ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
बालअधिकारमाथि राजनीति नगर्न सुझाव
2082 General Election

बालअधिकारमाथि राजनीति नगर्न सुझाव

Inquiry Nepal Inquiry Nepal March 2, 2026 at 4:30 PM 50 views
अभियानले सोमबार विज्ञप्ति जारी गर्दै बालअधिकारको संरक्षण गर्दै स्वच्छ र मर्यादित निर्वाचन सम्पन्न गर्न अपिल गरेको हो।...

बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियानले निर्वाचनको समयमा बालबालिकालाई राजनीतिक प्रयोजनका लागि प्रयोग नगर्न सबै सरोकारवालासँग आग्रह गरेको छ। अभियानले सोमबार विज्ञप्ति जारी गर्दै बालअधिकारको संरक्षण गर्दै स्वच्छ र मर्यादित निर्वाचन सम्पन्न गर्न अपिल गरेको हो।

अभियानले राजनीतिक दल र उम्मेदवारहरूलाई प्रचार–प्रसार, जुलुस तथा आमसभामा बालबालिकालाई सहभागी नगराउन स्पष्ट आग्रह गरेको छ। विद्यालय र शिक्षकहरूलाई पनि विद्यार्थीहरूलाई निर्वाचन गतिविधिबाट टाढा राख्न सचेत गराइएको छ।

विज्ञप्तिमा राजनीतिक दल, अभिभावक र समुदायलाई बालबालिकालाई राजनीतिक दुरुपयोगबाट जोगाउन सक्रिय भूमिका खेल्न आह्वान गरिएको छ। सामाजिक सञ्जालमार्फत बालबालिकाको तस्बिर वा भिडियो प्रयोग गरी कुनै दलको समर्थन वा विरोधमा सामग्री तयार गरी शेयर, लाइक वा कमेन्ट नगर्न र त्यस्ता सामग्री हटाउन सम्बन्धित निकायमा उजुरी दिन समेत आग्रह गरिएको छ।

हिंसा, युद्ध वा द्वन्द्वसँग सम्बन्धित श्रव्य–दृश्य सामग्रीबाट बालबालिकालाई टाढा राख्नुपर्ने उल्लेख गर्दै अभियानले अभिभावकलाई बालबालिकासँग सकारात्मक संवाद गर्न र मानसिक असरबाट जोगाउन सचेत रहन सुझाव दिएको छ। मतदान केन्द्रका रूपमा प्रयोग गरिएका विद्यालयहरूमा निर्वाचन सकिएपछि सरसफाइ, भौतिक संरचनाको संरक्षण र व्यवस्थापन गर्नुपर्ने पनि विज्ञप्तिमा भनिएको छ।

निर्वाचन अवधिमा बालअधिकार उल्लङ्घनका घटना भएमा बाल हेल्पलाइन १०९८, नेपाल प्रहरी १००, राष्ट्रिय बाल अधिकार परिषद्, स्थानीय बाल अधिकार समिति, राष्ट्रिय मानव अधिकार आयोग, निर्वाचन आयोग तथा बालअधिकार क्षेत्रमा क्रियाशील संघसंस्थामा जानकारी गराउन अपिल गरिएको छ।

अभियानले सामाजिक सञ्जालमा रिल, भिडियो, टिकटक आदिमा एआइ प्रविधिसमेत प्रयोग गरी बालबालिकाबाट भोट माग्ने जस्ता गतिविधिप्रति आपत्ति जनाएको छ। विद्यालयमै शिक्षकबाट कुनै पार्टीलाई भोट दिन अप्रत्यक्ष दबाब दिने, र्‍याली–जुलुस, स्वागत तथा भेटघाटमा विद्यालय पोशाकसहित सहभागी गराउने, झण्डा, व्यानर, टि–सर्ट, क्याप र लोगो लगाएर प्रचारमा हिँडाउन प्रेरित गर्ने घटनाहरू बढेको परिषद्को भनाइ छ।

त्यस्तै, निर्वाचन केन्द्र तोकिएका विद्यालय क्षेत्रमा मतदानअघिदेखि सुरक्षाकर्मी हातहतियारसहित प्रवेश गर्ने गतिविधिले पनि बालमैत्री वातावरणमा असर पुर्‍याएको जनाएको छ। परिषद्का अनुसार निर्वाचनका क्रममा बालअधिकार उल्लङ्घन भएका १५० भन्दा बढी घटना अभिलेखीकरण गरिएको छ भने ७५ भन्दा बढी घटनामा औपचारिक उजुरी दर्ता भइसकेको छ।

‘लोकतन्त्रको महत्वपूर्ण अभ्यास निर्वाचन हो। तर यस क्रममा बालबालिकाको जबरजस्ती सहभागिता, दुरुपयोग वा राजनीतिक स्वार्थका लागि प्रयोग गरिनु गम्भीर बालअधिकार उल्लङ्घन हो,’ विज्ञप्तिमा उल्लेख छ।

election election 2082