ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
सुदूरपश्चिमका १६ वटै निर्वाचन क्षेत्रको मतगणना सम्पन्न
2082 General Results Result

सुदूरपश्चिमका १६ वटै निर्वाचन क्षेत्रको मतगणना सम्पन्न

Inquiry Nepal Inquiry Nepal March 9, 2026 at 6:36 AM 64 views
<p>धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले कैलाली र कञ्चनपुरका आठवटै निर्वाचन क्षेत्रमा ‘क्लिन स्वीप’ गरेको छ । कैलालीका पाँच र कञ्चनपुरका तीनवटै क्षेत्रमा रास्वपाले भारी मतान्तरको जित निकालेको हो । यस्तै पहाडी जिल्ला डडेल्धुरा र बैतडीमा पनि रास्वपा उम्मेदवार विजयी भएका छन् । कैलाली–कञ्चनपुरमा ‘क्लिन स्वीप’ गर्दै रास्वपाले १० सिट, एमाले र काग्रेसले ३–३ जित्यो [&#8230;]</p> <p>The post सुदूरपश्चिमका १६ वटै निर्वाचन क्षेत्रको मतगणना सम्पन्न appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्र...

धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले कैलाली र कञ्चनपुरका आठवटै निर्वाचन क्षेत्रमा ‘क्लिन स्वीप’ गरेको छ । कैलालीका पाँच र कञ्चनपुरका तीनवटै क्षेत्रमा रास्वपाले भारी मतान्तरको जित निकालेको हो । यस्तै पहाडी जिल्ला डडेल्धुरा र बैतडीमा पनि रास्वपा उम्मेदवार विजयी भएका छन् ।

कैलाली–कञ्चनपुरमा ‘क्लिन स्वीप’ गर्दै रास्वपाले १० सिट, एमाले र काग्रेसले ३–३ जित्यो नेकपा नील

यो सगै रास्वपाले सुदूरपश्चिमका नौ जिल्ला रहेका १६ निर्वाचन क्षेत्रमध्ये १० सिट जितेको छ भने एमाले र काग्रेसले ३÷३ सिटमा विजय हासिल गरेका छन् । उता नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भने कुनै क्षेत्रमा विजय हासिल गर्न नसकेर नील भएको छ ।

एमालेले बझाङ, दार्चुला र अछाम क्षेत्र नम्बर २ मा जितेको छ भने काग्रेसले बाजुरा, डोटी र अछाम क्षेत्र नम्बर १ मा जितेको छ ।

कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा रास्वपाकी कोमल ज्ञवाली १७ हजार ८२६ मतसहित विजयी भइन् । नागरिक उन्मुक्ति पार्टीबाट राजनीति सुरु गरेकी उनी उम्मेदवारी दर्ताको केही समयअघि मात्रै रास्वपा प्रवेश गरेकी थिइन् । उनले कांग्रेसका जनकराज चौधरी र टीकापुरको मेयरबाट राजीनामा दिएर नेकपा उम्मेदवार बनेका रामलाल डगौरा थारुलाई भारी मतान्तरले पराजित गरेकी हुन् ।

कैलाली– २ मा रास्वपाकै केपी खनाल विजयी भएका छन् । सरसफाइ अभियन्ताको पहिचान बनाएका खनाल २६ वर्षको उमेरमा संसदीय यात्रा आरम्भ गर्न सफल भए । उनी बालेन शाहपछि रास्वपा प्रवेश भएका थिए । उनी शाहनिकट मानिन्छन् । खनालले एमालेका सूर्यबहादुर थापा, कांग्रेसका विजय स्वाँर र नाउपा नेपालका पतिराम चौधरीलगायतका उम्मेदवारलाई पराजित गरेका छन् ।

कैलाली ३ मा रास्वपाका जगतप्रसाद जोशी निर्वाचित भएका छन् । राष्ट्रिय जनमोर्चाबाट स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको चुनाव लडेका जोशी यसपटक रास्वपाबाट उम्मेदवार भएर विजयी भएका हुन् । उनले २० हजार ३५९ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका वीरमान चौधरीले ११ हजार ९८३ मत ल्याए । कांग्रेसका भीम बडुवालले ९ हजार ७०६ मत ल्याए । एमालेका गौरीशंकर चौधरीको त धरौटी नै जफत भएको छ ।

कैलाली– ४ मा रास्वपाकै खेमराज कोइराला विजयी भए । विद्यार्थीकालमा गजलकारको पहिचान बनाएका उनी राजनीतिमा यसअघि देखिएका थिएनन् । कोइराला २८ हजार ५५६ मत ल्याउँदै विजयी भएका हुन् । उक्त क्षेत्रमा नेपाली कांग्रेसका गोरखबहादुर विष्टले ११ हजार ३०१ मत लिए । नेकपा एमालेका उपमहासचिव लेखराज भट्ट तेस्रो बने । उनले ९ हजार ४४४ मत ल्याए । कैलाली निर्वाचन क्षेत्र ४ बाट चुनाव लड्दै आएका लेखराज एक चुनाव बिराएर जित निकाल्न सफल हुँदै आएका थिए । तर, यसपटकको पराजयले उनको निरन्तर हार भएको छ । २०७९ सालको निर्वाचनमा भट्ट कांग्रेसका वीरबहादुर बलायरसँग पराजित भएका थिए ।

कांग्रेसले आफ्नो गढ बताउँदै आएको कैलाली– ५ मा यसपटक रास्वपा उम्मेदवार आनन्दबहादुर चन्द निर्वाचित भए । उनी शिक्षा, स्वास्थ्य र अनुसन्धानका क्षेत्रमा सक्रिय थिए । जिल्लास्तरमा परिचित नभएका उनलाई एकाएक रास्वपाले उम्मेदवार बनाएको थियो । चन्द ३१ हजार ९५३ मत प्राप्त गर्दै विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नरनारायण शाहले ११ हजार ९५८ मत ल्याए । यसैगरी, नेपाली कम्युनिस्ट पार्टी नेकपाका प्रेमबहादुर आलेले ७ हजार ८७६ र नेकपा एमालेका उम्मेदवार यज्ञराज ढुंगानाले ५ हजार ८३९ मत प्राप्त गरे ।

कञ्चनपुर–१ मा रास्वपाका जनकसिंह धामी फराकिलो मतान्तरले विजयी भए । धामीले नेकपाकी बिना मगर एमालेका तारा लामा तामाङलाई पराजित गरे । धामीले २४ हजार ३३२ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी मगरले ११ हजार ११० मत प्राप्त गरेकी छन् । नेपाली कांग्रेसका गोपीप्रसाद उपाध्यायले आठ हजार ४६७ मत प्राप्त गरेका छन् । एमालेका तामाङले आठ हजार ८८ मत प्राप्त गरे ।

यस्तै, कञ्चनपुर–२ मा पनि रास्वपाका दीपक बोहरा भारी मतान्तरले विजयी भए । उनी पूर्वपत्रकार हुन् । रास्वपा सभापति रवि लामिछानेका दाइने हात मानिने बोहराले डेढ दशक पत्रकारिता गरेका छन् । बोहरा कांग्रेस नेता पूर्वमन्त्री एनपी साउदलाई २३ हजार १२५ मतान्तरले पराजित गर्दै विजयी भए । उनले ३३ हजार ९५२ मत प्राप्त गरे । साउदले १० हजार ८२७ मत प्राप्त गरेका छन् ।

यस्तै, कञ्चनपुर–३ मा रास्वपाका ज्ञानेन्द्रसिंह महता निर्वाचित भएका छन् । महता पनि पूर्वपत्रकार हुन् । ग्यालेक्सी टेलिभिजनमा काम गरेका उनले पत्रकारिता छोडेर राजनीति सुरु गरेका थिए । उनी रास्वपा सुदूरपश्चिमका संस्थापक इञ्चार्ज पनि हुन् । महताले २७ हजार ११८ मत प्राप्त गर्दा कांग्रेसका हरिप्रसाद बोहराले ९ हजार ४४३ मत प्राप्त गरेका छन् ।

उता डडेल्धुरामा पनि रास्वपाले कांग्रेसको किल्ला भत्कायो । त्यहाँ रास्वपाका उम्मेदवार ताराप्रसाद जोशी विजयी भए । उनले १९ हजार १३१ मत प्राप्त गरेका छन् भने प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नैनसिंह महरले १२ हजार १२१ मत पाए । २०४८ सालदेखि २०७९ सालसम्म भएका सात निर्वाचनमा डडेल्धुरा कांग्रेसका शेरबहादुर देउवा विजयी भएका थिए । ३४ वर्षे कांग्रेस विरासत तोडेका जोशी गन्यापधुरा गाउँपालिका–२ का स्थायी बासिन्दा हुन् । उनी २०४८ मा शिक्षण पेसामा आबद्ध भएका थिए । उनी एमाले, एकीकृत समाजवादी र स्वतन्त्रहुँदै रास्वपा प्रवेश गरेका हुन् । स्वतन्त्रबाट प्रदेशसभामा विजयी भएका उनी राजीनामा दिएर उम्मेदवार बनेका थिए ।

उता बैतडीमा पनि रास्वपा विजयी भएको छ । रास्वपाका हरिमोहन भण्डारीले २२ हजार १३४ मत पाएर विजयी भए । उनले नेपाल क्रिकेट संघका अध्यक्षसमेत रहेका कांग्रेस उम्मेदवार चतुरबहादुर चन्द र बैतडीबाटै जितको ह्याट्रिक गरिसकेका एमालेका दामोदर भण्डारीलाई पराजित गरे । विजयी भएका भण्डारीको राजनीतिक पृष्ठभूमि भने कांग्रेस हो । उनी २०७४ मा कांग्रेसबाटै र २०७९ को निर्वाचनमा स्वतन्त्रबाट प्रदेशसभा उम्मेदवारी दिएका थिए । दुईपटक नै पराजित भएका भण्डारी यसपटक विजयी भएका हुन् ।

रास्वपाबाट दार्चुला, बझाङ, बाजुरा, डोटी र अछामका दुवै क्षेत्रमा उम्मेदवार रहेकाहरू भने पराजित भएका छन् ।

The post सुदूरपश्चिमका १६ वटै निर्वाचन क्षेत्रको मतगणना सम्पन्न appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

results election 2082