ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
नेपालको पहिलो आमनिर्वाचनबारे अनुपमको पुस्तक सार्वजनिक
2082 General Election

नेपालको पहिलो आमनिर्वाचनबारे अनुपमको पुस्तक सार्वजनिक

Inquiry Nepal Inquiry Nepal March 3, 2026 at 4:15 PM 49 views
नेपालमा पहिलो पटक भएको आम निर्वाचनबारे पत्रकार विराट अनुपमको पुस्तक प्रकासित भएको छ।

नेपालमा पहिलो पटक भएको आमनिर्वाचनको विषयमा पत्रकार विराट अनुपमले लेखेको पुस्तक ‘पहिलो आमनिर्वाचन २०१५’ सार्वजनिक भएको छ।

मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमबीच उक्त पुस्तक विमोचन भएको हो।

कार्यक्रममा प्रकाशक संस्था बुकहिलका सञ्चालक भूपेन्द्र खड्का, प्राध्यापक डा. जगत नेपाल, पत्रकार योगेश ढकाल र लेखक अनुपमले पुस्तकका विविध पक्षबारे आफ्ना धारणा राखे।

२८७ पृष्ठ लामो यस पुस्तकले वि.सं. २०१५ फागुन ७ गतेदेखि सुरु भएको नेपालको पहिलो संसदीय निर्वाचनको विस्तृत नालीबेली समेटेको छ।

पुस्तकमा तत्कालीन १०९ वटै निर्वाचन क्षेत्रका उम्मेदवार, तिनले प्राप्त गरेको मत परिणाम, छ वटा राजनीतिक दलका घोषणापत्रको पूर्णपाठ तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिक्रिया समावेश गरिएकाे छ।

यसका साथै, तत्कालीन मतदाता, उम्मेदवार, पत्रकार र बुथ प्रतिनिधिसँगका अन्तर्वार्तामार्फत त्यस बेलाको ‘जीवित इतिहास’ प्रस्तुत गर्ने प्रयास गरिएको लेखक अनुपमले बताएका छन्।

पुस्तकमा राजा महेन्द्र र तत्कालीन प्रधानमन्त्री बीपी कोइरालाबीचको अविश्वासलाई देखाउने विभिन्न ऐतिहासिक प्रसंग समेटिएका छन्।

पुस्तकको भूमिकामा डा. नेपालले तत्कालीन राजनीतिक अविश्वास र तनावको चर्चा गर्दै बीपी कोइराला आफूविरुद्ध हुन सक्ने सम्भावित कदमको त्रासमा रहेको उल्लेख गरेका छन्।

लेखक अनुपमले प्रतिस्पर्धा, चुनावी मुद्दा, उम्मेदवारको पृष्ठभूमि र चुनाव चिह्नका हिसाबले पहिलो संसदीय निर्वाचन आजको भन्दा कमजोर नरहेको दाबी गरेका छन्। उनले भने, ‘त्यस बेला पनि संसद्‌मा अपेक्षाकृत युवा सांसदहरूको उल्लेखनीय उपस्थिति रहेको प्रस्ट हुन्छ।’

election election 2082