काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सस्मित पोखरेल विजयी भएका छन् । अन्तिम मतपरिणाम अनुसार उनले ३० हजार सात सय ३७ मत प्राप्त गरी विजयी भएका हुन् ।
नवनिर्वाचित सांसद पोखरेलका प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रदीप पौडेलले नौ हजार एक सय ५९ मत प्राप्त गरे ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार निर्वाचनमा नेकपा(एमाले)का ईश्वर पोखरेलले चार हजार सात सय एक मत प्राप्त गरेका छन् ।
यो पौडेलले अघिल्लोपटक जितेको क्षेत्र हो । तर यसपटक रास्वपाको लहर चल्दा पराजित हुन पुगे । तनहुँ जिल्लाबाट विद्यार्थी जीवनदेखि नै राजनीतिक यात्रा सुरु गरेका पौडेलले २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–५ बाट विजय हासिल गर्दै राष्ट्रिय राजनीतिमा औपचारिक रुपमा प्रवेश गरेका थिए ।
स्वास्थ्यमन्त्रीको जिम्मेवारी सम्हालेका पौडेलले आफ्नो १४ महिने कार्यकालमा बीमा प्रणाली व्यवस्थित गर्ने र सरकारी अस्पतालहरूको क्षमता विस्तार गर्ने लगायत विषयलाई प्राथमिकतामा राखेर काम गरेका थिए ।
उनलाई पार्टीभित्र पनि सम्भावना भएका युवा नेताका रूपमा हेरिँदै आएको थियो ।
The post संसद्मा दोहोरिने प्रदीपको सपनामा धक्का, सस्मितसँग ठूलो मतान्तरले पराजित appeared first on RONB post.