काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभाको प्रत्यक्षतर्फका १६५ वटै निर्वाचन क्षेत्रको अन्तिम परिणाम सार्वजनिक गरेको छ। संखुवासभा क्षेत्रको मतपरिणाम सोमबार राति सार्वजनिक भएसँगै सबै क्षेत्रको मतगणना औपचारिक रूपमा सम्पन्न भएको हो।
यस पटकको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अभूतपूर्व सफलता हासिल गर्दै प्रत्यक्षतर्फ १२५ सिट जितेको छ। यो परिणामले नेपाली संसदीय राजनीतिमा नयाँ अध्याय सुरु भएको विश्लेषण गरिएको छ।
रास्वपाको यो जित हालसम्मको इतिहासमा कुनै एक दलले प्रत्यक्ष निर्वाचनतर्फ हासिल गरेको अत्यन्त ठूलो सफलता हो। राजनीतिक विश्लेषकहरूका अनुसार यो परिणामले परम्परागत दलहरूप्रति जनताको असन्तुष्टि र नयाँ विकल्पप्रतिको भरोसा झल्काएको छ।
दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १८ सिट जित्दै सीमित सफलता हासिल गरेको छ भने नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले ९ सिट जितेको छ। त्यसैगरी नेकपाले ८ सिट जितेको छ।
यसैबीच श्रम संस्कृति पार्टी ले ३ सिट जितेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी ले १ सिट जितेको छ।
प्रत्यक्ष निर्वाचनतर्फ स्वतन्त्र उम्मेदवारतर्फबाट पनि महावीर पुनले विजय हासिल गरेका छन्। पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित भएका हुन्।
यस पटकको निर्वाचन परिणामले नेपालको राजनीतिक समीकरणमा ठूलो परिवर्तन ल्याउने देखिएको छ।
विशेषगरी नयाँ शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीको भारी जितले आगामी सरकार गठन, नीति निर्माण र संसदीय गतिविधिमा निर्णायक भूमिका खेल्नेछ।
The post १६५ क्षेत्रकै परिणाम सार्वजनिक: रास्वपाले बनायो ऐतिहासिक रेकर्ड appeared first on RONB post.