ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
आज १८ खर्ब ९० अर्बहाराहारी बजेट ल्याइँदै
2082 General Parties Update

आज १८ खर्ब ९० अर्बहाराहारी बजेट ल्याइँदै

Inquiry Nepal Inquiry Nepal May 29, 2026 at 7:41 AM 26 views
<p>काठमाडौं । जेनजी आन्दोलनको बलमा आमनिर्वाचनपछि गठित दुईतिहाइनजिकको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारले शुक्रबार (आज) करिब १८ खर्ब ९० अर्ब रुपैयाँबराबरको बजेट प्रस्तुत गर्दै छ । गत आर्थिक वर्षको तुलनामा यो केही कम हो । चालू आर्थिक वर्षमा १९ खर्ब ६४ अर्बको बजेट थियो । बजेटमार्फत सरकारले खर्चमा मितव्ययिता अपनाउने र अनावश्यक खर्च कटौती नीति [&#8230;]</p> <p>The post आज १८ खर्ब ९० अर्बहाराहारी बजेट ल्याइँदै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDai...

काठमाडौं । जेनजी आन्दोलनको बलमा आमनिर्वाचनपछि गठित दुईतिहाइनजिकको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारले शुक्रबार (आज) करिब १८ खर्ब ९० अर्ब रुपैयाँबराबरको बजेट प्रस्तुत गर्दै छ । गत आर्थिक वर्षको तुलनामा यो केही कम हो । चालू आर्थिक वर्षमा १९ खर्ब ६४ अर्बको बजेट थियो । बजेटमार्फत सरकारले खर्चमा मितव्ययिता अपनाउने र अनावश्यक खर्च कटौती नीति लिनेसमेत स्पष्ट पारिसकेको छ ।

गत आर्थिक वर्ष छुट्याइएको थियो १९ खर्ब ६४ अर्बको बजेट

संघीय संसदमा आज अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गर्ने बजेटप्रति प्रधानमन्त्री वालेन्द्र शाह, राष्ट्रिय स्वतन्त्र पार्टीका योजना र घोषणा तथा अर्थतन्त्रका विज्ञ मन्त्रीको चित्र झल्कने आशा सहित देशको सबैभन्दा चासोको विषय बनेको छ ।

कमजोर राजस्व संकलन, सुस्त अर्थतन्त्र, घट्दो निजी लगानी, बढ्दो सार्वजनिक ऋण र नागरिकको महँगीको दबाबबीच नयाँ भनिएको बहुमतको सरकारबाट आउने बजेट भएकाले यसबाट नै सरकारको आर्थिक दिशा तय गर्ने भएकाले सवैको चासो बढेको हो ।

संवैधानिक व्यवधानुसार गणतन्त्र दिवसकै दिन पेश गर्नुपर्ने यो बजेटलाई नयाँ सरकारको पहिलो पूर्ण बजेटको रूपमा हेरिएको छ । आज आउने बजेट परम्परागत वितरणमुखी शैलीबाट अलग रहेर रूपान्तरणकारी, सुधारकेन्द्रित र निजी क्षेत्रमैत्री हुने व्यापक अपेक्षा गरिएको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पटकपटक यो बजेटले नेपालको अर्थतन्त्रमा ब्रेकथ्रु ल्याउने दाबी गर्दै आएका छन् । उनले पूर्वअर्थमन्त्रीहरू, निजी क्षेत्र, उद्योगी व्यवसायी र विज्ञहरूसँग गरेको परामर्शबाट बजेटलाई बलियो आधार दिइएको बताएका छन् । पूर्वअर्थमन्त्रीहरूसँगको उच्चस्तरीय छलफलमा कडा वित्तीय अनुशासन कायम गर्ने, केही उच्च प्रभावकारी आयोजनामा मात्र केन्द्रित हुने र बजेटको आकारलाई यथार्थपरक बनाउने सुझाव आएको थियो ।

आज आउने बजेटको कुल आकार करिब १८ खर्ब ९० अर्ब रुपैयाँ रहने अर्थमन्त्रालय स्रोतको भनाइ रहेको छ । यो गत आर्थिक वर्षको तुलनामा केही कम हो । चालु आर्थिक वर्षमा १९ खर्ब ६४ अर्बको बजेट रहेको थियो । बजेटमार्फत सरकारले खर्चमा मितव्ययिता अपनाउने र अनावश्यक खर्च कटौती गर्ने नीति लिने स्पष्ट भइसकेको छ ।

अर्थमन्त्री वाग्लेले बजेटमार्फत नेपालको अर्थतन्त्रलाई ७४ खर्ब रुपैयाँको आकारमा पु¥याउने लक्ष्य राखेका छन् । हाल करिब ६६ खर्बको हाराहारीमा रहेको कुल घरेलु उत्पादनलाई विस्तार गर्दै सात वर्षभित्र एक सय बिलियन डलरको अर्थतन्त्र बनाउने दीर्घकालीन सोच पनि बजेटमा समावेश हुनेछ । प्रति व्यक्ति आय तीन हजार डलर पु¥याउने लक्ष्यसहितकोे महत्वाकांक्षी योजना पनि आजको बजेटमा समावेश हुने भएको छ ।

पूँजीगत खर्चलाई प्रभावकारी बनाउने, पुराना तथा अधुरा आयोजनालाई प्राथमिकता दिने र नयाँ आयोजनामा अनावश्यक खर्च नगर्ने नीति बजेटको मुख्य विशेषता बन्नेछ । पूर्वाधार विकास, कृषि उत्पादन वृद्धि, पर्यटन पूर्वाधार, सूचना प्रविधि र स्टार्टअप उद्यमलाई विशेष जोड दिइने अपेक्षा गरिएको छ । अर्थमन्त्री वाग्लेले बजेट वक्तव्यमार्फत सुशासन, भ्रष्टाचार नियन्त्रण र कमजोर वर्गबाट मध्यम वर्ग निर्माणलाई बजेटले मुख्य खम्बाको रूपमा सम्बोधन गर्नेेछ ।

आजको बजेटमार्फत कर प्रणालीमा व्यापक हेरफेर हुनेछ । अर्थमन्त्री वाग्लेले बारम्बार ‘कर घटाउँदा राजस्व घट्छ भन्ने पुरानो सोचबाट सरकार मुक्त भएको’ बताउँदै आएका छन् । उच्च कर दरका कारण कर चोरी, तस्करी र अनौपचारिक अर्थतन्त्र फस्टाएको भन्दै उनी आयकर, भन्सार र मूल्य अभिवृद्धि करमा सुधार गर्न तयार रहेकाले करको आधार फराकिलो बनाएर दर घटाउने नीति बजेतमार्फत आउने सम्भावना रहेको छ ।

उच्च आयकर र कर्पोरेट कर दरलाई समीक्षा गरी घटाउने, ईमानदार करदातालाई प्रोत्साहन दिने, भन्सार दरलाई तर्कसंगत बनाउने, औद्योगिक विद्युतमा भ्याट हटाउने, निर्यातमा थप कर छुट दिने जस्ता कदम समावेश हुने अनुमान गरिएको छ । चुरोट, मदिरा जस्ता सुर्तीजन्य तथा स्वास्थ्यलाई हानी गर्ने वस्तुमा कर बढाएर स्वास्थ्य कोष निर्माण गर्ने अपेक्षा पनि गरिएको छ ।

डिजिटल कर प्रणालीलाई मजबुत बनाउने, अनलाइन कर भुक्तानीलाई प्रोत्साहन गर्ने र कर प्रशासनलाई सरलीकरण गर्ने नीति पनि आजको बजेटमार्फत सम्वोधन हुनेछ । राजस्व लक्ष्य करिब १३ खर्ब ३० अर्ब रुपैयाँ हाराहारी राखिने अनुमान गरिएको छ ।

रोजगारी सिर्जना यस बजेटको अर्को प्रमुख प्राथमिकता रहने देखिएको छ । युवालाई लक्षित कार्यक्रम, स्टार्टअपलाई प्रोत्साहन, सीप विकास र वैदेशिक रोजगारीबाट फर्केकालाई स्वदेशमै अवसर दिने ‘स्किल पासपोर्ट’ जस्ता कार्यक्रम आजको बजेटमार्फत घोषणा हुने भएको छ । सरकारले आगामी दश वर्षलाई ‘रोजगारी प्रवर्धन दशक’ घोषणा गर्ने तयारी गरेको छ । बजेटले आईटी र डिजिटल अर्थतन्त्रलाई मुख्य जोड दिइनेछ । डिजिटल नेपालको अवधारणालाई अघि बढाउँदै एकीकृत डाटाबेस, नागरिक एप र एक पटक जानकारी दिए पुग्ने सेवालाई प्राथमिकता दिइनेछ । नेपाललाई प्राविधिक हब बनाउने लक्ष्यसहित एआई निर्यात र क्यासलेश प्रणालीतर्फको यात्रा बजेटले सुरु गर्ने बताइएको छ ।

पूर्वाधार विकासमा पुराना आयोजना पूरा गर्न जोड दिइनेछ । सडक, सिंचाइ, खानेपानी, विद्युत् प्रसारण लाइन र पर्यटन पूर्वाधारलाई प्राथमिकता दिइनेछ । कृषि क्षेत्रमा उत्पादन वृद्धि, आधुनिकीकरण र व्यावसायिकरणलाई जोड दिइनेछ । कर्णाली र सुदूरपश्चिम जस्ता पछाडि पारिएका क्षेत्रमा विशेष ध्यान दिइने अर्थमन्त्री वाग्लेले बताएका छन् ।

निजी क्षेत्रले कर बोझ घटाउन, लगानीमैत्री वातावरण र नीतिगत निरन्तरता मागेका छन् । कर्मचारी तथा सर्वसाधारणले तलब वृद्धि, सामाजिक सुरक्षा र राहतको अपेक्षा गरेका छन् । बजेटले यी अपेक्षालाई कसरी सन्तुलित बनाउँछ भन्नेमा धेरैको चासो रहेको छ ।

यसपटक सबैभन्दा धेरै चासो कर नीतिमा देखिएको छ । विशेष गरी मध्यम वर्ग, व्यवसायी, उद्योगी, आयातकर्ता र विद्युतीय गाडी व्यवसायीहरू आगामी कर संरचना कस्तो हुन्छ भन्ने प्रतीक्षामा छन् । पछिल्ला वर्षमा लगातार करको दायरा विस्तार भएको, राजस्व लक्ष्य पूरा हुन नसकेको र अर्थतन्त्र चलायमान हुन नसकेको अवस्थाले सरकारलाई कर नीतिमा पुनर्विचार गर्न दबाब परेको छ ।

कर प्रशासनमा भने सरकारले कडाइ गर्ने लगभग निश्चित देखिएको छ । भ्याट चुहावट, बिलबिजकबिनाको कारोबार, डिजिटल व्यापारमा कर दायरा कमजोर हुनु तथा आयातमा कम मूल्यांकनजस्ता समस्या नियन्त्रण गर्न सरकारले प्रविधिमा आधारित कर निगरानी प्रणाली विस्तार गर्न सक्ने देखिएको छ ।

यसका लागि अनलाइन कारोबार ट्रयाकिङ्ग, ई–बिलिङ अनिवार्य, डिजिटल भुक्तानी प्रोत्साहन बजेटमार्फत गर्नेछ ।

पछिल्लो समय विद्युतीय गाडीको आयात तीव्र रूपमा बढेकाले आगामी बजेटमा इभी कर संरचना सबैभन्दा विवादास्पद विषय बन्ने सम्भावना देखिएको छ । सरकारले बजेटमार्फत उच्च क्षमताका इभीमा कर बढाउने र कम क्षमताका गाडीलाई सहुलियत कायम राख्ने तयारी गरेको छ ।

यसपटक इभीमा वर्गीकृत कर नीति ल्याइने सम्भावना रहेको छ । महँगा तथा लक्जरी इभीमा भन्सार वा अन्तःशुल्क बढ्न सक्ने, तर मध्यम वर्गले प्रयोग गर्ने साना इभीमा सहुलियत कायम रहन सक्ने आकलन गरिएको छ ।

घरजग्गा र निर्माण क्षेत्र पनि आगामी बजेटको केन्द्रमा पर्ने देखिएको छ । पछिल्ला दुई वर्षदेखि बैंक ऋण प्रवाह सुस्त, घरजग्गा कारोबार कमजोर तथा निर्माण व्यवसाय संकटमा परेपछि सरकारले यस क्षेत्रमा केही राहत ल्याउन सक्ने संकेत देखिएको छ ।

अर्थ मन्त्रालय निकट स्रोतहरूका अनुसार घरजग्गा रजिस्ट्रेशन शुल्कमा समायोजन, पहिलो घर खरिदकर्तालाई सहुलियत, निर्माण सामग्री उद्योगलाई कर छुट, बैंक ब्याज सहजीकरण, पूर्वाधार क्षेत्रमा निजी लगानी प्रोत्साहन बजेटमार्फत गरिनेछ ।

निजी क्षेत्रका छाता संगठनहरूले पनि सरकारलाई राजस्वमुखी मात्र नभई उत्पादनमुखी बजेट ल्याउन आग्रह गरेका छन् । उद्योगी व्यवसायीहरूले उच्च ब्याजदर, कर प्रशासनको दबाब, अनिश्चित नीति र कमजोर मागका कारण निजी क्षेत्रको मनोबल खस्किएको भन्दै लगानीमैत्री वातावरण बनाउन सरकारसँग माग गरेका छन् ।

यसपटकको बजेट पाँच मुख्य आधारमा केन्द्रित हुनेछ । सुशासन र भ्रष्टाचार नियन्त्रण, अर्थतन्त्रको पुनर्संरचना, उत्पादन र रोजगारी वृद्धि, पूर्वाधार र निजी लगानी अनि डिजिटल र ज्ञानमा आधारित अर्थतन्त्र यसपालिको बजेटका नारा हुनेछन् ।

विशेषगरी सूचना प्रविधि क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्ने संकेत देखिएको छ । नेपालबाट आईटी सेवा निर्यात बढिरहेको र युवाको आकर्षण यो क्षेत्रमा केन्द्रित भइरहेका कारण सरकारले स्टार्टअप, फ्रीलान्सिङ, डिजिटल सेवा तथा सफ्टवेयर निर्यातलाई प्रोत्साहन गर्ने नीति ल्याउन सक्ने सम्भावना छ ।

यस्तै कृषि क्षेत्रलाई पनि बजेटको प्राथमिक क्षेत्रमा राखिने देखिएको छ । मल, सिँचाइ, कृषि उत्पादन, भण्डारण, कृषि प्रशोधन तथा खाद्य सुरक्षामा बजेट बढ्ने अनुमान गरिएको छ । सरकारले कृषि आयात घटाउने र आन्तरिक उत्पादन बढाउने लक्ष्य राख्न सक्ने विश्लेषण भइरहेको छ ।

पर्यटन, ऊर्जा र पूर्वाधार पनि बजेटका प्रमुख प्राथमिकतामा रहने सम्भावना छ । विशेषगरी जलविद्युत्, प्रसारण लाइन, सडक स्तरोन्नति तथा पर्यटन पूर्वाधारमा निजी क्षेत्रसँगको सहकार्य बढाउने नीति आउन सक्ने देखिएको छ ।

तर सरकारको सबैभन्दा ठूलो चुनौती भनेकै स्रोत व्यवस्थापन हो । कमजोर राजस्व, वैदेशिक सहायता सुस्त, सार्वजनिक ऋण बढ्दो र पुँजीगत खर्च कमजोर रहेको अवस्थामा सरकारले अपेक्षाअनुसार खर्च गर्न सक्ने अवस्था छैन ।

यसपटक सबैभन्दा धेरै चर्चा व्यक्तिगत आयकर (स्ल्याब) मा हेरफेरको छ । महँगी बढेको, तलबभोगी वर्गको खर्च बढेको र क्रयशक्ति घटेको भन्दै सरकारले कर लाग्ने न्यूनतम आय सीमा केही बढाउन सक्ने अनुमान गरिएको छ ।

अविवाहितको वार्षिक ५ लाख रुपैयाँसम्म, विवाहितको ६ लाख रुपैयाँसम्म आम्दानीमा १ प्रतिशत सामाजिक सुरक्षा कर लाग्दै आएकोमा सरकारले यो सीमा बढाएर मध्यम वर्गलाई राहत दिन सक्ने गरी स्ल्याब बढाउनेछ ।

सरकारले फेसबुक–टिकटक व्यापार, अनलाइन सेवा, डिजिटल विज्ञापन, विदेशी डिजिटल प्लेटफर्मलाई यसपालि करको दायरामा ल्याइ कडाइ गर्ने सम्भावना पनि उच्च रहेको छ ।

समग्रमा आर्थिक वर्ष २०८३–८४ को बजेटमार्फत मध्यम वर्गलाई सीमित राहत, इभीमा वर्गीकृत कर, डिजिटल कारोबारमा कडाइ, विलासी वस्तुमा कर वृद्धि, उत्पादन क्षेत्रमा सहुलियत जस्ता मिश्रित नीति आउने छ ।

The post आज १८ खर्ब ९० अर्बहाराहारी बजेट ल्याइँदै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

parties election 2082