ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
दुई सिटले रोक्यो रास्वपाको दुईतिहाई
2082 General Results Update

दुई सिटले रोक्यो रास्वपाको दुईतिहाई

Inquiry Nepal Inquiry Nepal March 12, 2026 at 5:10 AM 89 views
<p>काठमाडौं । प्रतिनिधिसभा निर्वाचन परिणामले राजनीतिक स्थिरताको सन्देश दिएको छ । सुशासन र विकासको चाहनाका लागि भएको जेनजी विद्रोह अनुमोदन गर्दै मतदाताले ब्याटलेमार्फत् एउटै पार्टीलाई ढुक्कको बहुमत पुग्ने अवस्था बनाइदिएका छन् । प्रतिनिधिसभा प्रत्यक्षतर्फको १६५ र समानुपातिकतर्फको ११० सिटको अन्तिम मतगणना आइसक्दा राष्ट्रिय स्वतन्त्र पार्टीले स्थिर सरकार सञ्चालनका लागि सुरक्षित एकल बहुमत र समन्वय गर्दा [&#8230;]</p> <p>The post दुई सिटले रोक्यो रास्वपाको दुईतिहाई appeared first on राजधानी राष्ट्रि...

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन परिणामले राजनीतिक स्थिरताको सन्देश दिएको छ । सुशासन र विकासको चाहनाका लागि भएको जेनजी विद्रोह अनुमोदन गर्दै मतदाताले ब्याटलेमार्फत् एउटै पार्टीलाई ढुक्कको बहुमत पुग्ने अवस्था बनाइदिएका छन् । प्रतिनिधिसभा प्रत्यक्षतर्फको १६५ र समानुपातिकतर्फको ११० सिटको अन्तिम मतगणना आइसक्दा राष्ट्रिय स्वतन्त्र पार्टीले स्थिर सरकार सञ्चालनका लागि सुरक्षित एकल बहुमत र समन्वय गर्दा आवश्यक परेको खण्डमा सहज दुईतिहाइको म्यान्डेट पाएको छ ।

प्रतिनिधिसभा निर्वाचनले वैकल्पिक राजनीतिको एजेन्डाबाट उदाएका दललाई जनताले बलियो विश्वासको सन्देश मतदानमार्फत दिएका छन् । मतदाताले पुरानो विरासतबाट अघि बढेका राजनीतिक दललाई पनि पूर्णतः अस्वीकार नगरी ‘सबक’ सिकाएको देखिएको छ । जेनजी आन्दोलनपछि भएको निर्वाचनले रास्वपा र हर्क साम्पाङ नेतृत्वको दललाई अनुमोदन गरेको स्पष्ट देखिन्छ ।

पाँच महिनाअघि स्थापना भएको साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले राष्ट्रिय दलको मान्यता पाउनु जेनजी आन्दोलनको अनुमोदनसँगै नयाँ दललाई अवसर दिइएको रूपमा बुझ्नुपर्ने राजनीतिक विश्लेषक बताउँछन् । प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्ष र समानुपातिक मतपरिणामअनुसार ६ दल राष्ट्रिय दल बनेका छन् । कम्तीमा ३ प्रतिशत समानुपातिक मत वा १ सिट प्रत्यक्ष जित्ने दलमा ६ वटा दल भएका छन् । २०७९ को प्रतिनिधिसभा निर्वाचनका लागि दर्ता रास्वपाले निर्वाचनमा सहभागी भएको दोस्रोपटकमै झन्डै दुईतिहाइ जनमत पाएको छ भने पाँच महिनाअगाडि स्थापना भएको श्रम संस्कृति पार्टीले राष्ट्रिय दल बन्ने सफलता पाएको हो ।

कसको मत कति ?
निर्वाचन आयोगका अनुसार खसेको मतमध्ये १ करोड ८ लाख ३० हजार ८१५ मत सदर हुँदा ६ वटा पार्टीले राष्ट्रिय दलको मान्यता प्राप्त गर्दै समानुपातिक सिट हात पारेका हुन् । आयोगले मतगणना गरी अन्तिम परिणाम सार्वजनिक गरेसँगै २१ फागुनको निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टीले सुदृढ बहुमतसहित निकट दुईतिहाइको अनुमोदन पाएको हो ।

निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम परिणामअनुसार रास्वपाले कूल सदर मतको ४७.८ प्रतिशत मत पाएको छ । रास्वपाले ५१ लाख ६७ हजार ४२९ मत पाएको छ । समानुपातिकमा यो निकटतम दलभन्दा झन्डै तेब्बर मत हो । समानुपातिकतर्फ दोस्रोमा नेपाली कांग्रेस भएको छ । नेपाली कांग्रेसले १६.२ प्रतिशत अर्थात् १७ लाख ५५ हजार ४७९ मत ल्याएको छ ।

त्यस्तै, तेस्रो दलको हैसियत नेकपा एमालेले बनाएको छ । १४ लाख ५२ हजार ६३७ अर्थात् १३.४ प्रतिशत ल्याएको नेकपा एमालेलाई नेपाली कम्युनिस्ट पार्टी (नेकपा) पछ्याउँदै चौथो भएको छ । यसैगरी, नेकपाले ८ लाख ९ हजार ५३० अर्थात् ७.५ प्रतिशत मत ल्याएको छ । नयाँ राजनीतिक दलको रूपमा उदाएको श्रम संस्कृति पार्टीले ३ लाख ८५ हजार ७०८ अर्थात् ३.५ प्रतिशत ल्याएर पाँचौँ दलको हैसियत बनाएको छ ।

६ दलले मान्यता पाएको प्रत्यक्षमा सबैभन्दा कम सिट जितेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समानुपातिकमै पनि ३ लाख ३० हजार २२७ अर्थात् ३ प्रतिशत मत पाएका छन् । ‘थ्रेसहोल्ड’ गणनामा आएका ६ वटा पार्टीको जम्मा मतलाई आधार मानेर ११० सिट छुट्ट्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीले मात्रै ५२ प्रतिशत सिट अर्थात् ५७ सिट पाउने भएको छ ।

यस्तै, कांग्रेसले १७.७५ प्रतिशत अर्थात् २० सिट, नेकपा एमालेले १४.७ प्रतिशत अर्थात् १६ सिट पाउँछ । संसद्मा अर्को कम्युनिस्ट दलको रूपमा रहेको नेपाली कम्युनिस्ट पार्टीले ८ प्रतिशत अर्थात् ९ सिट, श्रम संस्कृति पार्टीले ३.८ प्रतिशत अर्थात् ४ सिट र राष्ट्रिय प्रजातन्त्र पार्टीले ३.३ प्रतिशत अर्थात् ४ सिट पाउने भएको हो ।

कांग्रेस–कम्युनिस्ट खुम्चिए
संसद््को सबैभन्दा ठुलो र झन्डै दुई तिहाइ मत ल्याएको रास्वपाले पहिलोपटक लडेको २०७९ सालको प्रतिनिधिसभा निर्वाचनको तुलना गर्दा परम्परागत राजनीतिक दल मानिएका नेपाली कांग्रेस र कम्युनिस्ट पार्टीहरू नराम्रोसँग खुम्चिएका छन् भने रास्वपा हौसिएको छ । अघिल्लो निर्वाचनको तुलनामा नेकपा एमालेले ठुलो क्षति व्यहोरेको छ । प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ ५२ प्रतिशत मत ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टीले गत निर्वाचनमा ११ लाख ३० हजार ३४४ मत प्राप्त गरेको थियो ।

१३ वटा समानुपातिक जितेकोमा यसपटक ३५४ प्रतिशत अर्थात् ४० लाख १७ हजार ८७३ मत थपेर सिट संख्या ५७ पु¥याएको छ । यस पटक रास्वपाले ४४ सिट बढाएको हो । प्रतिनिधिसभा २०७९ सालमा एमाले समानुपातिक मततर्फ सबैभन्दा ठुलो दल भएको थियो । समानुपातिकतर्फ सबैभन्दा बढी २८ लाख ४५ हजार ६४१ मत प्राप्त गरी ३४ सिट जितेको एमाले २१ फागुनको निर्वाचनमा तेस्रो भएको छ ।

एमालेले झन्डै ५० प्रतिशत मत गुमाएको छ । एमालेले १३ लाख ९३ हजार ६८५ मत गुमाएको छ । एमालेले समानुपातिक सिटमा भने ५२ प्रतिशतको क्षति व्यहोरेको छ । गत संसद्मा समानुपातिक बाट ३५ जना सहभागी गराएको एमालेले यस पटक समानुपातिकमा १६ सिट पाउने देखिएको छ । गत निर्वाचनमा २७ लाख १५ हजार २२५ मत प्राप्त गरी ३२ सिट जितेको कांग्रेसले ३५.५६ प्रतिशत अर्थात् ९ लाख ६० हजार ८३० मत गुमाएको छ भने ३७.५ प्रतिशत सिट संख्या पनि गुमाएको छ । यसपटक कांग्रेसले समानुपातिकतर्फ २० सिट पाएको छ ।

नेपाली कम्युनिस्ट पार्टीले गत निर्वाचनमा ११ लाख ७५ हजार ६८४ मत प्राप्त गरी १४ सिट जितेकोमा ३३.४६ प्रतिशत अर्थात् ३ लाख ६६ हजार ६१३ मत गुमाएको छ भने ३५.७ प्रतिशत सिट गुमाउँदै ९ सिटमा कायम भएको छ । परम्परागत राजनीतिको विरासत बोकेको राष्ट्रिय प्रजातन्त्र पार्टीले गत निर्वाचनमा ५ लाख ८८ हजार ८४९ मत प्राप्त गरी ७ सिट जितेकोमा यस पटक गतको तुलनामा ४४ प्रतिशत मत कम पाएको छ ।

राप्रपाले मततर्फ २ लाख ५८ हजार ७६७ र ४२.८ प्रतिशत सिट गुमाएको छ । राप्रपाले ४ सिट पाउनेछ । अघिल्लो निर्वाचनमा ४ लाख २१ हजार ३१४ समानुपातिक मत प्राप्त गरी ५ सिट जितेको जनता समाजवादी पार्टी, ३ लाख ९४ हजार ६५५ मत प्राप्त गरी ५ सिट प्राप्त गरेको जनमत पार्टीले यसपटक ‘थ्रेसहोल्ड’ पार गर्न सकेनन् ।

परिणाममा रेकर्ड गर्दै
प्रतिनिधिसभा निर्वाचनमा २१ फागुनको मत परिणाम रेकर्ड ‘ब्रेक’ नै भएको छ । नेपालको पहिलो आमनिर्वाचन २०१५ मा दुईतिहाइ ल्याएको नेपाली कांग्रेसको रेकर्ड ‘ब्रेक’ गर्दै रास्वपाले प्रत्यक्षतर्फ तीन चौथाइ सिट जितेको छ । समानुपातिक व्यवस्थाका कारण दुईतिहाइका लागि प्राविधिक रूपमा सिट नपुगे पनि नैतिक र राजनीतिक हिसाबले ‘रेकर्ड गर्दै’को नतिजा मिलेको राजनीतिज्ञ बताउँछन् । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक तर्फभन्दा प्रत्यक्षतर्फ अझै उत्कृष्ट नतिजा ल्याएको छ । प्रतिनिधिसभा निर्वाचन २०७९ सालमा प्रत्यक्षमा जम्मा ७ सिट जितेको रास्वपाले १ हजार ६८६ प्रतिशतले वृद्धि गरी १२५ सिट पु¥याएको छ ।

अघिल्लो निर्वाचनमा प्रत्यक्षतर्फ सबैभन्दा धेरै ५७ सिट जितेको नेपाली कांग्रेसले यस पटक ६८ प्रतिशत अर्थात् ३९ सिट गुमाएर १८ सिटमा सीमित भएको छ । प्रत्यक्षतर्फ संसद् ्को दोस्रो दल रहेको नेकपा एमालेले अघिल्लो पटकको तुलनामा ८० प्रतिशत नोक्सानी व्यहोरेको छ । ४४ सिट जितेको नेकपा एमालेले यस पटक करिब ३५ सिट गुमाएर ९ सिटमा सीमित भएको हो । अघिल्लो निर्वाचनमा प्रत्यक्षतर्फ १८ सिट जितेको नेकपाले ५५ प्रतिशत सिट अर्थात् १० सिट गुमाएर ८ सिटमा सीमित भएको छ ।

समानुपातिकतर्फको समेत मतगणना सम्पन्न हुँदा २७५ सदस्यीय प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीले २ तिहाइलाई २ सिट कम जित हात पारेको हो । प्रत्यक्षतर्फ १२५ र समानुपातिक तर्फ ५७ सिट जितेर १८२ सिट जितेको रास्वपालाई दुई तिहाइ अर्थात् १८४ सिट पुग्न २ सिट अपुग भएको छ । यस निर्वाचनबाट दोस्रो ठुलो भएको नेपाली कांग्रेसले प्रत्यक्ष र समानुपातिकबाट जम्मा ३८ सिट जितेको छ । अघिल्लो निर्वाचनमा कांग्रेसले जम्मा ८९ सिट जितेको थियो । यस्तै नेकपा एमालेले प्रत्यक्ष र समानुपातिकतर्फ गरी २५ सिट जितेको छ ।

अघिल्लो निर्वाचनमा एमालेले ७९ सिट जितेको थियो । अघिल्लो निर्वाचनमा प्रत्यक्ष र समानुपातिक गरी ३२ सिट जितेको तत्कालीन नेकपा माओवादी र नेकपा एकीकृत समाजवादी अर्थात् हालको नेकपाले प्रत्यक्ष र समानुपातिक गरी १६ सिट जितेको छ । अघिल्लो निर्वाचनमा प्रत्यक्ष र समानुपातिक गरी १४ सिट जितेको राप्रपा यस पटक जम्मा ५ सिटमा सीमित भएको छ । नयाँ खुलेको दल श्रम संस्कृति पार्टीले प्रत्यक्ष र समानुपातिक गरी यो निर्वाचनमा ७ सिट जितेको छ । यो निर्वाचनमा अन्तरिम सरकारको मन्त्री पदबाट राजीनामा दिएर चुनाव लड्न गएका महावीर पुन प्रतिनिधि सभामा स्वतन्त्र सांसदको रूपमा प्रवेश गरेका छन् ।

प्रतिपक्षी दल–संसदीय दलको नेता को ?
१८२ सिटसहित रास्वपाले सरकारको नेतृत्व पाउँदै गर्दा प्रमुख प्रतिपक्षी दलको भूमिकामा नेपाली कांग्रेस हुनेछ । प्रत्यक्षतर्फ १८ सिट विजयी कांग्रेसले समानुपातिकतर्फबाट २० सिट पाउने देखिन्छ । ३८ सिटसहित कांग्रेस प्रमुख प्रतिपक्षी दलको भूमिकामा हुनेछ । विशेष महाधिवेशनबाट कांग्रेस सभापति भएका गगनकुमार थापा सर्लाही क्षेत्र नम्बर–४ मा रास्वपा उम्मेदवार डा. अमरेशकुमार सिंहसंग पराजित भएका छन् ।

सभापति थापामात्रै नभई कांग्रेस पदाधिकारीसहित वरिष्ठ नेतासमेत पराजित भएका छन् । कांग्रेस संसदीय दलको नेता हुने सांसद नै प्रतिपक्षी दलको नेतासमेत हुन्छन् । तर, कांग्रेसमा रहेका विभिन्न समूहले आ–आफ्नै स्वार्थअनुसार अगाडि बढ्न खोज्दा समस्या आउनसक्ने देखिन्छ । कांग्रेस नेता रामहरि खतिवडा सहमतिमै दलको नेता चयन गरिने बताउँछन् । निर्वाचनबाट तेस्रो ठुलो दल बनेको नेपाल कम्युनिस्ट पार्टी (एमाले)बाट ‘संसदीय दलको नेता को हुने ?’ चर्चाको विषय बनेको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित पदाधिकारी, वरिष्ठ नेता निर्वाचनमा पराजित भएका छन् । प्रत्यक्षमा ९ र समानुपातिकतर्फ १६ सिट पाएको एमाले २५ सिटसहित तेस्रो ठुलो दल बनेको छ । यसअघि एमाले कांग्रेस हाराहारीमै दोस्रो शक्तिशाली दल थियो । अध्यक्ष ओलीसहितका नेताहरूको लज्जास्पद हारले एमालेको शक्ति कमजोर बनेको छ । एमालेबाट सुहाङ नेम्वाङलाई दलको नेता बनाउनुपर्ने चर्चा भए पनि आधिकारिक निर्णय भएको छैन ।

त्यस्तै, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै दलको नेता चयन हुने छन् । अन्य पुराना दलका सभापति–अध्यक्षसहित वरिष्ठ नेता निर्वाचनमा पराजित भए पनि प्रचण्ड निर्वाचित भएका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्ड नेतृत्वको नेकपाले प्रत्यक्षमा ८ र समानुपातिकतर्फ ९ सिट पाउन सक्ने गरी १७ सिटसहितको चौथो ठुलो दल बनेको छ । अन्य पुराना दलमा पार्टी प्रमुख, पदाधिकारी, वरिष्ठ नेताहरू पराजित भएको तर नेकपा संयोजक प्रचण्ड विजयी भएकाले यहाँ दलको नेता चयन सहज छ । पाँचौं ठुलो दल श्रम संस्कृति पार्टीले अध्यक्ष हर्कराज राईलाई नै संसदीय दलको नेता बनाउने भएको छ भने राप्रपाले ज्ञानेन्द्र शाहीलाई संसदीय दलको नेता बनाउने भएको छ ।

The post दुई सिटले रोक्यो रास्वपाको दुईतिहाई appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

results election 2082