ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
‘रास्वपामा रवि लामिछानेको विकल्प छैन, महाधिवेशनबाट उहाँ नै सभापति चयन हुनुहुन्छ’
2082 General Candidates

‘रास्वपामा रवि लामिछानेको विकल्प छैन, महाधिवेशनबाट उहाँ नै सभापति चयन हुनुहुन्छ’

Inquiry Nepal Inquiry Nepal May 20, 2026 at 4:16 PM 41 views
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीले आगामी राष्ट्रिय महाधिवेशनमा सभापति पदका लागि रवि लामिछाने नै निर्विकल्प उम्मेदवार रहेको बताएका छन्।...

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीले आगामी राष्ट्रिय महाधिवेशनमा सभापति पदका लागि रवि लामिछाने नै निर्विकल्प उम्मेदवार रहेको बताएका छन्।

बुधबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पराजुलीले पार्टीको नेतृत्वमा परिवर्तनको कुनै सम्भावना नरहेको र लामिछानेको विकल्प कसैले नखोजेको सुनाए।

पराजुलीका अनुसार आगामी असार ७ गते रास्वपाको स्थापना दिवसको अवसर पारेर ऐतिहासिक राष्ट्रिय महाधिवेशन सुरु हुनेछ। असार ७, ८ र ९ गतेसम्म चल्ने उक्त महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्ने वैधानिक प्रक्रिया टुङ्ग्याउने छ।

‘रास्वपाले नयाँ नेतृत्व खोजिरहेको जस्तो मलाई लाग्दैन, न त नेपाली जनताले नै रवि लामिछानेको विकल्प खोजेका छन्,’ उनले भने, ‘अहिलेको अवस्थामा उहाँ नै हाम्रो पार्टीको निर्विकल्प सभापति हो।’

पार्टीभित्र लोकतान्त्रिक अभ्यासलाई उच्च प्राथमिकता दिइने बताउँदै पराजुलीले नेतृत्व चयनका लागि निर्वाचन र सहमति दुवै विधि खुला रहने स्पष्ट पारे।

उनले पार्टी स्थापनादेखि अहिलेसम्मको अवस्थामा ल्याइपुर्‍याउने साथीहरूले आफ्नो जिम्मेवारीबाट पन्छिन नपाउने उल्लेख गर्दै आगामी महाधिवेशनले सबै प्रक्रियालाई वैधानिक रूपमा टुङ्ग्याउने विश्वास व्यक्त गरे।

पार्टीभित्र गुट–उपगुट सिर्जना भएको चर्चालाई खण्डन गर्दै पराजुलीले रास्वपा एउटा विचार र एउटै छातामुनि गोलबद्ध रहेको दाबी गरे। ‘राजनीतिक दलमा विभिन्न विचारका मानिसहरू आउनु स्वभाविक हो, तर रास्वपाभित्र अहिले नै गुट-उपगुट सिर्जना हुने र त्यसले पार्टीलाई असर गर्ने कुनै अवस्था छैन,’ उनले थपे, ‘हामी सबै राष्ट्र निर्माणको एउटै जिम्मेवारी बोकेर यो अभियानमा होमिएका छौँ।’

पराजुलीले पार्टीको विधान र प्रस्तावनालाई पूर्ण रूपमा अनुशरण गर्दै महाधिवेशनलाई भव्य रूपमा सम्पन्न गर्ने तयारी भइरहेको जानकारी दिए।

महाधिवेशनले पार्टीको सांगठनिक संरचनालाई थप मजबुत बनाउने र आगामी निर्वाचनका लागि मार्गप्रशस्त गर्ने उनको भनाइ छ। नेतृत्वका लागि अन्य आकांक्षीहरूका बारेमा सोधिएको प्रश्नमा उनले चर्चा हुनु लोकतान्त्रिक प्रक्रिया भए पनि अन्त्यमा लामिछानेकै नेतृत्वमा पार्टी अघि बढ्ने बताए।

candidates election 2082