ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
प्रतिनिधिसभा सदस्य निर्वाचन : गण्डकीमा एमाले र नेकपाको प्रतिनिधित्व शून्य
2082 General Parties

प्रतिनिधिसभा सदस्य निर्वाचन : गण्डकीमा एमाले र नेकपाको प्रतिनिधित्व शून्य

Inquiry Nepal Inquiry Nepal March 10, 2026 at 7:50 AM 47 views
गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशमा कम्युनिष्ट दल नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीले एउटा पनि क्षेत्रमा विजय हासिल गर्न सकेनन्।...

गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशमा कम्युनिष्ट दल नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीले एउटा पनि क्षेत्रमा विजय हासिल गर्न सकेनन्। गण्डकीबाट दुवै दलको प्रतिनिधित्व शून्य बनेको छ। विसं २०७९ को चुनावमा गण्डकीबाट एमालेले पाँच र नेकपाले दुई निर्वाचन क्षेत्रमा जितेको थियो।

अघिल्लो चुनावमा १० क्षेत्रमा जितेको नेपाली कांग्रेस पनि यसपटक गण्डकीमा दुई सिटमा सीमित रह्यो। विसं २०७९ को चुनावमा बागलुङ–१ मा विजयी बनेको राष्ट्रिय जनमोर्चाका उम्मेदवारको यसपालि जमानत नै जफत भयो।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रदेशका कुल १८ निर्वाचन क्षेत्रमध्ये १५ निर्वाचन क्षेत्रमा विजयी बन्न सफल भयो। म्याग्दी, मुस्ताङ र मनाङबाहेकका जिल्लामा रास्वपा उम्मेदवारले जितेका हुन्। म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुन विजयी बने।

मुस्ताङबाट नेपाली कांग्रेसका योगेश गौचन थकाली र मनाङमा पनि नेपाली कांग्रेसकै टेकबहादुर गुरुङले संसद्को यात्रा तय गर्न सफल भए। रास्वपाले प्रदेश राजधानी रहेको कास्कीलगायत अधिकांश जिल्लामा जित निकालेको हो। रास्वपाबाट कास्की–१ खड्कराज पौडेल, कास्की–२ मा उत्तमप्रसाद पौडेल र कास्की–३ मा बिना गुरुङ विजयी बने। बागलुङका दुवै क्षेत्रमा पनि रास्वपाका उम्मेदवार विजयी बने।

बागलुङ–१ मा सुशील खड्का र बागलुङ–२ मा सोम शर्मा विजयी बने। स्याङ्जाका दुवै क्षेत्रमा पनि रास्वपा उम्मेदवार विजयी बने। स्याङ्जा–१ बाट धनञ्जय रेग्मी र स्याङ्जा–२ बाट झविलाल डुम्रे संसद्‍मा पुगेका छन्। तनहुँका दुवै क्षेत्रमा पनि रास्वपाका उम्मेदवारले जितेका छन्। तनहुँ–१ मा स्वर्णिम वाग्ले र तनहुँ–२ मा श्रीराम न्यौपाने विजयी बने।

यस्तै, नवलपुर–१ मा रास्वपाकै राजन गौतम र नवलपुर–२ मा मनिष खनाल विजयी बने। लमजुङमा रास्वपाका उम्मेदवार धर्मराज केसी विजयी बने। पवर्तबाट रास्वपाकै सागर भुसालले ससंदीय यात्रा तय गरेका छन्। गोरखाका दुवै क्षेत्रमा पनि रास्वपाले जित्यो। गोरखा–१ मा सुदन गुरुङ र गोरखा–२ मा कविन्द्र बुर्लाकोटी विजयी बने।

parties election 2082