ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
प्रधानमन्त्री कार्कीका दुःखः चुनावअघि ४ मन्त्रीले छाडे, हस्तान्तरणअघि ६ मन्त्रीको बिदा
2082 General Election Update

प्रधानमन्त्री कार्कीका दुःखः चुनावअघि ४ मन्त्रीले छाडे, हस्तान्तरणअघि ६ मन्त्रीको बिदा

Inquiry Nepal Inquiry Nepal March 25, 2026 at 10:36 AM 87 views
<p>काठमाडौं । नयाँ जनादेशअनुसार सरकार गठनको दिन नजिकिएसँगै अन्तरिम सरकारसँगै निजामति प्रशासन सुनसान बनेको छ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको १५ सदस्यीय मन्त्रिपरिषद्मा मंगलबारबाट चार मन्त्रीमात्र सक्रिय हैसियतका छन् । गत २१ फागुनको निर्वाचनअगावै चार मन्त्रीले राजीनामा दिएकामा मंगलबारबाट कानुन व्यवसायी पृष्ठभूमिका दुई मन्त्री ओमप्रकाश अर्याल र कुमार इङनाम, पूर्वन्यायाधीश अनिलकुमार सिन्हा र पूर्वरथि बालानन्द [&#8230;]</p> <p>The post प्रधानमन्त्री कार्कीका दुःखः चुनावअघि ४ मन्त्री...

काठमाडौं । नयाँ जनादेशअनुसार सरकार गठनको दिन नजिकिएसँगै अन्तरिम सरकारसँगै निजामति प्रशासन सुनसान बनेको छ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको १५ सदस्यीय मन्त्रिपरिषद्मा मंगलबारबाट चार मन्त्रीमात्र सक्रिय हैसियतका छन् । गत २१ फागुनको निर्वाचनअगावै चार मन्त्रीले राजीनामा दिएकामा मंगलबारबाट कानुन व्यवसायी पृष्ठभूमिका दुई मन्त्री ओमप्रकाश अर्याल र कुमार इङनाम, पूर्वन्यायाधीश अनिलकुमार सिन्हा र पूर्वरथि बालानन्द शर्मामात्र मन्त्रालयको नियमित काममा छन् ।

सधै ं भीडभाड हुने सिंहदरबारभित्रका सबै मन्त्रालय सुनसान छन् । कर्मचारीबाहेक मन्त्रालयमा सेवाग्राहीसमेतको भीड छैन । मन्त्रिपरिषद्को गत १ चैतको बैठकदेखि नै प्रधानमन्त्री कार्कीलाई आफ्नै मन्त्रिपरिषद् सदस्यले धमाधम छाडेका हुन् ।

नयाँ सरकारलाई गौरवसाथ जिम्मेवारी हस्तान्तरण गर्नेबेला मन्त्रीहरू स्वतः निष्क्रिय बन्दै छन् । प्रधानमन्त्री कार्कीले गत १ चैतको मन्त्रिपरिषद् बैठकमा गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा तथा आफ्ना प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा नियुक्ति सिफारिस गरेकी थिइन् । यी निर्णय बाहिरिए पनि अन्य केही निर्णय गुपचुप राखिएको एक मन्त्रीले राजधानीलाई बताए ।

अन्तिम मन्त्रिपरिषद् बैठकबाट असन्तुष्ट भएपछि अर्थमन्त्री रामेश्वर खनाल घुमाउरो पारामा आफू ‘कुलिङ पिरियड’मा गएको लेखेर पश्चिम नेपालको भ्रमणमा छन् । प्रधानमन्त्री कार्कीले ‘विश्वास पात्र’लाई नै विज्ञताका आधारमा मन्त्री बनाए पनि आफ्नै नेतृत्वको क्याबिनेटमा मन्त्रीका प्रस्ताव र चाहनाबाट उनी असन्तुष्ट भएकी थिइन् ।

सहरी विकासमन्त्री नियुक्त कुमार इङ्नामका प्रस्ताव र कार्यशैलीका कारण प्रधानमन्त्रीले असहज मानिरहेकी थिइन् भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाको कार्यशैलीले पनि कार्कीलाई विवादमा तानिरहेको थियो । सहरी विकासमन्त्री इङ्नाम त मन्त्रालयका कर्मचारी, ठेकेदार र अर्थमन्त्रीसमेतलाई विवादमा तान्नेगरी अन्तर्वार्ता दिएर चर्चामा आएका छन् ।

अर्थ मन्त्रालयले रोकेको बजेट पनि कर्मचारी र ठेकेदारको मिलेमतोमा २ देखि ५ प्रतिशतको चलखेलमा फुकुवा हुने गरेको भन्दै सरकारको कार्यशैलीलाई चर्को विवादमा पार्ने अभिव्यक्ति दिएका छन् । निर्वाचन सम्पन्न गराउने कार्यभार लिएर सरकार सम्हालेकी कार्कीले अन्तिम समयमा आफ्ना तीन मन्त्रीमात्रै सारथिका रूपमा पाउने भएकी छन् । गृहमन्त्री अर्यालको नाम राष्ट्रिय सभा सदस्यका लागि सिफारिस हुनुअघिसम्म अर्थमन्त्री रामेश्वर खनालले पनि अन्तिम समयसम्म साथ दिने संकेत मिलेको थियो ।

तर, मन्त्रिपरिषद्ले अर्यालको नाम सिफारिस गरेपछि ‘अब सरकारको जिम्मेवारी सकियो’ भन्दै खनाल कूटनीतिक राहदानी बुझाएर बिदा भएका हुन् । प्रधानमन्त्री कार्कीलाई अन्तिमसम्म साथ दिनेमा गृहमन्त्री अर्याल, उद्योगमन्त्री अनिल सिन्हा र परराष्ट्रमन्त्री बालानन्द शर्मामात्रै हुने भएका छन् । कृषि तथा पशुपक्षी विकासमन्त्री मदन परियार र वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईं पनि मन्त्रिपरिषद् बैठककै विषयले असन्तुष्ट भएको चर्चा छ । वनमन्त्री चौलागाईंले आफ्नो अध्यक्षतामा राष्ट्रिय प्रकृति संरक्षण कोषको बैठक बसेर सदस्य सचिव नियुक्तिको चाहना प्रधानमन्त्री कार्कीसँग अनौपचारिक रूपमा राखेका थिए । कोषको सचिवालय रहेको सदर चिडियाखाना ललितपुर जावलाखेलमा निवास व्यवस्थापन भएका मन्त्री चौलागाईंले सदस्यसचिव नियुक्तिमा संवाद गरेको थाहा पाएपछि प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिवले प्रधानमन्त्री कार्कीको ध्यानाकर्षण गराएअनुसार नै मन्त्रिपरिषद्ले श्रेष्ठलाई कोषको अध्यक्ष नियुक्त गरेको थियो ।

त्यसयता वनमन्त्री चौलागाईं मन्त्रालय खासै नगएको उनीनिकट स्रोतले बताएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारी भने आफ्नो अनुकूल निर्णय महान्यायाधिवक्ताबाट भएपछि सोमबार बल्ल मन्त्रालय पुगेका थिए । झन्डै एक साता मन्त्रालय नगएका भण्डारी ‘फेक रेस्क्यु प्रकरण’मा आफूसँग जोडिएका हेलिकोप्टर व्यवसायी माउन्टेन हेलिकोप्टर्सका पूर्वमहाप्रबन्धकलाई सीआईबीको अनुसन्धानबाट हटाउन दौडधुपमा लागेको आरोप लागेको छ ।

सीआईबीलाई दबाब दिएर आरोपित सूचीबाट सिंहलाई हटाउन सफल भएपछि सोमबार मन्त्रालय पुगेको आरोप लाग्दै आएको छ । सरकारका कानुनी सल्लाहकार एवं महान्यायाधिवक्ता सविता भण्डारीमार्फत सरकारी वकिल कार्यालयमा सीआईबीको प्रतिवेदन एक साता रोकेर आइतबारात्रै अभियोजन गरेपछि मन्त्री भण्डारीले सिंहलाई जोगाएको आरोप लागिरहेको छ । मन्त्री भण्डारीकै दबाबमा महान्यायाधिवक्ताको सक्रियताले आइतबार उनीविरुद्ध मुद्दा नचल्ने निर्णय भएपछि पक्राउ परेका ११ जनामध्ये सिंह छुटेका छन् ।

प्रहरीले सिंहसहित ३३ जनाविरुद्ध संगठित अपराध, आपराधिक लाभ तथा लिखतसम्बन्धी र राष्ट्रहितविरुद्धको चार अपराधमा अनुसन्धान गरेकोमा महान्यायाधिवक्ताको निर्णयले मन्त्री भण्डारीको आडमा सिंहले छुट पाएका थिए । श्रममन्त्री भण्डारीले भने निर्वाचन गराइसकेपछि आफूहरूको काम नभएकाले बाहिर घुमघाममा भएकाले नियमित कार्यालय नभएको बताए ।

गत बिहीबार मन्त्रालयबाट बाहिरिएका सहरी विकासमन्त्री इङ्नामले भने बिदाइ कार्यक्रममा कर्मचारीहरूलाई व्यंग्य गर्दै ‘तपाईंहरू सफल, म असफल’ भन्दै कर्मचारी र ठेकेदारको असन्तुष्टिले आफ्नो मन्त्रालयमा कामै गर्न नसकेको संकेत गरेका थिए । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले पनि सोमबार बिदा लिइसकेकी छन् । मन्त्री भएपछिका सय एक दिनका उपलब्धि भन्दै विभिन्न कार्यक्रमका सूची सार्वजनिक गर्दै बाहिरिएकी श्रेष्ठसमेत अन्तिम समयसम्म प्रधानमन्त्री कार्कीलाई साथ दिन नसक्नुले मौन दबाब महसुस गरेको बुझिएको छ ।

अन्तिम मन्त्रिपरिषद् बैठकमा अलिक माहौल सहज नभएको मन्त्रीले निकटस्थलाई बताएका छन् । केही थोरै व्यक्तिले मात्रै निर्वाचन गराउन सफल भएको ‘जस लिए जसरी पछिल्ला दिन सुरक्षित हुनेगरी मेसो मिलाएको’ चर्चा छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतम पनि आइतबारदेखि नै बिदा भएकी छन् । आइतबार मन्त्रालयका सबै कर्मचारीलाई ‘धन्यवाद’ दिएकी गौतमले पनि स्वास्थ्य बिमालगायतका विषयमा अर्थमन्त्री खनाल र मन्त्रालय टिमसँग असन्तुष्ट भएर काम गर्न नसकेको गुनासो पोखेकी थिइन् ।

१४ सदस्यीय मन्त्रीमण्डल बनाएकी कार्कीका चार मन्त्रीले राजीनामा दिएर निर्वाचनमा होमिएका थिए, जसमध्ये तीनजनाले जितेका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन स्वतन्त्र उम्मेदवार बनेर म्याग्दीबाट निर्वाचित भएका छन् भने सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल ललितपुर क्षेत्र नम्बर–२ र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता सिराहा क्षेत्र नम्बर–१ बाट निर्वाचित भएका छन् ।

उनीहरू दुवै रास्वपाबाट निर्वाचित भएका हुन् भने रास्वपासँगको एकता दुई साता पनि नटिक्दै विभाजनको बाटोमा पुगेका ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङ भने काठमाडौं क्षेत्र नम्बर–३ बाट रास्वपा उम्मेदवारसँग पराजित भएका थिए ।

The post प्रधानमन्त्री कार्कीका दुःखः चुनावअघि ४ मन्त्रीले छाडे, हस्तान्तरणअघि ६ मन्त्रीको बिदा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

election election 2082