ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
“सिमाना भन्दा टाढा, मतको माया अझै नजिक”
2082 General Election

“सिमाना भन्दा टाढा, मतको माया अझै नजिक”

Inquiry Nepal Inquiry Nepal March 4, 2026 at 2:35 PM 50 views
विदेशबाटै भोट हाल्ने व्यवस्थाको चर्चा अहिले पनि चर्चामै सीमित छ । कानुनी जटिलता, प्राविधिक तयारी र संरचनागत चुनौतीहरूबिच यो चर्चा अझै कार्यान्वयनमा पुग्न सकेको छैन। अल्झिएको छ । तर भावनाको तहमा भने विदेशमा रहेका नेपालीहरू चुनावमा पूर्ण रूपमा सहभागी भइसकेका छन्। मत हाल्न नपाए पनि मतको प्रभाव सिमाना नाघेर संसारभर पुगेको छ।  देशमा चुनावी माहौल […]

विदेशबाटै भोट हाल्ने व्यवस्थाको चर्चा अहिले पनि चर्चामै सीमित छ । कानुनी जटिलता, प्राविधिक तयारी र संरचनागत चुनौतीहरूबिच यो चर्चा अझै कार्यान्वयनमा पुग्न सकेको छैन। अल्झिएको छ । तर भावनाको तहमा भने विदेशमा रहेका नेपालीहरू चुनावमा पूर्ण रूपमा सहभागी भइसकेका छन्। मत हाल्न नपाए पनि मतको प्रभाव सिमाना नाघेर संसारभर पुगेको छ। 

देशमा चुनावी माहौल तातिँदा सात समुन्द्रपारि बसेका नेपालीको मन पनि उत्तिकै तातेको छ। मतदाता सूचीमा नाम नहुन सक्छ, तर घरपरिवारको सल्लाहमा अनि निर्णयमा उनीहरूको आवाज गुन्जिन्छ। मत दिन नपाए पनि उनीहरूको मन नेपालमै अडिएको छ।

दक्षिण कोरियामा श्रम गर्दै बसेका नेपालीहरू चुनावलाई आफ्नो जीवनसँग प्रत्यक्ष जोडेर हेर्छन्। उनीहरू भन्छन्, “हामी यहाँ पसिना बगाइरहेका छौँ, तर मन नेपालमै छ। देश बनेको खबर सुन्न पाए, फर्किने निर्णय गर्न सजिलो हुन्छ।” हेटौँडाका गिरिजा न्यौपाने, अहिले दक्षिण कोरियामा कार्यरत छन् । उनी सबै मतदातालाई जिम्मेवार निर्णय गर्न आग्रह गर्छन्। “सही नेतृत्व चयन गरिदिनुस्, ताकि हामी फर्किन सक्ने वातावरण बनोस्,” उनी भन्छन्।

अमेरिकामा बसोबास गर्ने नेपालीहरूको भावना पनि उस्तै छ । “यहाँ अवसर छ, तर आफ्नोपन छैन।” चुनाव नजिकिँदै जाँदा सामाजिक सञ्जालमा नेपाली राजनीति नै छाएको हुन्छ। विभिन्न राज्यमा रहेका नेपालीहरूबिच भर्चुअल छलफल, विश्लेषण र बहस चलिरहन्छ। क्यालिफोर्नियामा कार्यरत अधिवक्ता अमृता कार्की भन्छिन्, “हामीले यहाँको प्रणाली देख्यौँ। यदि नेपालमा नीति, पारदर्शिता र स्थायित्व आयो भने लगानीसहित फर्किन तयार छौँ।”

उनीहरू आफैँ मत हाल्न नपाए पनि नेपालमा रहेका परिवारजनलाई सम्झाइरहन्छन्, “भावनामा होइन, भविष्यमा मत दिनुस्।”

देशमा स्थिरता, आर्थिक विकास र सुशासन यिनै उनीहरूको साझा चाहना हुन्। उनीहरू आशावादी छन् यो चुनावले सकारात्मक परिवर्तन, पारदर्शिता र अवसरको नयाँ ढोका खोल्नेमा । विदेशमा रहे पनि उनीहरू जिम्मेवार नागरिकका रूपमा देशको भविष्यप्रति चिन्तित छन्।

अमृताका अनुसार उनी कुनै उम्मेदवार वा दलको पक्षमा प्रचारमा लागेकी छैनन्। तर नयाँ नेतृत्वले भ्रष्टाचार नियन्त्रण, जबाफदेही शासन र सामाजिक–आर्थिक असन्तुष्टिको सम्बोधनमा अग्रसरता देखाओस् भन्ने उनको अपेक्षा छ। चुनाव केवल सरकार परिवर्तनको माध्यम नहोस्, राजनीतिक संस्कृतिमा सुधार र जिम्मेवार नेतृत्वको सङ्केत बनोस्, उनीहरूको यही चाहना हो।

युवा, विशेषतः जेन–जी पुस्ताले रोजगारी सिर्जना, सामाजिक न्याय, बेरोजगारी न्यूनीकरण र आर्थिक अवसर विस्तारजस्ता मुद्दालाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्। अबको नेतृत्व पारदर्शी, नीतिमा आधारित र परिणाममुखी हुनुपर्छ भन्ने उनीहरूको अपेक्षा छ। दीर्घकालीन आर्थिक प्रगति र स्थिरताका लागि यही मार्ग अपरिहार्य छ।

जापानमा काम र अनुशासनबिच जीवन बिताइरहेका नेपालीहरू भन्छन्, “यहाँको विकास देख्दा नेपाल किन सक्दैन भन्ने लाग्छ।” रेस्टुराँ मालिक पुरुषोत्तम लामिछाने भन्छन्, “यदि नेपालमा लगानीमैत्री वातावरण बन्यो भने, परिवारसँगै फर्किन चाहन्छु।” उनीहरू आफन्तलाई भिडियो कल गर्दै सम्झाउँछन्, “भोट हाल्न जान नबिर्सिनुस्।”

स्थिरता, इमानदार शासन, वास्तविक रोजगारीका अवसर र आर्थिक विकास सुनिश्चित भयो भने विदेशमा रहेका धेरै नेपाली फर्किन तयार छन्। उनीहरू विदेश बसेका छन् तर देशप्रतिको माया हराएको छैन। राम्रो अवसर, सुरक्षित भविष्य र परिवारका लागि स्थिर वातावरणको खोजीले मात्र उनीहरूलाई टाढा पुर्‍याएको हो। यदि ती अवसरहरू नेपालमै सुनिश्चित भए भने, फर्किने यात्राको सुरुआत टाढा छैन।

अष्ट्रेलियामा अध्ययनरत पाँचखालकी सपना न्यौपाने भन्छिन्, “हामी पढ्न आएका हौँ, बस्न होइन। देशमा अवसर भए फर्किने हो।” उनीजस्तै धेरै विद्यार्थी र पेशाकर्मीहरूको भावना उस्तै छ । नेपालप्रति गहिरो माया, तर अवसरप्रति गहिरो अपेक्षा। स्थिर नीति, निष्पक्ष प्रतिस्पर्धा, कम भ्रष्टाचार र मेहनतको उचित मूल्य, यिनै उनीहरूको प्राथमिक माग हुन्।

जर्मनीमा लामो समयदेखि बस्दै आएकी अन्जु आचार्य भन्छिन्, “नीति निर्माण वैज्ञानिक र दीर्घकालीन हुनुपर्छ।” अध्ययन–अनुसन्धानमा संलग्न नेपालीहरू स्पष्ट छन् “यदि देशले प्रतिभालाई स्थान दियो भने, हामी फर्किन तयार छौँ।”

विदेशमा भएका नेपाली सङ्घ–संस्थाहरूमा चुनावी विश्लेषण, उम्मेदवारको समीक्षा र नीति–बहस सक्रिय छन्। उनीहरूको एउटै आग्रह छ “देशमा स्थायित्व होस्, हामी फर्किने बाटो खुलोस्।”

परराष्ट्र मन्त्रालयको औपचारिक तथ्याङ्क अनुसार करिब ४० लाख नेपाली विदेशमा छन्। अनौपचारिक रूपमा भारतसहित अन्य देशमा रहेका नेपालीहरूको सङ्ख्या जोड्दा यो आँकडा करिब ६० लाख पुग्ने अनुमान छ। उनीहरू देशभन्दा टाढा भए पनि निर्णयभन्दा टाढा छैनन्। उनीहरूको मत मतपेटिकामा नहुन सक्छ, तर परिवार र समाजको निर्णयमा अवश्य छ। नाम मतदाता सूचीमा नहुन सक्छ, तर सपना नेपालकै भविष्यसँग गाँसिएको छ।

आज संसारभर छरिएका नेपालीहरूको एउटै सन्देश छ, “हामी फर्किन सक्ने नेपाल बनाइदिनुस्।”

किनकि देश केवल नक्सामा कोरिएको सीमारेखा मात्र होइन–देश भविष्य हो।

र यसपाला, त्यो भविष्यको मतदान हुँदैछ।

election election 2082