ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
कांग्रेसको किचलो घट्नुको साटो बढ्दै
2082 General Parties

कांग्रेसको किचलो घट्नुको साटो बढ्दै

Inquiry Nepal Inquiry Nepal April 15, 2026 at 7:15 AM 47 views
काठमाडौं । गत फागुन २१ मा सम्पन्न निर्वाचनको परिणामले अकल्पनीय रूपमा खुम्चाइदिँदा पनि नेपाली कांग्रेस सुध्रिनुको साटो ओरालोतर्फको यात्रातिर अघि बढिरहेको छ । पार्टीभित्र विद्रोह गरेर विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका गगन थापाले पार्टीलाई लयमा फर्काउन नसक्दा पार्टीभित्रको किचलो घट्नुको सट्टा झन् बढ्दै गएको छ । यसैबीच, पार्टीले समानान्तर गतिविधिमा सक्रिय रहेको भन्दै पूर्व कार्यवाहक […]

काठमाडौं ।

गत फागुन २१ मा सम्पन्न निर्वाचनको परिणामले अकल्पनीय रूपमा खुम्चाइदिँदा पनि नेपाली कांग्रेस सुध्रिनुको साटो ओरालोतर्फको यात्रातिर अघि बढिरहेको छ । पार्टीभित्र विद्रोह गरेर विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका गगन थापाले पार्टीलाई लयमा फर्काउन नसक्दा पार्टीभित्रको किचलो घट्नुको सट्टा झन् बढ्दै गएको छ ।

यसैबीच, पार्टीले समानान्तर गतिविधिमा सक्रिय रहेको भन्दै पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई कारबाही गर्ने तयारी गरेको छ । खड्काले कार्यवाहक सभापतिकै हैसियतमा दोस्रोपटक पार्टीको लेटरहेड प्रयोग गर्दै वक्तव्य जारी गरेपछि कांग्रेसको केन्द्रीय अनुशासन समिति र केन्द्रीय कार्यसम्पादन समितिले कारबाहीको प्रक्रिया अघि बढाएको हो । बुधबार सानेपामा बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकभन्दा अगाडि नै बस्ने अनुशासन समितिको बैठकले खड्कामाथि कारबाही गर्ने निर्णय गर्नेछ ।

तर, राजनीतिक विश्लेषकहरू भने कारबाहीले मात्र पार्टीको आन्तरिक विग्रहको समाधान नहुने बताउँछन् । उनीहरूका अनुसार कांग्रेसलाई अहिले फुटाउने होइन, जुटाउने बेला भएको छ ।

वरिष्ठ राजनीतिक विश्लेषक डा. सुरेन्द्र खतिवडाले कांग्रेसको मूल समस्या नेतृत्वको द्विविधा र पार्टीभित्रको संरचनागत कमजोरी रहेको टिप्पणी गर्दै भन्नुभयो– ‘कांग्रेसभित्र अहिले दुई तहको समस्या देखिन्छ । एउटा, सभापति गगन थापा र उहाँको टोलीले पार्टीलाई नयाँ दिशा दिन खोज्दै गर्दा पुरानो संरचना र मानसिकताले साथ नदिएको अवस्था छ । अर्को, पूर्णबहादुर खड्काजस्ता नेताहरूले आफूलाई उपेक्षित ठान्दै समानान्तर गतिविधि गरिरहेका छन् । यो पार्टीको विधान र लोकतन्त्र दुवैको लागि खतरा हो ।’
उहाँले पार्टीको नेतृत्व र पुराना पङ्क्तिबीचको विश्वासको खाडल कारबाहीले मात्र पुर्न नसक्ने धारणा राख्दै भन्नुभयो– ‘खड्कालाई कारबाही गर्नु एउटा उपाय हो, तर मूल समस्या नेतृत्वको एकलौटी शैली र पार्टीभित्रको संवादहीनता हो । गगन थापा युवा हुनुहुन्छ, ऊर्जाशील पनि देखिनुहुन्छ तर उहाँ वरिपरिको टोलीले पुरानै पद्धति अपनाएको देखिन्छ । यसले असन्तुष्टि बढाइरहेको छ ।’

अर्का विश्लेषक प्रा. अशोक कोइरालाले कांग्रेसको समस्या संरचनात्मक रूपमा गहिरो रहेको टिप्पणी गर्दै भन्नुभयो– ‘नेपाली कांग्रेस जनताको पुरानो पार्टी हो तर उसले आफूलाई समयअनुसार परिवर्तन गर्न सकेन । संस्थापन पक्ष लचिलो बन्न नसक्दा पार्टी जनताबाट टाढिँदै गएको छ । अहिलेको कारबाहीको तयारीले पार्टीभित्रको असन्तुष्टिलाई थप इन्धनमात्र दिनेछ ।’
कांग्रेस संस्थापन पक्ष लचिलो बन्न नसक्दा पार्टी जनतामाझ अलोकप्रिय बन्दै गएको विज्ञहरूको ठम्याइ छ ।

आन्तरिक विग्रह र गुटबन्दीमा व्यस्त हुँदा कांग्रेसले विकास, सुशासन र जनअपेक्षाका विषयलाई प्राथमिकता दिन नसकेको र जनताका मुद्दामा बोल्न नसकेको राजनीतिक विश्लेषक खगेन्द्र भट्टराईको ठम्याइ छ । उहाँले भन्नुभयो–‘पूर्णबहादुर खड्काले रमेश लेखक पक्राउको मुद्दा उठाउँदै जनअदालतको कुरा गरे, तर त्यो पनि व्यक्तिगत महत्वकांक्षाको पराकाष्ठामात्र देखियो । पार्टीभित्रको विग्रहले साधारण कार्यकर्ता नै निराश बनेका छन् । अहिले कांग्रेस फुटाउने होइन, जुटाउने बेला हो । तर, नेतृत्वले यो बुझ्न सकेको छैन । खड्कामाथि कारबाही गरेपछि उनका पक्षधर थप आक्रोशित हुनेछन् । यसले पार्टीभित्रको चिरा अझ गहिरो बनाउनेछ ।’

अनुशासन समितिका संयोजक तारामान गुरुङले पार्टीको अनुशासन नमान्ने जो कोही कारबाहीको दायरामा पर्ने स्पष्ट पारिसक्नु भएको छ । फौजमा जिम्मेवार व्यक्तिले गल्ती गरेपछि हतियार खोसिने उदाहरण दिँदै उहाँले भन्नुभयो– ‘पार्टीको अनुशासन नमान्ने कोही पनि संरक्षित रहँदैनन् ।’

सभापति गगन थापाले पनि पार्टी कार्यालयबाहिर हुने अनधिकृत गतिविधिको सीमा नाघ्नेलाई नसहिने संकेत गरिसक्नु भएको छ । तर, थापाको यो अडानले समस्या समाधान नहुने विश्लेषकहरूले भनाइ छ । पार्टीमा अनुशासन आवश्यक भएको तर अनुशासन एकतर्फी हुनु नहुनेमा जोड दिँदै प्रा. कोइरालाले भन्नुभयो– ‘पार्टीभित्रको असन्तुष्टिलाई सम्बोधन नगरी कारबाही गर्नु भनेको आगोमा घिउ हाल्नुजस्तै हो । कारबाहीको निर्णयले पार्टीभित्रको विवाद अर्कै मोडमा जान सक्छ । खड्काका समर्थकहरूले थप आक्रामक रूप लिन सक्छन् । साथै पार्टी विभाजनको जोखिम पनि देखिन्छ ।’

वरिष्ठ पत्रकार एवं विश्लेषक हरिहर विरहीले कांग्रेसको इतिहास नै विवाद र विभाजनको रहेको भए तापनि जनताले अहिले पार्टीभित्र एकता खोजिरहेको जिकिर गर्दै भन्नुभयो– ‘कांग्रेस फुट्यो भने उसको विकल्प बलियो बन्दै जानेछ । अहिलेको अवस्थामा कांग्रेसले संवादको बाटो रोज्नुपर्छ । सभापति थापा र पूर्वकार्यवाहक सभापति खड्काबीचको दूरी कम गर्न पार्टीभित्रै मध्यस्थता आवश्यक छ ।’

parties election 2082