ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
ओलीले अध्यक्ष पदबाट राजीनामा नदिने
2082 General Parties Update

ओलीले अध्यक्ष पदबाट राजीनामा नदिने

Inquiry Nepal Inquiry Nepal March 13, 2026 at 5:10 AM 68 views
<p>काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमाले अध्यक्ष, पदाधिकारीसहित वरिष्ठ नेताहरूको लज्जास्पद पराजय भए पनि पार्टी नेतृत्व र संगठन संरचना फेरबदल नहुने भएको छ । अध्यक्षसहित सिंगो पार्टी प्रत्यक्षतर्फ ‘सिंगल डिजिटको जित’मा सीमित भएपछि पार्टीभित्रै अध्यक्ष केपी शर्मा ओलीसहित पदाधिकारीको राजीनामा माग भइरहेको छ । हारपछि नीति र नेतृत्व परिवर्तन हुनुपर्ने आवाजसमेत पार्टीभित्र उठेको छ । [&#8230;]</p> <p>The post ओलीले अध्यक्ष पदबाट राजीनामा नदिने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्र...

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमाले अध्यक्ष, पदाधिकारीसहित वरिष्ठ नेताहरूको लज्जास्पद पराजय भए पनि पार्टी नेतृत्व र संगठन संरचना फेरबदल नहुने भएको छ । अध्यक्षसहित सिंगो पार्टी प्रत्यक्षतर्फ ‘सिंगल डिजिटको जित’मा सीमित भएपछि पार्टीभित्रै अध्यक्ष केपी शर्मा ओलीसहित पदाधिकारीको राजीनामा माग भइरहेको छ । हारपछि नीति र नेतृत्व परिवर्तन हुनुपर्ने आवाजसमेत पार्टीभित्र उठेको छ ।

एमाले महाधिवेशनमा महासचिवमा पराजित नेता सुरेन्द्र पाण्डे, एमाले सचिव योगेश भट्टराई, केन्द्रीय सदस्य प्रदीप ज्ञवालीलगायत नेताले नेतृत्व फेरबदल विषयमा मुख खोलेका छन् । पार्टीदेखि जनवर्गीय संगठनमा समेत पुनर्संरचना र नेतृत्व परिवर्तनको बहस भइरहेका बेला अध्यक्ष ओलीले भने ‘आफू कुनै पनि हालतमा राजीनामा नदिने’ अडानमा छन् । केन्द्रीय कमिटी बैठक ‘फेस गर्ने’ भन्दै ओली बैठक डाक्ने गृहकार्यमा छन् ।

बैठकमा हारको समीक्षा, नेतृत्व परिवर्तन प्रस्ताव पेस र यसलाई निर्णयार्थ पेस गर्ने ओलीको रणनीति छ । ‘बैठक बस्छ, नेतृत्व फेर्न प्रस्ताव आउन सक्छ, अध्यक्षज्यूकै पहलमा त्यस्तो प्रस्ताव निर्णयार्थ पेस हुन पनि सक्छ, त्यसबेला बहुमतले जे भन्छ अध्यक्षले त्यही गर्नुहुन्छ,’ एमालेका एक जना पदाधिकारीले बिहीबार राजधानीसँग भने ।

ती पदाधिकारीका अनुसार ३ सय १ सदस्यीय एमालेको केन्द्रीय कमिटीमा अहिले पनि ओलीको पक्षमा २४० भन्दा बढी सदस्य छन् । ‘सिंगो केन्द्रीय समिति देशको विषम परिस्थितिमा अध्यक्षले राजीनामा दिनु हुँदैन भन्ने निष्कर्षमा हुनुहुन्छ, केही साथीलाई रहर लाग्यो भने बैठकमा छलफल गरेरै टुंगो लगाउने तयारीमा छौं,’ ती पदाधिकारी भन्छन् ।

ओलीसँग असन्तुष्ट समूह भने एमालेको वर्तमान नीति र नेतृत्व जनताले मतमार्फत अस्वीकार गरिसकेकाले पार्टी नेतृत्वले राजीनामा दिनुपर्ने अडानमा छ । एमाले उपमहासचिव योगेश भट्टराईले निर्वाचनबाट ‘नीति र नेतृत्वलाई जनताले मतमार्फत अस्वीकार गरे’ भन्दै पार्टी नेतृत्वलाई राजीनामाका लागि दबाब दिएका छन् । ‘निर्वाचनमा आफ्नो मतमार्फत जनताले हाम्रो नीति र नेतृत्वलाई शान्तिपूर्ण रूपले अस्वीकृति गरेका छन् । यो आजको वस्तुगत यथार्थ हो । हामीले आफूभित्र सर्वांगीण रूपान्तरण मार्फत जनसमर्थन पुनः आर्जनको बाटो लिनुपर्छ,’ उपमहासचिव भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन् ।

त्यस्तै, उनले २३ र २४ भदौपछि पार्टीले लिएका नीति ठीक नभएको र त्यसलाई सच्याउनुपर्ने दबाब बैठक, भेटघाट, महाधिवेशनमार्फत पटकपटक दिएको तर नेतृत्वले अस्वीकार गरेको उनले उल्लेख गरेका छन् । एमाले यो अवस्थामा आउनुमा पार्टीले लिएका नीतिमात्र होइन, जिम्मेवारीमा रहेका तहगत कमिटी र नेता सबैले भागीदार बोक्नुपर्ने उनले जनाए । तर, ओलीले ‘हामी जनताबीचमै रहने छौं, जनताकै लागि काम गरिरहनेछौं र विश्वासको यो सम्बन्ध अझ बलियो बनाउँदै अघि बढ्ने छौं,’ भनेका छन् ।

एमाले २०७९ सालको निर्वाचनबाट लोकप्रिय मतसहित दोस्रो भएको थियो । तर, २०८२ को निर्वाचनबाट एमालेको लोकप्रियता पनि घटेको छ र नेताको पराजय पनि लज्जास्पद भएको छ । २०८२ सालको निर्वाचनबाट एमाले प्रत्यक्षमा ९ सिटमा खुम्चिएको छ । समानुपातिकतर्फबाट १६ सिटसहित एमाले २५ सांसदसहित तेस्रो दलमा पुगेको छ । २०७९ सालको निर्वाचनमा प्रत्यक्षतर्फ ४४ र समानुपातिकतर्फ ३४ गरी ७८ सिट एमालेले ल्याएको थियो । २०७९ सालको निर्वाचनमा समानुपातिकतर्फ २८ भन्दा बढी मत ल्याएको एमालेले २०८२ सालको निर्वाचनमा १४ लाख ३४ हजार मत ल्याएको छ ।

२८ लाखबाट घटेर १४ लाखमा पुगेपछि जनताबीच एमालेको लोकप्रियता पनि घटेको मत परिणामले देखाउँछ । विघटित संसद्को दोस्रो ठुलो दल रहेको एमाले यही २१ फागुनको निर्वाचनपछि तेस्रो ठुलो दलको हैसियतमा पुगेको छ । प्रमुख प्रतिपक्षी दलको हैसियतसमेत गुमाएको एमालेको यो ‘पोजिसन’ अध्यक्ष ओलीकै कारण भएको टिप्पणी नेताले गरिरहेका छन् ।

ओलीले भने– अपेक्षित मत नै आएन
नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन परिणाम सार्वजनिक दुई दिनपछि ‘हार स्वीकार’ गरेका छन् । २१ फागुनमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा ओलीसहित एमाले नेताको लज्जास्पद हार व्यहोर्नुपरेको छ । झापा क्षेत्र नम्बर–५ बाट उम्मेदवारी दिएका ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहसँग पराजित भएका हुन् ।

सो क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक भएको दुई दिनपछि ओलीले हार स्वीकार गर्दै निर्वाचनमा आफू र पार्टीले अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न नसकेको जनाएका छन् । ओलीले लोकतन्त्रमा जनताको फैसला नै अन्तिम हुने भएकाले प्राप्त जनमतलाई पूर्णसम्मानसाथ शिरोधार्य गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

‘यसपटकको निर्वाचनमा मैले अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न सकिनँ । हाम्रो पार्टीले पनि अपेक्षित परिणाम ल्याउन सकेन,’ ओलीले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुन्छ र त्यो फैसला शिरोधार्य गर्नु म र मेरो पार्टीको कर्तव्य हो । जनमतलाई म पूर्ण सम्मानसाथ स्वीकार गर्दछु ।’

निर्वाचनमा एमालेलाई मतदान गर्ने मतदाता, नेता–कार्यकर्ता, स्वयंसेवक, शुभेच्छुक एवं समर्थकलाई उनले ‘धन्यवाद’ व्यक्त गरेका छन् । ‘तपाईंहरूको विश्वास नै हाम्रो शक्ति हो । तपाईंहरूको साथ नै हाम्रो तागत हो,’ ओलीले भनेका छन्, ‘निर्वाचनको परिणाम हाम्रो पक्षमा आएन । तर जनताप्रतिको हाम्रो प्रतिबद्धता र सेवा भाव कत्ति पनि कमजोर भएको छैन ।’

The post ओलीले अध्यक्ष पदबाट राजीनामा नदिने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

parties election 2082