ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
गर्व गर्न लायक काम गर्न कर्मचारीलाई सञ्चारमन्त्रीको निर्देशन
2082 General Results Result

गर्व गर्न लायक काम गर्न कर्मचारीलाई सञ्चारमन्त्रीको निर्देशन

Inquiry Nepal Inquiry Nepal April 19, 2026 at 4:26 PM 64 views
सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले कर्मचारीलाई जिम्मेवारीपूर्वक काम गरी गर्व गर्न लायक नतिजा देखाउन आग्रह गरेका छन्।...

सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले कर्मचारीलाई जिम्मेवारीपूर्वक काम गरी गर्व गर्न लायक नतिजा देखाउन आग्रह गरेका छन्।

जेनजी आन्दोलनपछिको राजनीतिक परिवर्तनलाई कर्मचारी संयन्त्रले पनि बदलिएर साथ दिनुपर्ने समय आएकाले आफूले दिएको सेवा प्रति गर्व गर्न लायक काम गर्न उनले कर्मचारीलाई निर्देशन दिए।

जिल्ला प्रशासन कार्यालयमा आज आयोजित जिल्लाका सरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधिसँगको छलफलमा मन्त्री डा. तिमिल्सिनाले सेवा प्रवाहमा ढिलाइ, गैह्रजिम्मेवारी र बहाना अब सह्य नहुने स्पष्ट पारे।

राजनीतिक परिवर्तनको मर्म बुझ्न आग्रह गर्दै उनले नयाँ सरकार किन बनेको हो भन्नेबारे सबैले आत्मसमीक्षा गर्नुपर्ने भन्दै सरकारी सेवामा सुधार गरेर जनतालाई सहज रुपमा सुशासन दिन कर्मचारीतन्त्र लाग्नुपर्ने बताए।

‘समस्या देखाउन सजिलो हुन्छ। तर, अब हामीले आफैंतिर औंला उठाउनुपर्छ। हामीले काम गर्ने भनेको राजनीतिक लाभका लागि नभई देशको सेवाका लागि हो,’ मन्त्री डा. तिमिल्सिनाले भने।

अहिलेको सरकार पारदर्शिता र जवाफदेहिताको जगमा बनेको उल्लेख गर्दै उनले हरेक नागरिक उत्तिकै जिम्मेवार र जवाफदेही हुनुपर्ने बताए।

‘कसैलाई पनि गैह्रजिम्मेवार हुने छुट छैन। आफूलाई सुम्पिएको काम कि त जिम्मेवार भएर पूरा गर्नुपर्छ, अन्यथा मार्ग प्रशस्त गर्नुपर्छ,’ मन्त्री डा. तिमिल्सिनाले भने।

जिम्मेवारी पूरा नगर्ने कर्मचारीलाई जवाफदेही बनाइने उनले स्पष्ट पारे।

शासन सञ्चालन र सेवा प्रवाहमा प्रविधिको प्रयोग बढाउन निर्देशन दिँदै मन्त्री डा. तिमिल्सिनाले सरकारी कार्यालयले जनतालाई सेवा दिन बसेको हो भन्ने अनुभूति दिलाउनुपर्ने बताए।

‘जनतालाई केन्द्रमा राखेर काम गर्नुको विकल्प छैन, अब सबैले काम गर्नुपर्ने समय आएको छ। विगतको तुलनामा आफूलाई सन्तुष्ट हुने गरेर काम गर्न लाग्नुहोस्’, उनले भने।

सूचनाको मूल्याङ्कन सन्तुलित ढङ्गले गर्नुपर्ने उल्लेख गर्दै मन्त्री डा. तिमिल्सिनाले कुनै पनि सूचना एकाङ्की रूपमा नलिन र भेदभावपूर्ण व्यवहार नगरी खुला रुपमा सेवाग्राहीको काममा खटिन कर्मचारीलाई सुझाव दिए।

संसद्को मुख्य काम कानुन निर्माण भएको उल्लेख गर्दै उनले दशकौं पुराना कानुनका कारण सरकारी सेवा प्रवाहमा भइरहेको अवरोधलाई हटाउन आवश्यक कानुन छिट्टै निर्माणको तयारीमा अहिलेको संसद् र सरकार लागिसकेको जानकारी दिए।

नयाँ कानुन बनाउने र पुराना परिमार्जन गर्ने प्रक्रिया अघि बढिरहेको उनको भनाइ थियो।

मन्त्री डा. तिमिल्सिनाले रोकिएका फाइल तत्काल अघि बढाउन निर्देशन दिँदै ‘शून्य फाइल’ अभियान सफल बनाउन मन्त्रालयदेखि प्रदेश र जिल्ला तहमा रहेका कर्मचारी संयन्त्र सबै सक्रिय भएर लाग्नुपर्नेमा जोड दिए

‘शून्य फाइल’ अभियानलाई नतिजामुखी बनाउन साप्ताहिक, पाक्षिक र मासिक प्रगति सार्वजनिक गर्न उनले सुझाव दिए।

results election 2082