ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
४५ वर्षदेखि ‘निर्वाचन सामग्री’ बन्दै छ स्वस्तिक चिह्न
2082 General Commission Update

४५ वर्षदेखि ‘निर्वाचन सामग्री’ बन्दै छ स्वस्तिक चिह्न

Inquiry Nepal Inquiry Nepal March 4, 2026 at 6:34 AM 72 views
<p>काठमाडौं । विभिन्न धार्मिक तथा सांस्कृतिक क्रियाकलापमा ‘शुभकर्म’ जनाउन प्रयोग हुने ‘स्वस्तिक’ नेपालमा ४५ वर्षदेखि मतसंकेत जनाउने छापका रूपमा समेत प्रयोग भइरहेको छ । वैदिक ग्रन्थमा पूर्वीय संस्कृति र हिन्दु धर्मसँग सम्बन्धित मानिने स्वस्तिक चिह्नलाई नेपाल, भारत, श्रीलंकालगायतका देशले निर्वाचन चिह्नको रूपमा प्रयोग गरेसँगै नेपालमा २०३७ सालदेखि प्रयोग भएको निर्वाचन आयोगले जनाएको छ । बिहीबार [&#8230;]</p> <p>The post ४५ वर्षदेखि ‘निर्वाचन सामग्री’ बन्दै छ स्वस्तिक चिह्न appeared first on राजधान...

काठमाडौं । विभिन्न धार्मिक तथा सांस्कृतिक क्रियाकलापमा ‘शुभकर्म’ जनाउन प्रयोग हुने ‘स्वस्तिक’ नेपालमा ४५ वर्षदेखि मतसंकेत जनाउने छापका रूपमा समेत प्रयोग भइरहेको छ । वैदिक ग्रन्थमा पूर्वीय संस्कृति र हिन्दु धर्मसँग सम्बन्धित मानिने स्वस्तिक चिह्नलाई नेपाल, भारत, श्रीलंकालगायतका देशले निर्वाचन चिह्नको रूपमा प्रयोग गरेसँगै नेपालमा २०३७ सालदेखि प्रयोग भएको निर्वाचन आयोगले जनाएको छ ।

बिहीबार (भोलि) हुने प्रतिनिधिसभा निर्वाचनमा पनि नेपाली मतदाताले आफ्नो प्रतिनिधि छान्ने कामलाई आफू र देशको ‘शुभ कर्म’ सम्झेर मतपत्रमा स्वस्तिक चिह्न लगाउने छन् । प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फको रातो मतपत्र र समानुपातिकतर्फको कालो मतपत्रमा निलो स्वस्तिक छाप कोठाभित्र मात्रै पर्ने गरी आफ्नो उम्मेदवारको मत संकेत चिह्नमा लगाएपछि सही मतदान हुने निर्वाचन आयोगले जनाएको छ ।

मतपत्रको रङ निर्वाचनमा फरक फरक हुनेगरी निर्णय फेरबदल भएपनि मत संकेत विधिको विषयमा भने सधैं उही हुने गरेको छ । निर्वा चन आया ेगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार मत संकेत चिह्नका रूपमा स्वस्तिक चिह्नको प्रयोगको सुरुवात २०३७ सालको निर्वाचनदेखि भएको हो । आयोगका प्रवक्ता भट्टराईले त्यसअघिका निर्वाचनमा कहिले उम्मेदवारअनुसारका अलग अलग बाकसमा मत संकेत पत्र खसाल्नेदेखि उभिएर उम्मेदवारका पक्षमा मत जनाउने अभ्याससमेत हुने गरेकोमा २०३७ सालबाट गोप्य मतदान सुरु भएको हो ।

गोप्य मतदानको सुरुवातसँगै स्वस्तिक छापको प्रयोग सुरु भएको आयोगका अभिलेखलाई उद्धृत गर्दै भट्टराईले भने । नेपालमा २००४ सालमा भएको म्युनिसिपालिटी निर्वाचनमा हरेक उम्मेदवारका अलग अलग मतपेटिका (ढ्वाङ) राखेर मत संकलन गरिएको थियो भने त्यसयता २०१८ सम्मको स्थानीय निर्वाचनमा खुल्लारूपमा उम्मेदवारका पक्षमा लाम लागेर मत प्रदर्शन गर्ने विधि थियो ।

२०१८ मा भएको निर्वाचनसम्म हात उठाएर मत संकेत गरिएकोमा गाउँ पञ्चायत २०२० मा ठिक चिह्न लगाउने व्यवस्था थियो । २० वैशाख २०३७ मा भएको जनमत संग्रहमा पहिलो पटक स्वस्तिक चिह्न प्रयोग भएको थियो । त्यसयता आम निर्वाचन, स्थानीय निर्वाचन, संविधानसभा निर्वाचन तथा प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनमा स्वस्तिक चिह्न नै प्रयोग भएको छ ।

पहिलो संसदीय निर्वाचनको रूपमा २०१५ सालमा भएको निर्वाचनमा उम्मेदवार र दलको चुनाव चिह्न भएको मतपेटिका बुथमा राखिने र मतदाताले एउटा कागजको टुक्रालाई मतपत्रको रूपमा बाकसमा खसाल्ने व्यवस्था भएको निर्वाचन इतिहासमा पाइन्छ ।

के हो अर्थ ?
नेपालमा निर्वाचनमा स्वस्तिक चिह्न प्रयोग हुने बेलामा हिन्दु धर्म र शुभकर्मको साझा प्रतीकको रूपमा प्रयोग सुरु भएको हुनसक्ने पूर्वीय संस्कृति तथा ज्योतिष विज्ञानका अध्येताहरू बताउँछन् । स्वस्तिक चिह्नको प्रयोग गरिने भएकाले त्यसलाई प्रायजस्तो शुभकाममा प्रयोग गर्ने भएकाले निर्वाचन चिह्नको रूपमा सबैको शान्ति र समृद्धि होस् भन्ने आशयमा प्रयोग भएको हुनसक्ने ज्योतिषाचार्य नारायण रेग्मीले बताए ।

एसियाका धेरै मुलुकमा स्वस्तिकको प्रयोग मत संकेतमा प्रयोग हुने गरेको बताए । हिन्दु संस्कारअनुसार स्वस्तिक चिह्नलाई गणेशको प्रतीकका रूपमा ऋषि स्थापनामा प्रयोग गरिने गरिएको पनि रेग्मी बताउँछन् । तर पूजाका लागि नवग्रह तथा अन्य जेसुकैको प्रतिकका रूपमा पनि स्वस्तिक चिह्न बनाइने रेग्मीले बताए ।

गणेशको प्रतीक अर्थात् धनधान्यको दैवी संकेतको रूपमा प्रयोग गरिन्छ । शुभकार्यमा बेदीमा ऋषि स्थापना कर्ममा समेत स्वस्तिक आकृति स्थापना गरेपछि शुद्ध, शान्ति तथा समृद्धिको लागि ऊर्जा मिल्ने विश्वास गरिन्छ ।

राजनीतिक प्रयोग
हिन्दु, बौद्ध र जैन धर्मले स्वस्तिकलाई शुभकर्मको साझा प्रतीकको रूपमा प्रयोग गर्ने भए पनि स्वस्तिक चिह्नलाई राजनीतिक तथा प्रशासनिक हिसाबले पनि प्रयोग गरेको इतिहास पाइन्छ । स्वस्तिकको राजनीतिक प्रयोगको सुरुवात जर्मनीमा भएको पाइन्छ । अति राष्ट्रवाद र नेतृत्वको पक्षमा एकताबद्ध हुने सन्देशसहित हिटलरले नाजीवादको प्रवर्धनका लागि स्वस्तिक चिह्न व्यापक प्रयोगमा ल्याएको पाइन्छ ।

नाजीवादको प्रवर्धनमा हिटलरले प्रयोग गरेकै कारण जर्मनीमा हिन्दु सभ्यता र संस्कारमा समेत बेदीमा प्रयोग हुने स्वस्तिकको सट्टा ओमकारको प्रतीक प्रयोग गरिने गरेको पूर्वीय संस्कृतिका अभियन्ताहरू बताउँछन् । नेपाल, भारत, श्रीलंकामा अहिले पनि स्वस्तिकलाई नै मत संकेत विधिका रूपमा प्रयोग गरिने निर्वाचन आयोग सम्बद्ध अधिकारीहरू बताउँछन् ।

पूर्वीय सभ्यता र संस्कृतिमा शुभकर्मको प्रतीक मानिने स्वस्तिकलाई पश्चिमा संस्कृतिमा भने नाजीवाद र नाजी नरसंहारको झल्को दिलाउने संकेतचिह्न भन्दै चलाउन अस्वीकार गर्ने गरेको संस्कृति विश्लेषकहरू बताउँछन् ।

प्रविधि प्रयोगले धेरैजसो देशमा विद्युतीय भोटिङ मेसिन प्रयोगमा भए पनि वैधानिकता र विश्वसनीयताका लागि चिह्न जनाउने मतपत्र प्रयोग गर्ने गरिएको पाइन्छ । बेलायत, क्यानडा, अस्ट्रेलिया, आयरल्यान्डमा क्रस चिह्न प्रयोग गर्ने गरिएको पाइन्छ भने न्यूजील्याण्ड, स्विडेन, नर्वेमा टिक या क्रस प्रयोग गर्ने गरिएको पाइन्छ ।

स्वस्तिक छापको प्रयोग पूजा, यज्ञ, हवन र मन्दिरहरूको भित्तामा राखिन्छ । विवाह, गृह प्रवेश, ब्रतबन्ध, र मुण्डन जस्ता महत्वपूर्ण संस्कारहरूमा समेत स्वस्तिक चिह्न बनाएर पूजा गरिन्छ । व्यापार तथा व्यवसायको शुभारम्भ गर्दा, लक्ष्मी पूजाको समयमा र नयाँ लेजर वा क्यालेन्डरमा समेत यसको प्रयोग गरिने पूर्वीय संस्कृति अभ्यासकर्ताहरू बताउँछन् ।

The post ४५ वर्षदेखि ‘निर्वाचन सामग्री’ बन्दै छ स्वस्तिक चिह्न appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

commission election 2082