ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
अब कसले चुनाव लड्ने भन्ने कुरा प्राइमेरी निर्वाचनबाट तय हुन्छ: थापा
2082 General Candidates

अब कसले चुनाव लड्ने भन्ने कुरा प्राइमेरी निर्वाचनबाट तय हुन्छ: थापा

Inquiry Nepal Inquiry Nepal May 17, 2026 at 4:14 PM 26 views
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको उम्मेदवार छनोट प्रक्रियालाई परिवर्तन गर्दै ‘प्राइमेरी’ निर्वाचन प्रणाली लागू गर्ने घोषणा गरेका छन्।...

नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको उम्मेदवार छनोट प्रक्रियालाई परिवर्तन गर्दै ‘प्राइमेरी’ निर्वाचन प्रणाली लागू गर्ने घोषणा गरेका छन्।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले अब उम्मेदवारको टिकट नेताको तजबिजमा नभई विधिको आधारमा तय गरिने बताए।

सभापति थापाले पार्टीभित्र लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउन उम्मेदवार छनोटमा पारदर्शिता अपनाउन लागिएको जानकारी दिए।

उनले भने, ‘अब कसले चुनाव लड्ने भन्ने कुरा सभापतिले कोठामा बसेर निर्णय गर्ने होइन, एउटा निश्चित पद्धति र प्राइमेरी निर्वाचनबाट तय हुनेछ।’

पार्टीको संरचनालाई युवामैत्री बनाउन थापाले ३० वर्षमुनिका युवाहरूलाई अनिवार्य रूपमा नेतृत्वमा ल्याउने योजना अघि सारेका छन्।

प्रत्येक निर्वाचन क्षेत्रबाट ३० वर्षमुनिका युवालाई महाधिवेशन प्रतिनिधि बनाउने विधानको व्यवस्थालाई कडाइका साथ लागू गरिने उनले बताए।

पार्टीले गत निर्वाचनमा करिब १० लाख समर्थकको मत गुमाएको तथ्यांक प्रस्तुत गर्दै थापाले ती मतदातालाई पुनः कांग्रेसमा फर्काउनु आफ्नो मुख्य चुनौती रहेको स्वीकार गरे।

‘हामीले ती १० लाख शुभेच्छुकलाई भरोसा दिलाउनु छ,’ उनले भने, ‘त्यसका लागि पार्टीलाई समुदायको सेवा र विकाससँग जोड्नुपर्छ।’

संगठनात्मक सुधारका लागि सभापति थापाले पार्टीभित्र पुराना नेताहरूको अनुभवलाई सम्मान गर्न ‘विजडम काउन्सिल’ र नयाँ पुस्तालाई नीति निर्माणमा जोड्न ‘पोलिसी एकेडेमी’ सक्रिय बनाइने बताए।

उनले १४औं महाधिवेशनपछि बाहिर रहेका सबै नेताहरूलाई उचित जिम्मेवारी दिएर पार्टीमा सक्रिय बनाउने प्रस्ताव समेत गरे।

यस्तै, पार्टीको क्रियाशील सदस्यता अद्यावधिक गर्ने कार्यलाई प्रविधिमैत्री बनाइने र अब कसैले पनि सदस्यता नवीकरणबाट बञ्चित हुनु नपर्ने उनको दाबी छ।

दलित, महिला र मधेसी समुदायको सहभागितालाई वडा तहदेखि नै सुनिश्चित गर्दै पार्टीलाई थप समावेशी बनाइने प्रतिबद्धता उनले व्यक्त गरे।

candidates election 2082