ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
कांग्रेस संसदीय दलको नेतामा भीष्मराज सर्वसम्मत
2082 General Parties

कांग्रेस संसदीय दलको नेतामा भीष्मराज सर्वसम्मत

Inquiry Nepal Inquiry Nepal April 28, 2026 at 8:17 AM 39 views
काठमाडौं । निर्वाचन सम्पन्न भएको लामो समयपछि अन्ततः नेपाली कांग्रेसले संसदीय दलको नेता टुंग्याएको छ । आन्तरिक छलफल, विवाद र सहमतिको प्रयासपछि भीष्मराज आङदेम्बे सर्वसम्मत रूपमा संसदीय दलको नेतामा चयन हुनु भएको छ । सोमवार सिंहदरबारस्थित कांग्रेस संसदीय दलको बैठकले आङदेम्बेलाई सर्वसम्मत रूपमा दलको नेता बनाउने प्रस्ताव पारित गरेको हो । निर्वाचन समितिका संयोजक तथा […]

काठमाडौं ।

निर्वाचन सम्पन्न भएको लामो समयपछि अन्ततः नेपाली कांग्रेसले संसदीय दलको नेता टुंग्याएको छ । आन्तरिक छलफल, विवाद र सहमतिको प्रयासपछि भीष्मराज आङदेम्बे सर्वसम्मत रूपमा संसदीय दलको नेतामा चयन हुनु भएको छ । सोमवार सिंहदरबारस्थित कांग्रेस संसदीय दलको बैठकले आङदेम्बेलाई सर्वसम्मत रूपमा दलको नेता बनाउने प्रस्ताव पारित गरेको हो ।

निर्वाचन समितिका संयोजक तथा सहमहामन्त्री प्रकाश स्नेह रसाइलीले आङदेम्बेको नाम सर्वसम्मत रूपमा पारित भएको जानकारी दिनुभयो । उहाँका अनुसार लामो समयदेखि जारी आन्तरिक छलफल अन्ततः सहमतिमा टुंगिँदै पार्टीले संसदीय दलको नेतृत्व चयन गर्न सफल भएको हो ।

नेपाली कांग्रेसभित्र संसदीय दलको नेता चयनलाई लिएर केही समयदेखि मतभेद र विवाद देखिँदै आएको थियो । विभिन्न गुटबीच सहमति जुटाउन कठिनाइ भएपछि प्रक्रिया लम्बिँदै गएको थियो । यद्यपि, पार्टी नेतृत्वले सहमतिमै नेतृत्व चयन गर्ने रणनीति लिँदा अन्ततः सर्वसम्मत निर्णय सम्भव भएको हो ।

यसै सन्दर्भमा पार्टी सभापति गगन थापाले दलको नेता चयनमा ढिलाइ हुनुको कारण स्पष्ट पार्दै परिपक्व निर्णयका लागि समय लागेको बताउनुभएको छ । सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले भन्नुभयो–‘बाहिरबाट हेर्दा ढिलाइजस्तो देखिए पनि हामी सहमतिमा पुगेर परिपक्व निर्णय गर्ने प्रयासमा थियौं । त्यसैले केही समय लाग्यो, तर अन्ततः हामीले सहमतिमा योग्य र परिपक्व नेतालाई चयन गरेका छौं ।’

नवनिर्वाचित संसदीय दलका नेता आङदेम्बेले आफूहरू संख्यात्मक रूपमा कमजोर देखिए पनि विचार, दृष्टिकोण र नीतिमा स्पष्ट रहेको बताउनुभयो । उहाँले भन्नुभयो – ‘हामी संख्यामा कम छौं, तर विचारमा परिपक्व र प्रष्ट छौं । अब हामी सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्दै जनताको मुद्दालाई प्रभावकारी रूपमा उठाउनेछौं ।’

कांग्रेसले संसदीय दलको नेता चयन गर्न ढिलाइ गरेको विषयलाई लिएर सार्वजनिक रूपमा आलोचना पनि भइरहेको थियो । तर, पार्टीभित्र सहमति जुटाएर सर्वसम्मत रूपमा नेतृत्व चयन गर्न सफल भएकोमा नेताहरूले यसलाई सकारात्मक उपलब्धिका रूपमा लिएका छन् ।

अब आङदेम्बेको नेतृत्वमा कांग्रेस संसदीय दलले संसदमा आफ्नो भूमिका कसरी प्रस्तुत गर्छ भन्ने चासो बढेको छ । पार्टीभित्रको एकता मजबुत बनाउँदै प्रभावकारी प्रतिपक्षको भूमिका खेल्ने चुनौतीसमेत नयाँ नेतृत्वसमक्ष रहेको छ ।

parties election 2082