरू भयो त्यो घटनाहरू फेरि नदोहोरियोस् भन्ने चाहेका छन्।

अब अझै २०–२१ दिन बाँकी छ। यो अवधि भित्र हामीले त्यो युवा केन्द्रित कार्यक्रमहरू गर्दै छौँ। दमकमा आगामी फागुन ११ गते नेशनल भोलन्टियर्सको प्रदेश स्तरको भेला छ। त्यो भेलाले प्रदेश स्तरको कमिटीको घोषणा गर्दै छ। त्यसमा हामी धेरै जसो युवाहरूलाई समावेश गराउँछौँ। युवाहरूलाई सन्देश दिन्छौँ। यसरी विभिन्न प्रकारका सन्देशहरू व्यक्तिगत सम्पर्क, संगठनको माध्यमबाट र यस्ता यस्ता सभाहरूको माध्यमबाट सन्देशहरू दिएर युवाहरूलाई एमाले नै देशको लागि आवश्यक छ भन्ने कुरा बुझाउँदैछौँ। किनभने एमालेनै राष्ट्रियताको लागि, विकास निर्माणको लागि, समृद्धिको लागि, समाजवाद स्थापनाका लागि एमालेनै चाहिन्छ र एमालेले मात्रै यि काम गर्न सक्छ भन्ने कुरो पुष्टि– प्रमाणित पनि भएको छ। यो निर्वाचनबाट एमालेलाई बलियो र निर्णायक शक्तिका रूपमा स्थापित गर्नु छ। देशलाई एउटा बलियो राष्ट्रिय शक्ति चाहिएको छ।

यस क्षेत्रमा १ लाख ६३ हजार मतदाता छन्। ति मध्ये कति विदेशमा छन्, कति क्षेत्रभन्दा बाहिर छन् यस्ता कुराको विश्लेषण एमालेले गरेको छ कि छैन?

गरेको छ नि, किन नगर्नु। त्यसमा हामीले एक एक गरेर गरेका छौँ। हो, स्वाभाविक रूपले कयौ मान्छेहरू विदेशमा छन् र कति स्देशमै भए पनि क्षेत्रमा छैनन्। क्षेत्र बाहिर छन्। क्षेत्र बाहिर नेपालमै भएकालाई हामी फर्काउने कोसिस गरिरहेका छौँ तर जो विदेशमा छन् विदेशमा गएकाहरूलाई त अब हामीहरूले ‘प्रेसर’ गरेर ल्याउन सक्ने स्थिति छैन। तर पनि विदेशमा भएकाहरूले पनि नेकपा एमालेको पक्षमा मतदान गराउनका लागि भूमिका निर्वाह गर्नुहोस् भनेर हामीले विदेशका हाम्रा संगठनको मार्फतबाट पनि भनिरहेको भइरहेको स्थिति छ। के पनि भएको छ भने विदेशमा गएका कतिपय व्यक्तिहरूले यो नेपालको परिस्थितिलाई राम्रो नबुझिकन अर्को पार्टीमा अथवा नेकपा एमालेको विरुद्धमा मतदान गराउनका लागि भूमिका निर्वाह गरिरहेका छन् भन्ने पनि आएको छ। तर त्यो आम रूपमा जुन जस्तो ढंगले हल्ला भएको छ त्यो हल्ला अनुसार त्यस्तो स्थिति छैन। केही मान्छेहरूले स्वभाविक रुपले त्यो गरेका छन्। त्यो पहिलेदेखि नै छ यो अहिलेदेखि अहिलेको कुरा मात्रै होइन। त्यो यो भन्दा अघिल्लो चुनावमा पनि थियो। त्यो भन्दा अघिल्लो चुनावदेखि नै केही केही यस्ता गतिविधिहरू थिए। तर अहिले अलिकति त्यो अलि बढी हो कि भने जस्तो पनि आइरहेको छ। तर आम रूपमा हामीले उनीहरू सबै ‘नेगेटिभ’नै छन् भन्ने पनि बुझ्नु हुँदैन। विदेशमा भएका नेपालीहरूलाई पनि नेपालको चिन्ता छ। नेपाल राम्रो विकास होस्, नेपालको विकास निर्माण अब तिब्र ढंगले अगाडि बढोस्, नेपालको उन्नति होस्, नेपालमा समृद्धितर्फ जाओस् भन्ने स्वभाविक रुपले उहाँहरूलाई पनि लागेको छ। अहिलेको जमाना त अब प्रविधिको जमाना छ। यहाँ मात्रै होइन हामी संसारको जुनसुकै देशमा पनि सम्पर्क त गर्न सक्छौँ।। उहाँहरूलाई भन्न सक्छौँ। त्यो कुरा तर्फ पनि हामी आम रूपमा लागिरहेका छौँ।

यहाँका झन्डै झन्डै २५–३० प्रतिशत परिवारका मान्छेहरू विदेशमा छन्। उनीहरूले आफ्ना अभिभावकलाई यसपालि मत र उम्मेदवार परिवर्तनको पक्षमा लाग्न भनेर दबाब सिर्जना गरेको, पुराना मतदातालाई पनि ‘डाइभर्ट’ गर्न खोजेको भन्ने हल्ला व्यापक छ। त्यो कुरालाई तपाईँँहरूले घरभित्रै छिरेर हेर्नुभएको छ?

त्यो हामीलाई थाहा छ। त्यो त्यस बिषयमा जानकारी आएको छ। कतिपय रिपोर्ट पनि आएको छ। यस्तो ढंगले दबाब सिर्जना गर्या छ भनेर। एक किसिम यो भनेको परिचालित र असाध्यै अमानवीय कुरा हो। किनभने घरमा यो फलाना ठाउँमा भोट हाल्नु भएन भने म पैसै पठाउदिन, सपोर्टनै गर्दिन भनेर भन्छन् भन्ने कुरा छ। यस्तो संख्या अति सानो छ। यस्ता विषयमा हामी सञ्चारका विभिन्न माध्यमबाट विदेशमा हुने भाइबहिनी र उहाँका परिवारलाई हामी सम्झाँउँछौँ। बाबुआमालाई कर दबाब दिने सन्तानलाई अभिभावकले सम्झाउनु पर्यो। किनभने, पालन पोषण सानोदेखि हुर्काउने बढाउने पढाउने अनि विदेश पठाउने काम त त्यहि अभिभावकले गर्यो नि त। अब दोस्रो कुरो के त भन्दा, सम्झाउनै सक्ने स्थिति छैन भने ठिक छ साइलेन्स बसेर पनि भोट हाल्न सकिन्छ भन्ने हिसाबले पनि हामी गएका छौँ र तर जे होस् यसलाई पनि हामी चिर्छौँ।

यहाँ दुई खालका नयाँ मतदाता छन्। एउटा नयाँ मतदाता पहिलो मतदाता हुन् र दोस्रो यस क्षेत्रका लागि नयाँ मतदाता भनेको बाहिरबाट बसाइँ सरेर आउनेहरू हुन्। यो क्षेत्र अब बसाइँ सराइको एउटा ठुलो हब पनि हो। यहाँ पूर्वी पहाडबाट धेरै मान्छेहरू बसाइँ सरेर आएका छन्। ति मतदाता र एमालेको संगठन अथवा एमालेका यहाँका नेता कार्यकर्ताबिच कसरी भइराखेको छ? पहिचान कसरी गरिँदै छ नयाँ मतदाता?

तिनीहरूलाई अब कहाँबाट आएका हुन्, के हुन् भन्ने कुरा त स्वाभाविक हाम्रो कमिटीकै मार्फतबाट गर्ने हो। टोल कमिटीहरू, वडा कमिटीको मार्फतबाट गर्ने हो। हामी उहाँहरूको पहिचान टोल कमिटी, वडा कमिटीको मार्फतबाट पनि गर्दै छौँ। हामीलाई त्यो सम्बन्धित जिल्लाका साथीहरूले पनि भनिरहेको अवस्था छ। यसरी–यसरी मान्छे यो–यो जिल्लाबाट त्यहाँ सरुवा भएर आउनुभएको छ उहाँहरू संग सम्पर्क गर्नुस है भनेर बसाइँ सरेर आउनु भएकै ठाउँका साथीहरूले पनि हामीलाई भन्नुभएको छ। हामीले हाम्रो टोल र वडा कमिटी मार्फतबाट त्यस्ता मतदाताको पहिचान गर्ने र उहाँहरू सँग पनि गएर भेट्ने छलफल गर्ने काम गरिरहेका छौँ।

पहिलो पटक भोट हाल्नका लागि यो क्षेत्रबाट करिब ९ हजार जनाले नाम दर्ता गराएका छन्। ति मध्ये झण्डै आधार जति अध्ययन आदिका शिलशिलामा विदेश गए भन्ने अनुमान छ। जति यहाँ छन् तिनीहरू मध्ये ठुलो संख्या हाम्रै अनेरास्वियु,युवा संघ जस्ता संगठनमा हुनुहुन्छ। केही अन्य पार्टीमा हुनुहुन्छ। नयाँ मतदाताको चाहना र आकांक्षा सम्बोधन गर्ने पार्टी पनि एमाले नै हो नि।

यस क्षेत्रमा पार्टीले अपेक्षित मत परिणाामबारे आन्तरिक सर्वेक्षण पनि गरेको बुझिएको छ। त्यसको रिपोर्टले तपाईँहरू कति ‘कम्फर्टेबल जोन’मा हुनुहुन्छ?

सर्वेक्षण चलिरहेको छ। हामी विष्लेषण गरि रहेका छौँ। स्पष्ट कुरा के भने झापा ५ मा एमाले यहाँ कम्फर्टेबल जोनमा छ। जहाँ पनि केही मतदाता अस्थिर मतदाता हुन्छन्। यहाँ पनि छन्। हामी त्यहाँ जाने हो। गई रहेका छौँ। उहाँहरूलाई यस पटक पनि सुर्यमा नै भोट हाल्न भनेका छौँ। हाम्रो पार्टीका एजेण्डा, उम्मेदवारको दृष्टिकोण, स्थानीय नेतृत्व र संगठनको जिम्मेवारीपना आदिका कारण अस्थिर मतदाताको समूह पनि हामीसँग ‘पोजेटिभ’ पाएका छौँ।

लामो समयसम्म एउटै पार्टी अथवा एउटै व्यक्ति नेतृत्वमा हुँदा त्यसले दिनुपर्ने जवाफ पनि धेरै नै हुँदो रहेछ। यहाँ पनि यस्तो देखियो–सुनियो। माग ठुला पनि सुनिएन, टेलिफोनको टावर, खेलमैदान, खानेपानी जस्ता माग अझै पनि नागरिकले राखिरहेका छन् नि?

त्यो त स्वाभाविकै हो। किनभने सत्तामा पुगेका बसेका व्यक्तिहरूलाई आलोचना आउछ। किनभने सबैका अपेक्षा त पुरा गर्न सकिँदैन नि। क्रमश गर्दै जाने हो। जस्तो अहिले धनि पुर्जा चाहिएको छ, आफ्नो अगाडिको बाटोको बाटोको पिच भएको चाहिएको छ। यो त असन्तुष्टि भन्दा पनि जायज मागहरू हुन्। उनीहरूले पनि जसले विगतमा यस्ता माग पूरा गर्दै आएको छ, उसैलाई भन्ने त हो नि। यो त मतदाताले एमाले प्रति देखाएको विश्वास हो। एउटै व्यक्तिलाई कति दिनु भन्ने कुरा, अब नयाँ व्यक्ति आउँदा ति काम पूरा हुन्छन् त? झन् सारो हुँदैन नि। किनभने नयाँ कोहि आयो भने त सुरुदेखि काम गर्नु पर्छ, उसले बुझ्नु पर्छ पहिले कुरा। ठाउँ–मान्छे–आवश्यकता चिन्नु पर्यो। कतिपय उम्मेदवार त यस्ता छन् कि जुन उम्मेदवारले यहाँ नयाँ बजार भनेको कहाँ हो, भृकुटी चोक भनेको कहाँनेरी पर्छ, स्कुलचौन बजार कहाँ छ, दामुना भनेको कुन ठाउँ हो केही पनि थाहा छैन। अब त्यस्तो थाहा नभएकाहरूले गर्छन् त यहाँ? त्यस्तो थाहा नभएकाहरूले त केही पनि गर्न सक्दैनन् नि। भ्रम छरिएका भरमा भोट जित्ने हो भने त त्यस्ता मान्छेहरूबाट त जनतालाई त धोका मात्रै हुन्छ। त्यसले गर्दा जनताले त्यस्तालाई भोट हाल्नु भनेको आफैँले आफैँलाई धोका दिनु हो।

पहिलो चरणमा पार्टी अध्यक्ष ८० ओटा टोलमा पुग्नु भयो। त्यस क्रममा मतदाताले पार्टीको नीति निर्देशन सुशासनको पक्षमा भन्दा पनि पार्टी पंक्तिका कार्यकर्ताहरूको भूमिका कमजोर भयो भनेर अध्यक्षलाई भने। तपाईँ ठीक भए पनि तपाईँका केही कार्यकर्ता ठीक भएनन् भनेर प्रष्टै भने। यसको अर्थ के हो?

जनताले त्यस्तो गुनासो गर्नु पनि स्वाभाविक हो। तर अब ती कार्यकर्ताहरू जो जसको बारेमा उहाँहरूले गुनासो गर्नुभयो उहाँहरू संग पनि हामी बसेका छौँ। त्यो सम्बन्धित ठाउँमा पनि वास्तविकता के हो भनेर हामीले बुझ्नका लागि पठाएका छौँ। सम्बन्धित साथीहरू जानुभएको छ। गुनासो आएका ठाउँको यथार्थ कुरा पनि बुझ्दै छौँ हामी। त्यो ठाउँमा कसरी जनतालाई सम्झाउनु पर्ने रहेछ अथवा कसरी जनताको बिचमा हाम्रो पार्टीलाई स्थापित गर्नुपर्ने रहेछ भनेर हामीले कार्ययोजना र रणनीति बनाउदै छौँ । त्यो रणनीति बनाएर हामीले त्यस्ता ठाउँहरू तोकेका पनि छौँ। त्यो कुन कुन ठाउँमा त्यस्तो खालको समस्या आयो र के रहेछ समस्या भनेर हामी बुझ्दै पनि छौँ। त्यो बुझिसकेपछि अब हामी यस बिचमा ती समस्या समाधान गर्न लाग्छौँ। त्यो समस्या हामीले समाधान गर्नै पर्ने छ। हाम्रा कमी कमजोरी सुधार्छाैं। जनताका कुरा सुन्छौँ। उहाँहरूले भने अनुसारको भूमिका निर्वाह गर्न सम्पूर्ण पार्टीपंक्तीलाई आह्वान गर्छौँ।

तपाईँहरूले भन्दै हुनुहुन्छ कि, क्षेत्रका लागि मात्रै होइन कि देशकै लागि केपी ओलीले जित्नुपर्छ भनेर। त्यसका आधार र आवश्यकताहरू के के होलान् त?

यहाँबाट मात्रै जितेर गएर त सरकार पनि बन्ने होइन हैन। स्वाभाविक रूपले देश भरिबाट जितेर आउनु पर्छ। हामीले बहुमत जितेर आउनु पर्छ अनि मात्रै सरकार बन्छ। त्यसकारण पार्टी अध्यक्षले अब सबै ठाउँमा पुग्न सक्ने स्थिति पनि हुँदैन। तर पनि खास खास ठाउँमा जाने कार्यकर्तासँग, जनता संग भेटेर आह्वान गर्ने काम गर्नुहुन्छ। त्यो बाँकी नै छ। हाम्रा विषयहरूसहितको घोषणा पत्र जारी हुँदै छ। घोषणा पत्र जारी भइसकेपछि घोषणा पत्रको मार्फतबाट पनि हामीहरू जनतालाई सन्देश दिन्छौँ। अब हामी यसरी जान्छौँ भनेर जनताको बिचमा हामी हाम्रा कार्यक्रमहरूलाई अगाडि बढाउँछौँ। त्यसमा पार्टी अध्यक्षले पनि देशका विभिन्न ठाउँहरूमा यो कुराहरू कामहरू गर्नुहुने छ। आफ्नो क्षेत्रमा त गर्नु नै हुन्छ।

केपी ओलीको आवश्यकता देशलाई किन त?

यो तपाईँले झन् जटिल प्रश्न गर्नुभयो। अब केपी ओलीको आवश्यकता यो देशलाई किन भन्ने प्रश्नको जवाफ विगतले दिएको छ। वर्तमानले दिँदैछ र भविष्यले दिने छ। चुच्चे नक्सा जारी गरेदेखि नै त्यसको कथा सुरु हुन्छ। त्यो भन्दा अगाडिदेखि नै पनि हुन्छ। केपी ओली जब सरकारमा नेतृत्वमा आउनुहुन्छ र उहाँले गरेका कामहरू पनि हेरौ न। किनभने हुलाकी राजमार्ग लथालिंग अवस्थामा थियो, भारतले बनाइदिन्छु भन्ने तर नबनाउने। त्यसो हुँदा जब केपी ओली २०७२ सालमा पहिलो चोटी प्रधानमन्त्री भएर आउनुभयो त्यस पछाडी उहाँले चार अर्ब पैसा छुटाउनुभयो। अनिपछि थप आठ अर्ब छुटाउनुभयो र त्यो बाटो तिब्र ढंगले अगाडि बढ्यो। त्यसै गरेर मदन भण्डारी राजमार्ग त उहाँलेकै अवधारणामा आएको हो। मध्य पहाडी लोकमार्ग, पूर्व पश्चिम एसियन हाइवे यी सबै परिकल्पनाहरू केपी शर्मा ओलीले गर्नुभएको हो। उत्तर दक्षिणका करिडोर, जसले चीनसँगको नाका जोड्छन्। भारतसँगको परनिर्भरता अन्त्यका लागि यि करिडोरहरू बनि रहेका छन्।

विदेशमा भएका नेपालीहरूलाई पनि नेपालको चिन्ता छ। नेपाल राम्रो विकास होस्, नेपालको विकास निर्माण अब तीव्र ढंगले अगाडि बढोस्, नेपालको उन्नति होस्, नेपालमा समृद्धितर्फ जाओस् भन्ने स्वाभाविक रूपले उहाँहरूलाई पनि लागेको छ।

व्यापार तथा पारबहन सन्धि हामीले चीन संग पनि गरेका छौँ। त्यसो हुँदा अब हामी व्यापार उत्तरतर्फबाट पनि गर्न सक्ने भएका छौँ। यो कसले सुरु गर्यो त भन्दा केपी शर्मा ओलीले सुरु गर्नुभयो। सुरुङमार्ग, सुरुङ युगको सुरुवात कसले गर्यो केपी शर्माले सुरु गर्नुभयो। फास्ट ट्रयाकलाई तिब्र ढंगले अगाडि बढाउने काम कसले गर्यो केपी शर्मा ओलीले गर्नुभयो। त्यसले गर्दा खेरि केपी शर्मा ओलीले गरेका कामहरूलाई हेरेर नै हामीले भविष्यको पनि परिकल्पना गर्न सक्छौँ। दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण गर्ने कामको सुरुवात केपी शर्मा ओलीले गराउनुभयो। त्यहाँ झन्डै सय वर्ष भन्दा बढीलाई पुग्ने पेट्रोलियम पदार्थ छ भन्ने कुरो त प्रमाणित भइसकेको छ। त्यो नै अब खर्बौको सम्पत्र्ती भयो। त्यसो हुँदा यो राष्ट्रलाई समृद्धितर्फ लैजानका लागि कसले काम गर्छ भन्दा एउटा भाष्य नै निर्माण के भइसकेको छ कि यो काम केपी शर्मा ओलीबाट मात्रै सम्भव हुन्छ् भनेर। त्यसैले हामीले मात्रै होईन, समग्र देशबासीको आवाज हो, आवश्यकता हो। फेरि पनि केपी शर्मा ओलीकै आवश्यकता छ, यो देशलाई।

तपाईँहरू समाजिक सञ्जालमार्फत भ्रम र अफवाह फैल्याइयो भन्नुहुन्छ। त्यसो हो भने यसलाई चिरेर जाने के योजना तथा रणनीति छ?

सामाजिक सञ्जाल एउटा खुल्ला प्लेटफर्म हो। तुरुन्तै यसको नियन्त्रण सम्भव छैन। तर यसरी सामाजिक सञ्जालको दुरुपयोग, एल्गोरिदमको बढवा कसरी भई रहेको छ भन्ने कुरा अध्ययन्को विषय पक्कै हो। यसो भन्दैमा केही नगर्ने भन्ने होईन, एकातर्फ कतिपय कुराको जानकारी हामीले पनि सामाजिक सञ्जालबाटै सालिनतापूर्वक चिर्नु पर्ने हुन सक्छ। तर हामीविरुद्ध भ्रम छर्नेहरू जस्तो छाडा हुन, सामाजिक सद्भाव विथोल्न हामीलाई सुहाउँदैन। त्यसैले हामी सालिनतापूर्वक जवाफ पनि दिँदै जानेछौँ। नेकपा एमाले भनेको एउटा जिम्मेवार पार्टी हो। यो २००६ सालमा स्थापना भएको कम्युनिस्ट पार्टीको निरन्तरता हो। हिजो अस्ति एक दुई वर्ष अघि गठन भएका पार्टीहरू जस्तो एमाले बुरुक्क उफ्रिँदैन र यस्तो गर्न मिल्दा पनि मिल्दै। यसलाई पनि हामी त्यहि सामाजिक सञ्जाल र अनि हाम्रो संगठनको मार्फतबाट यसलाई चिर्दै लगेका छौँ र जनता आँफैले पनि यस्ता भ्रम र वास्तविकता छुट्याएर यथार्थ सार्वजनिक गर्ने काम पनि भइ रहेको छ।

अब निर्वाचन केन्द्रित कार्यक्रमहरू कसरी अघि बढाउँछ, एमालेले?

नेकपा एमाले जनताकै बिचबाट हुर्किएको पार्टी हो। जनताकै विचमा छ। तर चुनाव लक्षित रूपमा पनि हामी अझै निरन्तर रूपमा जनतका विचमा गई रहेका छौँ। चुनावी भेटघाट र घरदैलोसँगै फागुन ११ गते एउटा युवाहरूको भेला गर्दै छौँ। त्यो पिपुल्स भोलन्टियर्सको तर्फबाट हुनेछ। त्यसलाई हामीले चुनावी सन्देश दिने एउटा सभाको रूपमा लिएका छौँ। यस्तै विभिन्न पर्चाहरूको मार्फतबाट जनताका घर घर पुग्ने काम पनि हुने छ। हाम्रो पार्टी निरन्तर रूपमा जनताकै विचमा छ र जनताकै विचमा हुने छ।

टोल तथा वडागत रूपमा त भेटघाटको एउटा चरण सक्नुभयो। तर घर-घरमा कहिले पुग्छ त एमाले?

घर-घरमा पुग्ने कुरा ठीकै भन्नुभयो। हुन त हामी पुगि रहेकै छौँ पनि। हाल सम्म त हामीले चुनावी प्रचारात्मक भन्दा पनि भेटघाटको कोणबाट कार्यक्रमहरू गरेका छौँ। अब चुनावी सामाग्रीहरू तयार हुन्छन्। घोषणा पत्र पनि आउँछ। ति सामाग्रीहरूसँगै सुर्य चिन्ह लिएर एमाले घर घर र जनजन सम्म पुग्ने छ।

अब चुनाव जित्ने आधारहरू केलाई लिनु भएको छ?

हाम्रो त चुनाव जित्ने आधारै आधारहरू छन् नि। त्यसमा पनि स्थानीय तह हेर्ने हो भने झापा क्षेत्र नं. ५ मा पर्ने दमकमा झन्डै दुई तिहाई मत नै हामीले जितेका छौँ। कमलमा उपाध्यक्षसहित बहुमत जितेका छौँ। गौरादहमा हामीले मेयर उपमेयरसहित अधिकांश जितेका छौँ। गौरीगन्जमा पनि उपमेयरसहित केही सिटहरू जितेका छौँ। त्यसो हुँदा स्थानीय तहको निर्वाचनमा आएको जुन परिणाम हो त्यो परिणाम पनि हाम्रो आधार हो। २०७९ सालको निर्वाचनमा आएको मत पनि हाम्रो अर्को आधार हो। यथार्थमा हेर्ने हो भने हामी फागुन १९ गते सम्म पुग्दा अहिलेको अवस्था भन्दा हामी मजबुद हुनेछौँ। हाम्रो प्रतिस्पर्धीको रूपमा आएको शक्ति छ त्यो धेरै तल हुन्छ भन्ने मलाई लाग्छ। हामीले हिजो गरेका कामहरू पनि यसका आधारको रूपमा रहेका छन्। पक्कै पनि त्यो काम समेत जनताले हेर्ने छन्। हामीले गरेका विकास निर्माणका कामहरू जनताका विचमा प्रष्ट छ। उनीहरूले जलाएका, तोडफोड गरेका यहाँका भ्यु टावर अथवा व्यापारिक कम्प्लेक्स वा निजी घरहरू,पार्टी कार्यालय,सरकारी कार्यलय किन जलाईयो किन तोडफोड गरियो? त्यसको जवाफ जनताले खोजिरहेका छन्। के गरे ति संरचनाले? सुरक्षा कार्यालयहरू किन जलाईए, स्थानीय तहका कार्यालयहरू किन ध्वस्त पारिए? निजी क्षेत्रका कम्प्लेक्सहरूमा किन आगो लगाईयो? ति सबै केपी ओलीको रिस भन्दा अरु केही होईन। देशका विशाल संरचनाहरू केपी ओलीले बनाए, त्यसैले जलाउने भन्ने मनोवृत्ति भएका मान्छेहरूलाई निर्वाचन जिताउने हो भने त भोलिका दिनमा देश कसरी अगाडि बढ्ला? त्यसैले यो कुरा मतदाताहरूले पनि बुझ्न बाँकि छ जस्तो मलाई लाग्दैन। हामी बुझाउँदैछौँ पनि।

केपी शर्मा ओलीको नेतृत्वमा झापा क्षेत्र नं. ५ मा पूर्वाधार विकासका धेरै कामहरू भए, विकास भयो। तर दक्षिणी क्षेत्र उपेक्षित भयो, सहरी क्षेत्र केन्द्रित विकास भयो भन्ने गुनासो पनि सुनियो नि?

सहरमा विकास भयो, गाउँमा विकास भएन भन्ने होइन। दशकौं अघिदेखि विकास हुँदै आएका कारण सहर, सहर भयो र क्रमिक रूपमा विकास भई रहेका कारण गाउँ बजार भएको छ र अब शहरीकरण तर्फ लम्किएको छ। के झापा ५ का ग्रामीण क्षेत्रको अवस्था २,३ दशकदेखि बदलिएको छैन त? त्यस्तो त होइन। म आँफै पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्री दमक गौरादह गौरीगन्ज लिङ्क रोडको अवधारणा ल्याईएको थियो। त्यसमा १० वटा सडकहरूको जोडिएको छ। दमकदेखि गौरीगन्ज सम्मका १० वटा सडकहरूलाई लिङ्क गरिएको छ। यो अवधारणाले समग्र क्षेत्रलाईनै जोड्ने छ। तपाईँले हेर्नुभयो भने गौरीगन्ज चोकदेखि अल्ताबारी सम्मको सडक यस पटकै बनेको हो। अन्य ग्रामीण क्षेत्रका सडकहरू हेर्नु भयो भने पनि कालोपत्रे भएका छन्। केही हुने क्रममा छन्। त्यसैले विकास सन्तुलित रूपमा नै अघि बढी रहेको छ। कहिलेकाहीँ अलिकति बढ्ता पनि हुन सक्छ। जस्तो, दमकमा रिङ रोड केही वर्ष अघि नै सुरु भयो, त्यससलाई त पूरा गर्नै पर्यो। फेरि सहर भएको ठाउँमा सहरलाई सुन्दर बनाउन पनि केही कुराहरू भए होला।

यही क्षेत्रको दक्षिणी भेगमा रहेको गौरीगन्जलाई स्मार्ट सिटीको रूपमा पनि विकास भइ रहेको छ। करोडौँ खर्च भइ रहेको छ। हाम्रो पार्टी अध्यक्ष प्रधानमन्त्री भएकै बेला स्मार्ट सिटीका लागि ठुलो रकम छुटिएको हो। त्यसैले केही तल माथि भए पनि यहाँ सबै तिर सन्तुलित ढंगले हामी विकास गरिरहेका छौँ। थप विकास गर्ने प्रतिबद्धता पनि छ हाम्रो।

election election 2082