ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
दोषी जो भए पनि पक्राउ पर्नुपर्छ, सभामुखले प्रतिपक्षलाई बढी समय दिनुपर्छ: हर्क
2082 General Parties

दोषी जो भए पनि पक्राउ पर्नुपर्छ, सभामुखले प्रतिपक्षलाई बढी समय दिनुपर्छ: हर्क

Inquiry Nepal Inquiry Nepal April 5, 2026 at 3:09 PM 38 views
श्रम संकृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सांसद हर्क सामपाङले देशमा विद्यमान बेथिति अन्त्य गर्न दोषी जो भए पनि कानुनको दायरामा आउनुपर्ने बताएका छन्।...

श्रम संकृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सांसद हर्क साम्पाङले देशमा विद्यमान बेथिति अन्त्य गर्न दोषी जो भए पनि कानुनको दायरामा ल्याउनुपर्ने बताएका छन्।

आइतबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले विगतमा दोषीलाई जोगाउने प्रवृत्ति हाबी भएको कारण देशको अवस्था बिग्रिएको सुनाए।

कुनै पनि प्रकरणमा निर्दोष व्यक्ति फस्न नहुने र दोषी उम्कन नहुनेमा उनले जोड दिए। अनुसन्धान र कारबाहीको प्रक्रियामा सरकारले चालेका कदमलाई समर्थन गर्दै उनले अपराधमा संलग्न जो कोहीलाई पक्राउ गर्नुपर्ने बताए।

यसैगरि, विगतका सभामुखहरू आफ्नो पार्टीको घेराबाट माथि उठ्न नसकेको टिप्पणी गर्दै उनले नवनिर्वाचित सभामुख डोल प्रसाद अर्याल निष्पक्ष हुने आशा व्यक्त गरे। यसपटकको जनादेश विगतको भन्दा फरक र नयाँ खालको रहेकाले सदन सञ्चालनको शैली पनि निष्पक्ष हुने उनको विश्वास छ।

सभामुख दलगत स्वार्थ त्यागेर सदनको साझा अभिभावक बन्नुपर्नेमा उनले जोड दिए। ‘सभामुखले साना वा ठूला दल नभनी सबैलाई समान न्याय गर्नुपर्छ। सत्तापक्ष भन्दा अझ बढी समय र महत्त्व प्रतिपक्षलाई प्रदान गरिनुपर्छ,’ उनले भने।

आफूहरू सदनमा रचनात्मक प्रतिपक्षको भूमिकामा रहने उनले स्पष्ट पारे। सरकारले जनपक्षीय र राम्रा काम गर्दा ताली बजाएर साथ दिने तर बाटो बिराउन खोजे ‘चेक एन्ड ब्यालेन्स’ को भूमिका निर्वाह गर्ने उनले सुनाए।

प्रतिपक्ष बिनाको संसद् नहुने र विपक्षी दल केवल ‘यस म्यान’ मात्र बनेर नबस्ने उनको भनाइ छ। प्रश्न र आलोचना बिना सरकारलाई सही बाटोमा हिँडाउन नसकिने उनको भनाइ छ।

यसैगरी, सभामुख चयनको विषयलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग आफ्नो कुनै छलफल नभएको उनले खुलाए।

संसद् भवन परिसरमा प्रधानमन्त्री बालेन शाहसँग भएको भेटवार्ताबारे सोधिएको प्रश्नमा उनले सामान्य चिनजान र कुराकानी मात्र भएको बताएका छन्।

फुर्सदको समयमा कुराकानी गर्नका लागि दुवै जनाबीच सम्पर्क नम्बर साटासाट भएको उनले जानकारी दिए। सञ्चारकर्मीले ‘बालेन शाहसँग एकतर्फी माया हो कि’ भनी सोधेको प्रश्नलाई उनले हाँसोमा उडाउँदै नेपाली नेपालीबीच सधैं आपसी प्रेम र सद्भाव रहने बताए।

parties election 2082