ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
एफएनसिसिआई निर्वाचनको नयाँ मिति तय
2082 General Election

एफएनसिसिआई निर्वाचनको नयाँ मिति तय

Inquiry Nepal Inquiry Nepal April 12, 2026 at 11:17 AM 60 views
अदालतको उक्त आदेशपछि महासंघको निर्वाचन समिति र पदाधिकारीहरूबिच छलफल गरी निर्धारित कार्यक्रम स्थगित गरिएको थियो । महासंघले कानुनी प्रक्रियालाई सम्मान गर्दै निर्वाचनलाई पारदर्शी र समावेशी बनाउन आवश्यक पहल गरिने जनाएको छ ।...

स्थगित भएको नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई) को ६०औं वार्षिक साधारणसभा तथा केन्द्रीय कार्यकारिणी समितिको निर्वाचन पुन: नयाँ मिति तय भएको छ । महासंघका पदाधिकारी समितिको बैठकले साधारणसभा तथा निर्वाचन आगामी २०८३ साल वैशाख २१ र २२ गते आयोजना गर्ने निर्णय गरेको हो ।

यसअघि चैत २९ र ३० गतेका लागि तय गरिएको तालिका उच्च अदालत पाटनको अन्तरिम आदेशका कारण अन्तिम समयमा स्थगित भएको थियो ।

महासंघको सदस्यता र मताधिकारसम्बन्धी विवाद अदालतसम्म पुगेपछि उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको थियो । केही वस्तुगत संघहरूले आफूहरूलाई महासंघको सदस्यताबाट बञ्चित गरिएको तथा निर्वाचनमा मताधिकार नदिएको भन्दै अदालतमा रिट दायर गरेका थिए । सोही रिटमाथि सुनुवाइ गर्दै अदालतले विवाद समाधान नहुँदासम्मका लागि निर्वाचन प्रक्रिया अघि नबढाउन अन्तरिम आदेश दिएको थियो ।

अदालतको उक्त आदेशपछि महासंघको निर्वाचन समिति र पदाधिकारीहरूबिच छलफल गरी निर्धारित कार्यक्रम स्थगित गरिएको थियो । महासंघले कानुनी प्रक्रियालाई सम्मान गर्दै निर्वाचनलाई पारदर्शी र समावेशी बनाउन आवश्यक पहल गरिने जनाएको छ ।

महासंघभित्र लामो समयदेखि वस्तुगत संघहरूको प्रतिनिधित्व, सदस्यता मान्यता र मताधिकारका विषयमा विवाद रहँदै आएको छ । केही संघहरूले आफूहरूलाई समान व्यवहार नगरिएको गुनासो गर्दै आएका छन् भने महासंघ नेतृत्वले विधानअनुसार नै प्रक्रिया अघि बढाइएको दाबी गर्दै आएको छ । यही विवाद चर्किंदै जाँदा अन्तत: अदालत हस्तक्षेपको अवस्था सिर्जना भएको हो ।

व्यवसायीहरूको छाता संगठनका रूपमा रहेको महासंघको निर्वाचनलाई निजीक्षेत्रले निकै चासोका साथ हेर्ने गरिएको छ । नेतृत्व चयनसँगै महासंघको भावी नीतिगत दिशा, सरकारसँगको सहकार्य तथा निजीक्षेत्रको हितका सवालमा प्रभाव पर्ने भएकाले पनि यसलाई महत्वपूर्ण मानिन्छ । नयाँ मिति घोषणा भएसँगै महासंघले सबै पक्षबिच सहमति र समन्वय कायम गर्दै विवाद समाधानतर्फ अघि बढ्ने अपेक्षा गरिएको छ ।

election election 2082