काठमाडौं । प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित सांसदहरूले बिहीबार शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलबाट बुधबार ज्येष्ठ संसद् सदस्यको हैसियतमा शपथग्रहण गरेका अर्जुननरसिंह केसीले नवनिर्वाचित सांसदलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । उनीहरूले सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद्को बहुउद्देश्यीय हलमा शपथ लिएका छन् । प्रतिनिधिसभामा ज्येष्ठ सदस्यको भूमिकाका रहेका केसीले संसद् सचिवालयसँगको समन्वयमा आह्वान गरेको बैठकमा शपथग्रहण गराइएको हो ।
पहिचानदेखि प्रतिज्ञा झल्काउँदै सांसद शपथ
संघीय संसद् सचिवालयले व्यवस्थापन गरेको संसद् बैठकमा शपथग्रहणसँगै अब सांसदहरू औपचारिकरूपमा संसद् सदस्यको जिम्मेवारीमा बहाल भएका छन् । उनीहरू मौलिक पहिचान झल्कने पोसाकसहित संसद् भवन पुग्दा नेपालको बहुजातीय, बहुभाषिक तथा बहुधार्मिक पहिचान तथा विविधता झल्किएको देखिन्थ्यो । विभिन्न पार्टीका शीर्षनेता तथा युवा नेताले आफ्नै शैलीमा संसद् भवन पुग्ने, हल प्रवेशदेखि शपथको ब्यहोरामा समेत विविधता र आफ्नो पहिचान झल्काएका छन् ।
रास्वपामा स्वतन्त्रता, शाहको सांकेतिक सन्तुलन
राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा)ले आफ्ना सांसदलाई पोसाक तथा प्रस्तुति र शपथको ब्यहोरामा आङ्खनै शैली, संस्कार तथा दृष्टिकोणअनुसार स्वतन्त्र छाडेको थियो । सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले दौरासुरुवाल र कोट लगाएका थिए भने शाहले लिम्बुवानको पहिचानको रूपमा सिलाम साक्मा लगाएका थिए । रास्वपाबाट निर्वाचित गोरखा–१ का सुदन गुरुङले गुरुङ पहिचानको पोसाक लगाएका थिए भने धादिङबाट निर्वाचित आशिका तामाङले जातीय पहिचानको तामाङ पोसाक लगाएकी थिइन् ।
झापाबाट निर्वाचित निशा डाँगीले ढाकाको चौबन्दी लगाएकी थिइन् । वरिष्ठ नेता शाहले नियमित कालो पोसाकको सट्टा खैरो दौरा लगाएका थिए भने समानुपातिकमा छुटेको लिम्बुवानलाई समेत सम्बोधन हुनेगरी सिलाम साक्मा लगाएका थिए । ललितपुरबाट निर्वाचित जगदीश खरेलले नेवा संस्कृति झल्कने पोसाक लगाएका थिए ।
पूर्व मिस नेपाल अनुष्का श्रेष्ठ, काठमाडौंबाट निर्वाचित विराजभक्त श्रेष्ठले नेवा पोसाक लगाएका थिए । सिराहाबाट निर्वाचित बब्लु गुप्तालगायत मधेशी र थारु समुदायका सांसदहरूले पनि जातीय पहिचानसहितका पोसाक लगाएर संसद् भवन पुगेका थिए ।
रास्वपाबाटै सांसद भएका विश्व कीर्तिमानी पर्वतारोही मिङ्मा ग्याबु शेर्पाले मौलिक शेर्पा पोसाक लगाएका थिए । जेनजी आन्दोलनको भाव समेट्ने र भोलिका लागि नवयुवा पुस्ताको लागि लड्ने बताउँदै सामुदायिक विद्यालयका विद्यार्थीको पोसाकमा पुगेर रास्वपा सांसद रहवर अन्सारीले शपथ लिएका थिए ।
हिन्दुत्वको पहिचानमा
राप्रपा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले हिन्दु धर्मको पक्षधरताको अडान शपथ समारोहमै झल्कनेगरी पोसाक तथा शपथग्रहण गरेका छन् । राप्रपा सांसदले शपथअघि पशुपतिनाथ मन्दिर पुगेर हिन्दु धर्मसंस्कार अनुसारको विशेष पूजाअर्चना गरेका थिए भने धार्मिक राष्ट्रका रूपमा रूपान्तरण संकल्प गरेका थिए । राप्रपा सांसद खुश्बु ओलीले गीतामा हात राखेर संस्कृतमा शपथग्रहण गरेकी थिइन् ।
राप्रपा सांसदहरू पुरुषले दौरा सुरुवाल र महिलाले चौबन्दी चोलो र सारीमा शपथ समारोहमा सहभागी भएका थिए । राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीसहित सांसद खुश्बु ओली, भरत गिरी र सरस्वती लामाले बिहीबार बिहान पशुपतिनाथ दर्शन गरेका हुन् । दर्शनपछि नेता शाहीले आफूहरू कुनै पनि गलत काम नगर्ने अठोटका साथ भगवान् पशुपतिनाथसँग प्रार्थना गर्न आएको बताए । राप्रपा संसदीय दलका नेता शाहीले भने शपथको ब्यहोरामा नै ‘बरु नष्ट हुन्छु भ्रष्ट हुन्न’ भन्ने वाक्य लेखेर हस्ताक्षर गरेका छन् ।
रवि सरासर, सुदनको सन्तुलित सत्कार
संसद् भवनमा शपथग्रहणको समय चन्दै गर्दा वरिष्ठ नेता बालेन्द्र शाहको पर्खाइका कारण १५ मिनेट शपथग्रहण ढिलो भएको थियो । बिहीबार शपथग्रहण समारोहमा पुग्नै संसद् भवनभित्र क्यामेराम्यान तथा शुभेच्छुकको भीड छिचोलेर अघि बढ्न गाह्रो भएको देखिन्थ्यो । निर्धारित समयभन्दा ढिलो पुगेका बालेन्द्र्र सरासर आफ्नो स्थान पुगेका थिए ।
सभापति रवि लामिछाने पनि सभाहल प्रवेश गरेसँगै ढोकाकै छेउमा रहेका तीन दलका शीर्ष नेताहरूलाई देखेको नदेखे गरी आफ्ना पार्टीका सांसदहरू भएको बेन्च पुगेका थिए । ढोकाबाट भित्र पस्नासाथ रहेको बेन्चमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, नेपाली कांग्रेसका नेताहरू, श्रम संस्कृति पार्टीका हर्कराज राईलगायतका नेताहरू थिए ।
शपथ नै पुस्तान्तरणको सांकेतिक तस्बिर
प्रतिनिधिसभा शपथग्रहण समारोह नै राजनीतिमा बिहीबार पुस्तान्तरणको सांकेतिक तस्बिरको रूपमा देखिएको छ । ज्येष्ठ संसद् सदस्यका रूपमा ७८ वर्षीय अर्जुननरसिंह केसीले शपथग्रहण गराएका थिए भने २५ देखि ३५ वर्ष उमेर समूहका नाति पुस्ताको बाहुल्यता रहेका सांसदहरूले शपथ लिएका थिए । २०४३ सालमा राष्ट्रिय पञ्चायत सदस्यको रूपमा जनप्रतिनिधि बनेका केसी २०४६ सालमा बहुदलीय प्रजातन्त्र पुनःस्थापना भएपछि कांग्रेसमा लागेर निरन्तर शक्तिको प्रभावमा रहेका छन् ।
राजनीतिमा १० वर्षलाई दुई कार्यकालको अभ्यासका रूपमा हेर्दा ४० वर्षमा ४ पुस्ताले पार गरेको राजनीति केसीले कांग्रेसमा पार गरेका छन् । योसँगै २०४६ पछिको राजनीतिक परिवर्तनको पुस्तान्तरण समारोह जस्तै देखिएको टिप्पणी भएको छ । ४० वर्षभन्दा कम उमेरका ९५ सांसद भएको यो संसद् पुस्तान्तरणको प्रतीकको रूपमा हेरिएको छ ।
२७५ सदस्यीय प्रतिनिधिसभामा ३० वर्षमुनिका २२ जना सांसद निर्वाचित भएका छन् भने ३० देखि ४० वर्षभित्रका ७३ जना संसद् प्रवेश गरेका छन् । त्यस्तै, ४० देखि ५० वर्ष उमेर समूहका ८९ जना, ५० देखि ६० वर्ष समूहभित्रका ५९ जना व्यक्तिहरू निर्वाचित भएर संसद् प्रवेश गरेका छन् । ६० वर्षमाथिका जम्मा ३२ जनाले मात्रै बिहीबार सांसदका रूपमा शपथ लिएका छन् ।
गणतन्त्रपछिका शक्तिशाली दल एउटै लाइनमा सीमित
प्रतिनिधिसभामा नवनिर्वाचित सांसदहरूको बसाइको अवस्थाले जेनजी आन्दोलनपछिको राजनीतिक परिवर्तनलाई एउटै ब्लकमा थन्क्याएको देखिएको छ । आन्दोलनपछि भएको निर्वाचनले २०६२–०६३ को आन्दोलनपछि शक्तिमा रहेका तीनवटा दललाई एउटै लाइनमा सीमित हुने अवस्था निर्माण भएको हो ।
अघिल्लो चुनावसम्म बलियो हैसियतका साथ उपस्थित हुने ती दलहरू सत्ताका लागि कहिले कांग्रेस एमाले, कहिले कांग्रेस–माओवादी र कहिले बाम गठबन्धनका नाममा सत्ता गठबन्धनको अभ्यास गरेका थिए । यसरी सत्ता गठबन्धनको अभ्यास गरेका दलहरूलाई रास्वपाले निर्वाचनमार्फत साना दलको लहरमा पु¥याएको हो । शपथका लागि तयार पारिएको हलमा पाँचवटा लाइनमा सांसदहरूलाई राखिएको थियो ।
जसमा झन्डै दुईतिहाइ बहुमत ल्याएको रास्वपाका सांसदहरू तीनवटा लाइनमा बसे भने कांग्रेस, एमाले, नेकपा जस्ता दल राप्रपा र भर्खरै संसद् छिरेको श्रम संस्कृति पार्टीसँग मिसिएर दुई लाइनमा सीमित भएका थिए । राजनीतिक हैसियत साँघुरिएका नेताहरू रास्वपाबाट निर्वाचित युवा सांसदहरूको हल प्रवेश र उनीहरूको उत्साहका अगाडि खिन्नताले भरिएको अनुहारका साथ शपथ लिएको दृश्य नेपालको संसदीय राजनीतिमा बेग्लै पहिचान बनाउने देखिएको थियो ।
The post साना दलको लहरमा कांग्रेस, एमाले र नेकपा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....