ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
सर्वसम्मत नेता चयनमा कांग्रेस अल्मलिँदै
2082 General Parties

सर्वसम्मत नेता चयनमा कांग्रेस अल्मलिँदै

Inquiry Nepal Inquiry Nepal April 27, 2026 at 7:16 AM 58 views
काठमाडौं। नेपाली कांग्रेसभित्र संसदीय दलको नेता सर्वसम्मत चयन गर्ने प्रयास लगातार असफल भइरहँदा पार्टीभित्रको आन्तरिक शक्ति–सन्तुलन, गुटगत समीकरण र नेतृत्वको भविष्यबारेको प्रतिस्पर्धा सतहमा आएको छ । सहमतिका लागि गठन गरिएको कार्यदलले समेत ठोस निष्कर्ष निकाल्न नसक्दा कांग्रेस फेरि चुनावी प्रक्रियातर्फ धकेलिने संकेत देखिएको छ । शुक्रवार तय गरिएको निर्वाचन कार्यतालिका स्थगित गर्दै उपसभापति विश्वप्रकाश शर्माको […]

काठमाडौं।

नेपाली कांग्रेसभित्र संसदीय दलको नेता सर्वसम्मत चयन गर्ने प्रयास लगातार असफल भइरहँदा पार्टीभित्रको आन्तरिक शक्ति–सन्तुलन, गुटगत समीकरण र नेतृत्वको भविष्यबारेको प्रतिस्पर्धा सतहमा आएको छ ।

सहमतिका लागि गठन गरिएको कार्यदलले समेत ठोस निष्कर्ष निकाल्न नसक्दा कांग्रेस फेरि चुनावी प्रक्रियातर्फ धकेलिने संकेत देखिएको छ । शुक्रवार तय गरिएको निर्वाचन कार्यतालिका स्थगित गर्दै उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा चार सदस्यीय कार्यदल गठन गरिएको थियो । उक्त कार्यदलमा उपसभापति पुष्पा भुसाल, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरे रहेका छन् । कार्यदललाई संसदीय दलको नेता सर्वसम्मत रूपमा चयन गर्ने जिम्मेवारी दिइए पनि केही दिनको गृहकार्यपछि पनि सहमति जुट्न सकेको छैन ।

कांग्रेसभित्र संसदीय दलको नेताका लागि आकांक्षीहरूको संख्या धेरै हुनु सहमति नजुट्नुको प्रमुख कारण बनेको छ । अर्जुननरसिंह केसी, भीष्मराज आङदेम्बे, मोहन आचार्य, निश्कल राई र बासना थापाजस्ता नेताहरूको नाम चर्चामा छ ।

विशेषतः अर्जुननरसिंह केसीले ‘नयाँ पुस्तालाई अवसर दिनुपर्ने’ प्रस्ताव अघि सार्दै आफू पछि हट्न तयार भए पनि अन्य दाबेदारहरूले पनि त्यस्तै त्याग गर्नुपर्ने शर्त राख्नुभएको थियो । उहाँले निश्कल राई वा बासना थापामध्ये एकजनालाई अघि सार्ने प्रस्ताव राखेपछि समीकरण थप जटिल बनेको एक नेताले बताए ।
कांग्रेसको पुरानो समस्या मानिएको गुटगत राजनीति यसपटक पनि निर्णायक देखिएको छ । संस्थापन पक्ष र इतर समूहबीचको अविश्वास अझै हट्न सकेको छैन । नेतृत्व चयनलाई केवल संसदीय दलको नेतामात्र नभई भविष्यको प्रधानमन्त्री र पार्टीको शक्ति सन्तुलनसँग जोडेर हेरिएको छ ।

एक केन्द्रीय सदस्यका अनुसार, ‘यो केवल संसदीय दलको नेता चयन होइन, आगामी सरकारको नेतृत्व र पार्टीभित्रको शक्ति वितरणको खेल पनि हो ।’ यही कारणले नेताहरू अन्तिम समयसम्म आफ्नो दाबी छोड्न तयार देखिएका छैनन् ।

कार्यदलले सहमति खोज्ने प्रयास गरे पनि नेताहरूबीच ‘कन्सेन्सस’ भन्दा ‘क्याल्कुलेसन’ बढी देखिएको स्रोत बताउँछ । प्रत्येक समूहले आफूलाई फाइदा हुने समीकरण बनाउन खोज्दा साझा उम्मेदवारमा सहमति जुट्न सकेको छैन ।

विशेषगरी युवा बनाम पुराना नेताको बहस पनि यसपटक सतहमा आएको छ । केही नेताहरूले पुस्तान्तरणको आवश्यकता औंल्याइरहेका छन् भने अनुभवी नेताहरूले स्थायित्व र अनुभवको तर्क अघि सारिरहेका छन् । यदि कार्यदलले अन्तिम समयसम्म सहमति जुटाउन नसके सह–महामन्त्री प्रकाश रसाइली स्नेहीको संयोजकत्वमा रहेको निर्वाचन समितिले प्रक्रिया अघि बढाउने तयारी गरेको छ ।

पार्टीले सोमवार कार्यसम्पादन समितिको बैठकपछि संसदीय दलको बैठक बोलाएको छ । सो बैठकमा सभापति गगन थापा दलको नेताको नाम प्रस्ताव गर्ने तयारीमा हुनुहुन्छ । यदि प्रस्ताव सर्वसम्मत रूपमा अनुमोदन भए तत्कालै प्रमाणपत्र प्रदान गरिनेछ, अन्यथा औपचारिक निर्वाचन हुने निश्चितजस्तै छ ।

विश्लेषकहरूका अनुसार कांग्रेस सर्वसम्मत नेता चयन गर्न असफल हुनुमा धेरै नेताको दाबी, तर त्यागको अभाव, गुटगत विभाजन, संस्थापन र इतर समूहबीच अविश्वास, पुस्तान्तरण बहस, नयाँ र पुराना नेताबीच दृष्टिकोणको टकराब रहेका छन् ।

नेपाली कांग्रेसभित्रको यो अवस्था पार्टीको आन्तरिक लोकतन्त्रको अभ्यास भए पनि नेतृत्व चयन प्रक्रियामा स्पष्टता र विश्वासको अभाव देखिएको संकेत हो । सहमतिबाट नेता चयन गर्न असफल भए कांग्रेस फेरि प्रतिस्पर्धात्मक निर्वाचनतर्फ जानेछ, जसले पार्टीभित्रको शक्ति सन्तुलनलाई नयाँ ढंगले परिभाषित गर्नेछ । अबको केही दिन कांग्रेसका लागि निर्णायक हुनेछन्— सहमति कि प्रतिस्पर्धा, यही प्रश्नको उत्तरले पार्टीको आगामी राजनीतिक दिशा तय गर्नेछ ।

parties election 2082