ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
एमालेले सुरु गर्यो ‘पार्टी जागरण अभियान’, पदाधिकारी बाहेकका नेतालाई पालिका केन्द्रित जिम्मेवारी
2082 General Parties

एमालेले सुरु गर्यो ‘पार्टी जागरण अभियान’, पदाधिकारी बाहेकका नेतालाई पालिका केन्द्रित जिम्मेवारी

Inquiry Nepal Inquiry Nepal May 30, 2026 at 7:01 AM 23 views
नेकपा एमालेले स्थानीय तह र प्रदेशको आसन्न निर्वाचनलाई लक्षित गर्दै पार्टी जागरण अभियान सुरु गरेको घोषणा गरेको छ।...

नेकपा एमालेले स्थानीय तह र प्रदेशको आसन्न निर्वाचनलाई लक्षित गर्दै पार्टी जागरण अभियान सुरु गरेको घोषणा गरेको छ। यो अभियान सफल पार्न केन्द्रीय पदाधिकारी बाहेकका सबै केन्द्रीय सदस्यहरूलाई पालिका केन्द्रित जिम्मेवारी तोकिएको छ।

गत जेठ ४ गतेबाट सुरु भएर ८,९ र १० गते भएको केन्द्रीय सचिवालयको बैठकका निर्णयलाई मातहतका कमिटीमा प्रेषित गर्न पार्टी अध्यक्ष केपी शर्मा ओलीले अन्तरपार्टी निर्देशन (अपानि) २ जारी गर्दै यो अभियान घोषणा गरेका हुन्। गणतन्त्र दिवसका दिन जेठ १५ गतेको मितिमा जारी गरिएको अपानिमा नेताहरूको जिम्मेवारीको विस्तृत खाका उल्लेख गरिएको छ। पार्टीका केन्द्रीय सदस्यहरूलाई जनसंगठन इन्चार्ज तथा विभागका प्रमुख तोकिए पनि उनीहरूलाई आफ्नो पालिकाको समेत जिम्मेवारी तोकिएको छ।

केन्द्रीय सदस्यहरू मात्र पालिका केन्द्रित अभियानमा अपर्याप्त रहेकोले केन्द्रीय केन्द्रीय निकायका सदस्य तथा अगुवा कार्यकर्तालाई समेत यो जिम्मेवारी तोकिएको छ। एमालेले गरेको कार्यविभाजन अनुसार अध्यक्षले समग्र कामको नेतृत्व र महासचिवले पार्टीको संगठनात्मक कामको संयोजन र केन्द्रीय कार्यालय प्रमुखको जिम्मेवारी तोकिएको छ।

उपाध्यक्ष र उपमहासचिवहरूलाई पार्टीका विभाग तथा फाँटहरूको संयोजनको जिम्मेवारी दिइएको छ। नौ मध्ये छ जना सचिवलाई प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको छ। कोशीका मुख्यमन्त्री एवं सचिव हिक्मत कार्कीलाई विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागको प्रमुख, पद्मा अर्याललाई संसदीय मामिला प्रमुख र भानुभक्त ढकाललाई संगठन विभाग प्रमुख तोकिएको छ। अन्य सचिवहरू छविलाल विश्वकर्मालाई इन्चार्ज लुम्बिनी, खगराज अधिकारीलाई गण्डकी इन्चार्ज, यमलाल कँडेललाई कर्णाली इन्चार्ज, शेरधन राईलाई कोशी इन्चार्ज, राजन भट्टराईलाई राजधानी विशेष प्रदेश इन्चार्ज र महेश बस्नेतलाई बागमती प्रदेश इन्चार्ज तोकिएको छ।

खासगरी आफूले प्रतिनिधित्व गर्ने जिल्लाका पालिकामा पार्टी जागरण अभियान सञ्चालन गर्ने जिम्मेवारी दिएर केन्द्रीय सदस्यहरूलाई भूगोलमा केन्द्रित गर्न खोजेको एमालेले जनाएको छ। ‘जिल्ला इन्चार्ज तोकिएका नेताहरूलाई समेत पालिकाको जागरण अभियानमा सहभागी गराइएको छ,’ एक सचिवले भने, ‘अन्यथा एक जना केन्द्रीय सदस्यलाई बढीमा दुईवटा पालिकाको जिम्मेवारी दिँदै जागरण अभियानमा केन्द्रित हुन भनिएको छ।’

निर्वाचनपछि सुस्ताएका कमिटी र पार्टी गतिविधिलाई जागरण अभियानले गति दिने एमालेको अपेक्षा छ। कार्यविभाजन अनुसार एमालेको प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्य र प्रेस चौतारी नेपालको इन्चार्जमा रामकुमारी झाँक्रीलाई तोकिएको छ।

parties election 2082