ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
चुनावपछि घर-जग्गा कारोबार ५२ प्रतिशतले बढ्यो
2082 General Election

चुनावपछि घर-जग्गा कारोबार ५२ प्रतिशतले बढ्यो

Inquiry Nepal Inquiry Nepal April 7, 2026 at 9:56 AM 44 views
जग्गा वर्गीकरण नभएका स्थानीय तहमा कित्ता काटमा कडाइ गरिएको छ। यति हुँदाहुँदै पनि घरजग्गासम्बन्धी कारोबार बढ्नु सुखद् विषय भएको मन्त्रालयका कर्मचारी बताउँछन्।...

प्रतिनिधिसभाको निर्वाचनपछि देशभरि घर-जग्गा कारोबार ह्वात्तै बढेको छ। भूमि व्यवस्थापन विभागका आइटी अधिकृत बलराम काफ्लेका अनुसार गत महिनाको तुलनामा यो महिनाको तेस्रो सातासम्म ह्वात्तै बढेको हो।

गत फागुन १ गतेदेखि २१ लाई यो चैत १ देखि २१ गतेसम्म तुलना गर्दा घर-जग्गा कारोबारमा ५२ प्रतिशतले बढेको छ। ‘फागुन १ देखि २१ गतेसम्म देशभरीका १ सय ३५ मालपोत कार्यालयमा ८० हजार १ सय ७२ वटा घर-जग्गा कारोबार भएको रेकर्ड राखिएको थियो। चैत १ देखि २१ गतेसम्म भने यो संख्या बढेर १ लाख २१ हजार ९ सय ८५ वटा पुगेको छ’, उनले भने।

घरजग्गा कारोबार बढेसँगै सम्बन्धित व्यवसायी पनि उत्साहित भएका छन्। सरकारको राजस्व पनि बढेको छ। विभागका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउनमा कारोबार निकै निराशाजनक थियो। भदौमा केही सुधार देखिए पनि असोज र कात्तिकमा सुधार हुन सकेन। भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका अनुसार जेन-जी आन्दोलनका क्रममा २२ वटा मालपोत तथा १४ वटा नापी कार्यालयमा आगजानी तथा तोडफोड भएको थियो।

जसमध्ये पाँच वटा मालपोत कार्यालय पूर्ण र १७ वटा आशिंक रूपमा क्षति भएका थिए। आगजानी भएका नापी कार्यालयमध्ये आठ वटा पूर्ण रूपमा र ६ वटा आशिंक रूपमा क्षति भएका थिए। आगजनी तथा तोडफोडबाट क्षति भएका सबै मालपोत तथा नापी कार्यालयहरू यतिबेला सञ्चालनमा आइसकेको भूमि व्यवस्था, गरिबी तथा सहकारी मन्त्रालयले जनाएको छ।

केही दिनदेखि सरकारले मालपोत तथा नापी कार्यालयहरूमा बिचौलिया शून्य गर्ने भन्दै केही ठाउँमा लेखापढी व्यवसायीलाई पक्राउ गर्न थालेको छ। सरकारको यस्तो व्यवहारको लेखापढी व्यवसायीहरूले विरोध गरेका छन्। यसबाट फस्टाउँदै गएको घर-जग्गा कारोबार सुस्ताउने हो कि ? भन्ने चिन्ता विभागका कर्मचारीले गरेका छन्।

जग्गा वर्गीकरण नभएका स्थानीय तहमा कित्ता काटमा कडाइ गरिएको छ। यति हुँदाहुँदै पनि घरजग्गासम्बन्धी कारोबार बढ्नु सुखद् विषय भएको मन्त्रालयका कर्मचारी बताउँछन्।

विभागका अनुसार समग्रमा अहिले देशमा महिला जग्गाधानीको संख्या ४४ लाख ८३ हजार पाँच सय ३१ छ। यो भनेको ३९ प्रतिशत हो। सहरी क्षेत्रमा भने महिला जग्गाधनीको प्रतिशत ५० प्रतिशत हाराहारीमा पुगेको छ। तथ्यांकअनुसार आर्थिक वर्ष २०८०/८१ मा पुरुष र महिलाका नाममा जग्गासम्बन्धी कारोबार करिब-करिब बराबर भएको देखिन्छ। आव २०८०/८१ मा जग्गा कारोबारमा जोडिएका महिलाको संख्या चार लाख दुई सय ४१ र पुरुषको संख्या चार लाख तीन हजार चार सय ५१ पुगेको थियो।

देशभरि हाल तीन करोड २८ लाख ४७ हजार ६३२ कित्ता जग्गा छन्। जसमध्ये पुरुषका नाममा दुई करोड २० लाख २४ हजार १७० र महिलाका नाममा ९७ लाख ६१ हजार सात सय ९५ कित्ता छन्।

election election 2082