ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
संसदमा म एक्लो पूर्वप्रधानमन्त्री: दाहाल
2082 General Parties

संसदमा म एक्लो पूर्वप्रधानमन्त्री: दाहाल

Inquiry Nepal Inquiry Nepal March 31, 2026 at 6:52 PM 41 views
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नयाँ प्रतिनिधि सभामा आफू मात्रै पूर्वप्रधानमन्त्रीको हैसियतमा उपस्थित रहेको बताएका छन्।...

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नयाँ प्रतिनिधि सभामा आफू मात्रै पूर्वप्रधानमन्त्रीको हैसियतमा उपस्थित रहेको बताएका छन्।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संसदको यस विशेष परिस्थितिलाई आफूले चुनौती र अवसर दुवैको रूपमा लिएको सुनाए।

‘बडो विशेष स्थिति पनि बन्यो। पूर्वप्रधानमन्त्रीहरूमध्ये म मात्रै अहिले वैधानिक रूपले प्रतिनिधि सभामा उपस्थित छु,’ संयोजक प्रचण्डले भने, ‘यो आफैंमा एउटा चुनौती पनि हो र अवसर पनि हो भन्ने मलाई लागेको छ।’

जनयुद्ध, जनआन्दोलन र शान्ति सम्झौताका उपलब्धिहरूको रक्षा तथा परिमार्जन गर्न यो उपस्थितिलाई भरपुर उपयोग गर्ने उनले सुनाए।

हालै सम्पन्न निर्वाचनमा आफ्नो पार्टीले कम सिट जिते पनि समग्रमा आफ्नै राजनीतिक एजेन्डा स्थापित भएको उनले दाबी गरे।

निर्वाचनबाट जसले धेरै सिट जिते पनि वा जुनसुकै पार्टीबाट महिला र उत्पीडित समुदायका प्रतिनिधिहरू निर्वाचित भए पनि त्यो आफ्नै आन्दोलन र तपस्याको फल भएको उनले बताए।

‘जुन पार्टीले धेरै सिट वा थोरै सिट ल्याए पनि हामीलाई र आन्दोलनको एउटा प्रमुख नेताको हैसियतले मलाई गर्व लाग्छ,’ दाहालले भने, ‘ती हाम्रै बलिदान, हाम्रो त्याग र तपस्याको कारणले सम्भव भएको हो।’

संविधानसभाबाट गणतन्त्र निर्माण र देशका सबै उत्पीडित वर्ग, जाति, क्षेत्र तथा समुदायको पहिचान स्थापित गराउन जनयुद्ध र आफ्नो पार्टीको मुख्य भूमिका रहेको उनले स्मरण गराए।

‘सरकारले राम्रो गरोस्, धेरै सिट ल्याएर आएका प्रतिनिधिहरू छन्, उनीहरूले राम्रो गरुन्। हाम्रो शुभकामना छ,’ दाहाले भनेका छन्, ‘जहाँ राम्रो गरिन्छ, हाम्रो सहयोग हुन्छ। कमी देखेपछि हाम्रो आलोचना हुन्छ। हामी रचनात्मक र सिर्जनात्मक ढंगले अगाडि बढ्न चाहन्छौं।’

उनले संसदभित्र प्रतिपक्षको रचनात्मक भूमिका निर्वाह गर्दै आफ्ना मुद्दाहरूमा निरन्तर लडिरहने बताए।

parties election 2082