ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
हाम्रो नालायकीपनलाई जनताले दण्डित गरे: झाँक्री
2082 General Parties

हाम्रो नालायकीपनलाई जनताले दण्डित गरे: झाँक्री

Inquiry Nepal Inquiry Nepal April 19, 2026 at 8:34 PM 53 views
पूर्वमन्त्री एवं नेकपा (एमाले) की सांसद रामकुमारी झाँक्रीले प्रमुख राजनीतिक दलहरूको अकर्मण्यता र नालायकीपनका कारण चुनावमा जनताले उनीहरूलाई दण्डित गरेको टिप्पणी गरेकी छन्।...

पूर्वमन्त्री एवं नेकपा (एमाले) की सांसद रामकुमारी झाँक्रीले प्रमुख राजनीतिक दलहरूको नालायकीपनका कारण चुनावमा जनताले उनीहरूलाई दण्डित गरेको टिप्पणी गरेकी छन्।

आइतबार काठमाडौंमा विद्यार्थी संगठनहरूको भूमिका र वर्तमान सामाजिक अवस्थाबारे आयोजित एक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले दलहरूले आफ्ना कमजोरी स्वीकार गर्दै जनतासामु सार्वजनिक रूपमा माफी माग्नुपर्ने आवश्यकता औंल्याएकी हुन्।

परम्परागत दलहरूको कार्यशैलीप्रति आलोचना गर्दै उनले अहिलेको नतिजालाई जनताले दिएको सजायका रूपमा हेर्न आग्रह गरिन्।

दलहरूको वर्तमान अवस्थाप्रति व्यङ्ग्य गर्दै उनले सुनाइन्, ‘अहिले जेसुकै कुरा गरे पनि सुधारिएको भनिएको कांग्रेस १५ सिटमा खुम्चिएको देखिहालियो। नसुधारिएको एमाले यहाँ ९ सिटमा के भयो ? अनि अर्को धेरै ठूलो बनाइएको नेकपा ७ सिटमा सीमित हुनु भनेको हाम्रा नालायकीका लागि जनताले दिएको सजाय हो।’

यो परिणामलाई राजनीतिक नेतृत्वले गम्भीरतापूर्वक लिनुपर्ने उनको भनाइ थियो। दलहरूले बेलैमा आफ्नो अवस्था र जनताको वितृष्णालाई बुझ्न नसके अवस्था थप भयावह हुने उनले चेतावनी दिइन्।

‘हाम्रा नालायकीका लागि जनताले गरेको यो पनिसमेन्ट हो भन्ने कुरा हामीले कहिले थाहा पाउने ?’ उनले प्रश्न गरिन्।

झाँक्रीले विगतका कमजोरीबाट पाठ सिक्दै दलहरू रूपान्तरणको बाटोमा जानुपर्नेमा जोड दिइन्। उनले भनिन्, ‘हामी सबै कमजोरीहरूको एउटा प्याकेज हौं। हामीसँग कमजोरीहरूको चाङ छ। तर, अब यो कमजोरीबाट हामीले सिक्नुपर्छ। दुनियाँका अगाडि माफी माग्नुपर्छ र आफूलाई सच्याएर अगाडि जाने संकल्प गर्नुपर्छ।’

यसरी अघि बढे मात्रै राजनीतिक आन्दोलनलाई सही दिशा दिन सकिने उनको दाबी छ।

वर्तमान राजनीतिक परिदृश्यमा लोकतान्त्रिक अभ्यास खुम्चिँदै गएकोप्रति उनले चिन्ता व्यक्त गरिन्। वामपन्थी आन्दोलन मात्र नभई समग्र लोकतान्त्रिक ‘स्पेस’ नै कमजोर बन्दै गएको उनको विश्लेषण थियो।

‘यहाँ लोकतान्त्रिक स्पेस नै कमजोर र खुम्चिएको अवस्थामा छ। एउटा मान्छे आफ्नो अभिव्यक्ति दिन डराइरहेको बेलामा अब हामीले यो लोकतान्त्रिक स्पेस विस्तारका लागि काम गर्नुपर्छ,’ उनले सुनाइन्।

कार्यक्रममा उपस्थित विद्यार्थी नेता तथा युवाहरूलाई सम्बोधन गर्दै उनले अहिलेको अवस्थाबाट निराश नहुन आग्रह गरिन्।

दलहरूभित्रको कमजोरी सुधारको प्रक्रियामा युवा पुस्ताले हस्तक्षेपकारी भूमिका खेल्नुपर्ने आशय व्यक्त गर्दै उनले भनिन्, ‘जसले विचार, आन्दोलन र एजेन्डा बोक्छ, जो जनताको पक्षमा उभिन्छ, जनमत कुनै न कुनै हिसाबले त्यसैको पक्षमा हुन्छ। त्यसैले अहिले नै आत्तिइहाल्नु पर्दैन।’

parties election 2082