काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निलम्बन गरेको छ। राखेपको निर्देशनविपरित निर्वाचन गर्न लागेको भन्दै एन्फाको कार्यसमिति निलम्बन गरेको हो।
‘राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २९ को उपदफा (२) बमोजिम तीन महिना सम्मका लागि निलम्बन गर्ने कार्यकारी समितिको मिति २०८२।१२।११ को निर्णयानुसार उल्लिखित समयावधी सम्मका लागि निलम्बन गरिएको’ राखेपले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
यसअघि राखेपले एन्फालाई २४ घण्टे स्पष्टीकरण समेत सोधेको थियो। उक्त स्पष्टीकरण चित्तबुझ्दो नभएको राखेपको भनाई छ। विद्यमान खेलकुद विकास ऐन र नियमावलीमा भएको व्यवस्था बमोजिम निर्वाचन सम्बन्धी कार्य गर्न स्वीकृति नभएको अवस्थामा गैह्र कानूनी रुपमा निर्वाचन सम्बन्धी प्रकृया अगाडी बढाएको राखेपको दाबी छ।
‘राष्ट्रिय खेलकुद परिषदबाट स्विकृत विधानको परिधि भित्र रही विधानले तोकेका प्रावधान एवम् कानुन बमोजिम प्राप्त दायित्व र जिम्मेवारीलाई अक्षरशः परिपालना गर्नुपर्ने संस्थाले आफूलाई स्वायत्त संस्थाको रुपमा परिभाषित गरी परिषदबाट माग गरे बमोजिम चित बुझ्दो जवाफ प्राप्त भएको अवस्था विद्यमान नरहेको देखिन्छ’ राखेपले भनेको छ।
राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ (दोस्रो संशोधन) को नियम १० को उपनियम (१) को खण्ड (छ १) अनुसारको कार्य समेत भए गरेको नदेखिएको हुँदा राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २९ को उपदफा (२) बमोजिम तीन महिना सम्मका लागि निलम्बन गर्ने कार्यकारी समितिको मिति २०८२।१२।११ को निर्णयानुसार उल्लिखित समयावधी सम्मका लागि निलम्बन गरिएको विज्ञप्तिमा जनाइएको छ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको सचिवालय बन्द गरेर एन्फा यही चैत १३ गतेका लागि चुनावमा होमिएको छ। राखेपले तहगत निर्वाचन गरेर मात्र केन्द्रीय समितिको निर्वाचन गर्न दिएको निर्देशन बेवास्ता गर्दै एन्फा निर्वाचनमा जुटेको हो।
The post निर्देशनविपरित निर्वाचन गर्न लागेको भन्दै राखेपद्वारा एन्फा निलम्बित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....