ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
नवनिर्वाचित सांसदको तलब कति, सुविधा कस्तो?
2082 General Commission

नवनिर्वाचित सांसदको तलब कति, सुविधा कस्तो?

Inquiry Nepal Inquiry Nepal March 12, 2026 at 12:27 PM 75 views
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक गर्ने तयारीमा निर्वाचन आयोग जुटेको छ।...

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक गर्ने तयारीमा निर्वाचन आयोग जुटेको छ। प्रारम्भिक नतिजाअनुसार प्रत्यक्षतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वाधिक १२५ सिट हासिल गरेको छ भने समानुपातिकतर्फ पनि सर्वाधिक मत पाएको छ।

यसैगरी नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी क्रमशः दोस्रो, तेस्रो र चौथो शक्तिका रूपमा देखिएका छन्। श्रम संस्कृति पार्टी पाँचौँ तथा राप्रपा छैटौँ शक्तिका दलका रूपमा संसदमा रहने भएका छन्।

निर्वाचन सकिएसँगै निर्वाचित सांसदहरूले पाउने सुविधा र भत्ताबारे जनचासो पनि बढेको छ। संघीय संसद् सचिवालयको प्रचलित व्यवस्था अनुसार सांसदहरूले विभिन्न शीर्षकमा पारिश्रमिक, भत्ता तथा अन्य सुविधा प्राप्त गर्ने व्यवस्था छ।

निर्वाचित भएर पहिलो पटक काठमाडौं आउँदा सांसदहरूले यात्रा खर्च पाउने व्यवस्था रहेको छ, जसमा उनीहरू आफू सवार जहाज वा बसको टिकट संसद् सचिवालयमा बुझाउनुपर्ने व्यवस्था रहेको छ। काठमाडौंमा उनीहरूलाई खाना र खाजावापत दिनको २ हजार ५०० रुपैयाँका उपलब्ध गराउने व्यवस्था रहेको छ।

सांसद निर्वाचित भएपछि पहिलो पटक फर्निचर खर्चका लागि १५ हजार र उपत्यकामा घर नभएका सांसदलाई घरभाडा वापत मासिक १८ हजार रुपैयाँ दिनुको साथै घर भएका सांसदलाई घर मासिक ९ हजार रुपैयाँ उपलब्ध हुने व्यवस्था छ।

साथै सञ्चार खर्चका लागि मासिक ९ हजार रुपैयाँ तथा पानी खर्चका लागि २ हजार र मासिक तलब ६६ हजार ७० रुपैयाँसहित विशेष भत्ता १ हजार रुपैयाँ उपलब्ध हुने व्यवस्था रहेको छ।

संसद् बैठक वा संसदीय समिति बैठक बसेको दिन सांसदहरूले दैनिक १ हजार रुपैयाँ बैठक भत्ता र सवारीसाधन भाडाका लागि थप १ हजार रुपैयाँसहित १५ दिन संसद् बैठक बसेमा बैठक भत्ताबाट मात्रै ३० हजार रुपैयाँसम्म प्राप्त हुन सक्छ।

commission election 2082