ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
संसद् हाँक्ने जिम्मेवारीमा रुबीकुमारी
2082 General Parties

संसद् हाँक्ने जिम्मेवारीमा रुबीकुमारी

Inquiry Nepal Inquiry Nepal April 9, 2026 at 3:24 PM 51 views
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीबाट समानुपातिक सांसद बनेकी २६ वर्षीया रुबीकुमारी ठाकुर उपसभामुख बन्ने निश्चित भएको छ।...

हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीबाट समानुपातिक सांसद बनेकी २६ वर्षीया रुबीकुमारी ठाकुर उपसभामुख बन्ने निश्चित भएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अन्तिम समयमा आएर श्रम संस्कृति पार्टीकी उम्मेदवार ठाकुरलाई समर्थन गरेपछि उनको जित पक्का भएको हो।

प्रतिनिधिसभामा रास्वपाको १८२ र श्रम संस्कृतिको ७ सिट गरी जम्मा १८९ सिट पुग्ने भएकाले दुई तिहाइभन्दा बढी बहुमतसहित ठाकुर उपसभामुख बन्ने पक्का छ। उनी देशकै कान्छी सांसद समेत हुन्।

धनुषाको मझेलियास्थित ठाकुर बस्तीमा जन्मिएकी ठाकुर सामान्य भुइँमान्छेको परिवारबाट आएकी हुन्। हाल उनका बुवा वैदेशिक रोजगारीका लागि साउदी अरबमा छन् भने आमा गृहिणी छिन्।

सिभिल इन्जिनियरिङमा डिप्लोमा सकेर मासिक २० हजार रुपैयाँमा काम गरेकी ठाकुरले आफू यहाँसम्म आइपुग्छु भनेर कहिल्यै नसोचेको बताइन्। आफूलाई यो अवसर दिएको भन्दै उनले पार्टी अध्यक्ष हर्क साम्पाङ भगवानकै रुप भएको सुनाइन्।

राजनीतिमा आउने पूर्वयोजना नभए पनि साम्पाङको आन्दोलनबाट प्रभावित भएर आफू यस क्षेत्रमा होमिएको उनको भनाइ छ। मधेसकी छोरी हुनुको नाताले दाइजो प्रथा र महिलामाथिको हिंसा अन्त्य गर्नु उनको मुख्य एजेन्डा छ।

‘म सिंगै देशलाई दाइजोमुक्त गराउन चाहन्छु,’ ठाकुरले भनेकी छन्। आफूले भोगेका दुःख अब अरूले भोग्न नपरोस् भनेर देशको सेवा गर्ने उनको अठोट छ।

सञ्चारकर्मीले यति सानो उमेरमा पदीय जिम्मेवारी सम्हाल्न सक्नुहुन्छ भन्दै सोधेको प्रश्नमा उनले भनिन्, ‘म सक्छु। जिम्मेवारी सम्हाल्न सक्षम छु।’

नीति नियमका कुरा, कानुन बनाउने कुरा, संवैधानिक पदको विषय जोड्दै प्रतिप्रश्न गर्दा उनले भनिन्, ‘म देशलाई सबैथोक गर्छु, सधैँ साथ दिन्छु।’

संवैधानिक व्यवस्थाअनुसार सभामुख र उपसभामुख फरक दल र फरक लिंगको हुनुपर्छ। सभामुख राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रहेकाले उपसभामुखमा रास्वपाले ठाकुरलाई समर्थन गर्ने निर्णय गरेको हो।

रास्वपाका प्रवक्ता मनिष झाले ठाकुरलाई समर्थन गर्ने जानकारी दिएका छन्। प्रधानमन्त्री तथा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह र श्रम संस्कृतिका अध्यक्ष हर्क साम्पाङबीचको निरन्तर छलफलपछि यो सहमति जुरेको हो।

संसद् हाँक्ने दौडमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सरस्वती लामाको पनि उम्मेदवारी परेको छ। तर, राप्रपा नेताहरूले रास्वपाले अन्तिम समयमा आफूहरूलाई धोका दिएको दाबी गरेका छन्।

राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले रास्वपा सभापति रवि लामिछानेले टेलिफोन गरेर समर्थन गर्ने आश्वासन दिएकै कारण आफूहरूले उम्मेदवारी दिएको दाबी गरेका छन्।

लामिछानेसँगको कुराकानीपछि राप्रपाले सुरुमा आफ्नै सांसदहरू प्रस्तावक र समर्थक राखेर लामाको उम्मेदवारी दर्ता गराएको थियो। तर, राप्रपाले दर्ता गराएको केही बेरमै रास्वपाका महामन्त्री बुर्लाकोटीसहितका नेताहरू उम्मेदवारी दर्तास्थल पुगेर श्रम संस्कृतिकी ठाकुरको पक्षमा उभिएका थिए।

संसद् सचिवालयका अनुसार लामाको समर्थकमा शाही र ठाकुरको समर्थकमा श्रम संस्कृतिका आरेन राई बसेका छन्।

parties election 2082