ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
चुनावी तयारी अन्तिम चरणमा: सुरक्षा सतर्कता कडा, अस्पतालमा र्‍यापिड रेस्पोन्स टिम
2082 General Election

चुनावी तयारी अन्तिम चरणमा: सुरक्षा सतर्कता कडा, अस्पतालमा र्‍यापिड रेस्पोन्स टिम

Inquiry Nepal Inquiry Nepal March 3, 2026 at 8:13 PM 54 views
निर्वाचनलाई भयरहित बनाउन सुरक्षा निकायहरूले देशभर उच्च सतर्कता अपनाएका छन्।

आगामी बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ। मौन अवधि सुरु भएसँगै सुरक्षा सतर्कता उच्च बनाइएको छ भने स्वास्थ्य सेवातर्फ पनि विशेष तयारी गरिएको छ।

अस्पतालमा ‘र्‍यापिड रेस्पोन्स टिम’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका अस्पताललाई ‘हाई–अलर्ट’ मा रहन निर्देशन दिएको छ। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार ७७ प्रादेशिक र २६ संघीय अस्पतालमा विशेषज्ञ चिकित्सकसहित ‘र्‍यापिड रेस्पोन्स टिम’ गठन गरिएको छ, जसले निर्वाचनका दिन हुन सक्ने दुर्घटना वा आकस्मिक स्वास्थ्य समस्या सम्हाल्नेछ।

यस पटक स्वास्थ्यकर्मीको अभावका कारण मतदान केन्द्रमै ‘हेल्थ डेस्क’ राखिने छैन। देशभर झन्डै २३ हजार मतदान केन्द्र रहे पनि स्वास्थ्यकर्मीको संख्या २०–२२ हजार मात्र रहेकाले सबैलाई केन्द्रमा खटाउँदा अस्पताल सेवा प्रभावित हुने भन्दै नजिकका स्वास्थ्य संस्थालाई ब्याकअपका रूपमा तयारी अवस्थामा राखिएको छ। निर्वाचनको दिन सार्वजनिक बिदा भए पनि अस्पतालहरूलाई ओपिडी सेवा वा आकस्मिक कक्षमार्फत सेवा निरन्तर दिन आग्रह गरिएको छ।

आचारसंहितामा कडाइ

निर्वाचन आयोगले मतदान स्थलमा जान अवरोध गर्ने वा बाटो छेक्ने व्यक्तिलाई २५ हजार रुपैयाँसम्म जरिबाना गरिने चेतावनी दिएको छ। एक व्यक्तिले एक पटकभन्दा बढी मतदान गरेमा पनि सोही बराबरको जरिबाना लाग्नेछ।

सोमबार राति १२ बजेदेखि ‘मौन अवधि’ सुरु भइसकेको छ। यस अवधिमा सभा, सम्मेलन, अन्तरक्रिया तथा कुनै पनि माध्यमबाट प्रचार–प्रसार गर्न पूर्ण निषेध गरिएको छ। सञ्चार माध्यमहरूलाई दल वा उम्मेदवारको पक्ष–विपक्षमा समाचार सम्प्रेषण नगर्न निर्देशन दिइएको छ भने सामाजिक सञ्जाल (फेसबुक, टिकटक, एक्स आदि) बाट मत माग्नसमेत रोक लगाइएको छ।

मतदान केन्द्रको ३०० मिटर वरिपरि रहेका चुनावी सामग्री हटाउन निर्देशन दिइएको छ। निर्वाचन आचारसंहिता, २०८२ बमोजिम कर्मचारी र सुरक्षाकर्मीलाई निष्पक्ष रहनुपर्ने व्यवस्था गरिएको छ। आयोगको अनुमति बिना सार्वजनिक पद धारण गरेका व्यक्तिलाई विदेश भ्रमणमा जान रोक लगाइएको छ। सरकारी भवन, सवारी साधन वा अतिथि गृह चुनावी प्रयोजनमा प्रयोग गर्न नपाइने व्यवस्था कडाइका साथ लागू गरिएको छ।

सुरक्षा व्यवस्था कडा

निर्वाचनलाई भयरहित बनाउन सुरक्षा निकायहरूले देशभर उच्च सतर्कता अपनाएका छन्। केही स्थानमा भएका सानातिना घटनालाई सुरक्षाकर्मीले समयमै नियन्त्रणमा लिएका छन्। नेपाल–भारत सीमा नाका मतदान हुनु ७२ घण्टा अघिदेखि बन्द गरिएको छ। मदिरा बिक्री र सेवनमा पूर्ण प्रतिबन्ध लगाइएको छ।

सुरक्षा व्यवस्थाका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको छ। बुधबार मध्यरातदेखि मतदान नसकिएसम्म अत्यावश्यक सेवाबाहेकका सवारी साधन सञ्चालनमा रोक लाग्नेछ।

मतदाता गाउँ फर्कने लहर

काठमाडौंका गोंगबु (नयाँ बसपार्क), कोटेश्वर र कलंकीलगायत क्षेत्रमा घर फर्कने यात्रुको भीड बढेको छ। ट्राफिक प्रहरीका अनुसार पछिल्लो केही दिनमा करिब तीन लाखभन्दा बढी मानिसले उपत्यका छाडेका छन्।

मतदाता परिचयपत्र नभएकाहरूले नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, जग्गाधनी प्रमाण पुर्जा वा सवारी चालक अनुमति पत्रमध्ये कुनै एक कागजात देखाएर मतदान गर्न सक्ने व्यवस्था गरिएको छ।

‘जेनजी आन्दोलन’पछि हुन लागेको यो निर्वाचनलाई संवेदनशील रूपमा हेरिएको छ। निर्वाचन आयोगले आचारसंहिता कार्यान्वयनको सूक्ष्म अनुगमन गर्न अनुगमन अधिकृतहरूलाई विशेष निर्देशन दिएको छ।

election election 2082