ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
मोरङमा सम्पूर्ण तयारी पूरा, २४ घण्टाभित्रै नतिजा सार्वजनिक गर्ने लक्ष्य
2082 General Results Result

मोरङमा सम्पूर्ण तयारी पूरा, २४ घण्टाभित्रै नतिजा सार्वजनिक गर्ने लक्ष्य

Inquiry Nepal Inquiry Nepal March 4, 2026 at 6:03 PM 46 views
मोरङका ६ वटै निर्वाचन क्षेत्रका मतदान केन्द्रमा निर्वाचनका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मी पुगी सकेको मोरङको मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरले जनाएको छ ।...

प्रतिनिधिसभा निर्वाचनका लागि मोरङका सबै मतदान स्थलहरूमा सम्पूर्ण तयारी पूरा भएको छ । मोरङका ६ वटै निर्वाचन क्षेत्रका मतदान केन्द्रमा निर्वाचनका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मी पुगी सकेको मोरङको मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरले जनाएको छ ।

मुख्य निर्वाचन अधिकृत चित्रबहादुर गुरुङले फागुन २१ (भोलि) बिहान ७ बजेदेखि मतदान सुरु हुने र मतदान सकिए लगत्तै मतपेटिकाहरू सम्बन्धित मतगणना स्थलमा ल्याउने व्यवस्था मिलाइएको जानकारी दिए । उनका अनुसार भौगोलिक विकटताका कारण क्षेत्र नम्बर १ को मिक्लाजुङ गाउँपालिका–१ र केराबारी–२ को पहाडी क्षेत्रबाट मतपेटिका ल्याउन करिब ४ घण्टा लाग्ने अनुमान गरिएको छ । अन्य क्षेत्रबाट मतदान सकिएको केही समयभित्रै मतपेटिका गणनास्थल आइपुग्ने छ ।

मोरङका ६ वटा निर्वाचन क्षेत्रका लागि छुट्टाछुट्टै स्थानमा मतगणनाको व्यवस्था मिलाइएको छ । जस अनुसार क्षेत्र नम्बर १ उर्लाबारी नगरपालिकाको कार्यालय, क्षेत्र नम्बर २ को सिजवास्थित विश्वनाथ मन्दिर, क्षेत्र नम्बर ३ को बेलबारीस्थित भगवती माध्यमिक विद्यालय, क्षेत्र नम्बर ४ को विराटनगरस्थित जनता नमुना माध्यमिक विद्यालय, क्षेत्र नम्बर ५ को सुनसरी–मोरङ सिँचाइ आयोजनाको कार्यालय र क्षेत्र नम्बर ६ को विराटनगरको आदर्श माध्यमिक विद्यालयमा मतगणना हुनेछ ।

मतगणनालाई पारदर्शी र सुरक्षित बनाउन मतगणना स्थलहरूमा सीसी क्यामेरा जडान गर्नुका साथै तारजालीको घेरा लगाइएको छ । मतपेटिका संकलन भए लगत्तै सर्वदलीय बैठक बोलाएर गणना सुरु गरिने मुख्य निर्वाचन अधिकृत गुरुङले बताए । निर्वाचन आयोगले मतगणना सुरु भएको २४ घण्टाभित्रै अन्तिम परिणाम सार्वजनिक गर्ने लक्ष्य राखेको छ । त्यस अनुसार नै सबै पक्षसँग समन्वय गरेर चाँडोभन्दा चाँडो मत परिणाम सार्वजनिक गर्ने सोचका साथ काम भइरहेको गुरुङले बताए ।

मोरङका प्रमुख जिल्ला अधिकारी (सिडिओ) युवराज कटेलले निर्वाचनलाई निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न जिल्लाभर सुरक्षा सतर्कता उच्च पारिएको जानकारी दिए । उनले सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई उचित ढंगले परिचालन गरिएको छ । सिडिओ कटेलले भने, ‘निर्वाचन बिथोल्ने वा मतदान प्रक्रियामा अवरोध गर्ने जोसुकै विरुद्ध सुरक्षा ‘प्रोटोकल’ अनुसार कारबाही गरिने छ । अवाञ्छित गतिविधि भएमा ‘ब्यालेट’ जोगाउन ‘बुलेट’ प्रयोग गर्नुपर्ने अवस्था आउन सक्छ । त्यसका लागि पनि प्रोटोकलअनुसार सुरक्षा संयन्त्र मिलाइएको छ ।’

मोरङमा ३ लाख ९९ हजार ६८६ पुरुष मतदाता, ३ लाख ८३ हजार ३५७ महिला मतदाता, ७ अन्य गरी कूल ७ लाख ८३ हजार ५० मतदाता रहेका छन् ।

६ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा ३ सय ६ वटा मतदानस्थल र ८ सय ८८ वटा मतदान केन्द्र कायम गरिएको छ । तीमध्ये ४७ वटा अति संवेदनशील, १२५ वटा संवेदनशील र १३४ वटा सामान्य मतदानस्थल रहेका छन् । निर्वाचन स्थलमा ३ तहको सुरक्षा व्यवस्था चुस्त पारिएको छ भने निर्वाचन प्रहरी पनि तैनाथ अवस्थामा रहेका छन् ।

results election 2082