ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
निगमको कमजोरीले कतै ग्यास फालाफाल, कतै अभाव
2082 General Parties

निगमको कमजोरीले कतै ग्यास फालाफाल, कतै अभाव

Inquiry Nepal Inquiry Nepal March 24, 2026 at 7:12 AM 40 views
काठमाडौं । नेपाल आयल निगमको कमजोरीका कारण बजारमा खाना पकाउने एलपी ग्यासको अभाव देखिएको उद्योगी व्यवसायीहरूले गुनासो गरेका छन् । व्यवसायीहरूका अनुसार निगमको वितरण व्यवस्थापन र उपभोक्ताको व्यवहारले समस्या भएको छ । नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दले निगमद्वारा समानुपातिक, न्यायिक एवम् वैज्ञानिक तरिकाले ग्यास आपूर्तिको व्यवस्था नगर्दा बजारमा समस्या भएको बताउनुभयो । […]

काठमाडौं ।

नेपाल आयल निगमको कमजोरीका कारण बजारमा खाना पकाउने एलपी ग्यासको अभाव देखिएको उद्योगी व्यवसायीहरूले गुनासो गरेका छन् । व्यवसायीहरूका अनुसार निगमको वितरण व्यवस्थापन र उपभोक्ताको व्यवहारले समस्या भएको छ ।

नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दले निगमद्वारा समानुपातिक, न्यायिक एवम् वैज्ञानिक तरिकाले ग्यास आपूर्तिको व्यवस्था नगर्दा बजारमा समस्या भएको बताउनुभयो । नेपाल समाचारपत्रसँग कुरा गर्दै चन्दले भन्नुभयो– ‘निगमले उद्योगहरूलाई ग्यासको कोटा समानुपातिक रूपमा उपलब्ध गराएको छैन ।

अव्यावहारिक ढंगबाट कोटा निर्धारण गर्दा कुनै उद्योगमा ग्यास फालाफाल छ भने कुनै उद्योगमा अभाव देखिएको छ । निगमले उपलब्ध गराएको कोटाका आधारमा नेपाली ग्यास उद्योगहरूले भारतका रिफाइनरी केन्द्रहरूबाट ग्यास प्राप्त गर्छन् ।

अहिलेको असहज अवस्थामा सबैलाई समान कोटा वितरण गर्नुपर्नेमा कसैलाई धेरै त कसैलाई थोरै कोटा दिइँदै आएको छ, संकट व्यवस्थापन गर्न निगम चुकिरहेको छ ।’

उहाँका अनुसार एकातिर आयात पनि कम भइरहेको छ, सामान्य अवस्थामा दैनिक करिब सयवटा बुलेटमा ग्यास आयात हुँदै आएको थियो । तर, अहिले ७० वटाको हाराहारीमा मात्रै आयात हुँदै आएको छ । बजारमा माग उच्च र आपूर्ति कम भइरहेका बेला र निगमले उद्योगहरूलाई काखापाखा गर्दै गर्दा समस्या भएको चन्दको गुनासो छ । बजारमा अभाव देखिनुको अर्को कारण उपभोक्ताले ग्यास सञ्चित गर्ने प्रवृत्ति र वितरण प्रणालीमा भएको कमजोरीले अभाव देखिएको उहाँले बताउनुभयो ।

उपत्यकामा देशको कुल खपतको झन्डै आधा ग्यास प्रयोग हुने भएकाले यहाँ समस्या बढी देखिएको चन्दको भनाइ छ । काठमाडौंमा ग्यास अभाव बढी छ । तर, तराई क्षेत्रमा भने तुलनात्मक रूपमा सहज रहेको उहाँले बताउनुभयो ।

चन्दका अनुसार नेपालमा हाल करिब १ करोड ५० लाख ग्यास सिलिन्डर रहेको अनुमान गरिएको छ । तीमध्ये करिब १ करोड सिलिन्डरमात्र नियमित प्रयोगमा रहेको र बाँकी ठूलो हिस्सा घरघरमै थन्किएर बसेको उहाँले बताउनुभयो । भारतका केही रिफाइनरी केन्द्रहरू मर्मतका कारण अस्थायी रूपमा बन्द हुँदा आपूर्तिमा अवरोध देखिएको छ । सँगै ढुवानीका लागि प्रयोग हुने बुलेट ट्यांकरहरूको सीमित संख्या र भारत–नेपालबीचको ढुवानी चक्रले पनि आपूर्ति व्यवस्थापनमा चुनौती थपेको छ ।

एकपटक ग्यास ल्याएर फर्किएपछि ग्यास ल्याउन एक सातासम्म लाग्ने भएकाले निरन्तर आपूर्ति कायम गर्न कठिन हुने गरेको उद्योगीहरू बताउँछन् ।

बजारलाई सन्तुलनमा ल्याउन सरकारले हाल १४.२ किलोको सट्टा ७.१ किलोका आधा सिलिन्डर वितरण गर्ने निर्देशन दिएको छ । यसले सीमित ग्यास बढी उपभोक्तासम्म पु¥याउन सहयोग भए पनि आधा सिलिन्डर वितरण गर्दा आफूहरूको लागत दोब्बर बढेको उद्योगीको गुनासो छ । ढुवानी, श्रम र सञ्चालन खर्च दोब्बर बढेको भन्दै यस्तो अवस्थालाई धेरै दिनसम्म आफूहरूले धान्न नसक्ने उद्योगीहरूले सरकारलाई जानकारी गराइसकेको चन्दले बताउनुभयो ।

पश्चिम एसियामा जारी द्वन्द्वका कारण भारतमै पनि ग्यास अभाव हुँदै गएको उद्योगीहरू बताउँछन् । भारतले एक महिनाका लागि ग्यास र दुई महिनाका लागि क्रुड आयल मौज्दात रहेको जानकारी पाएको चन्दले बताउनुभयो । ‘भारतले एक महिनालाई धान्न सक्ला तर नेपालका उद्योगहरूले एक दुई दिन पनि धान्न सक्ने अवस्था छैन । अहिले नेपालमा सञ्चालनमा रहेका ५९ वटा उद्योगको समग्र ग्यास भण्डार क्षमता १५ हजार मेट्रिक टनको हाराहारीमा मात्र छ’ – चन्दले भन्नुभयो ।

parties election 2082