काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष निर्वाचन आयोग नेपालले गत फागनु २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को प्रतिवेदन पेश गरेको छ ।
राष्ट्रपति पौडेल समक्ष राष्ट्रपति भवन शितलनिवासमा बिहीबार आयोजित कार्यक्रममा आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले सो प्रतिवेदन पेश गरेका हुन् ।
सो अवसरमा राष्ट्रपति पौडेलले कठिन र जटिल परिस्थितिमा पनि मन, वचन र कर्मले अहोरात्र लागीपरी निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा खुशी प्रकट गरे । उनले निर्वाचन सफलतापूर्वक सम्पन्न गराएकोमा निर्वाचन आयोग, राष्ट्रसेवक कर्मचारीसहित सम्बद्ध सबै पक्षलाई धन्यवाद व्यक्त गरे ।
आयोगले आजै मात्र समानुपातिक सांसद निर्वाचित भएको प्रमाणपत्र वितरण गरेको थियो । फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दुईतिहाइनजिक पुगेको छ । रास्वपाले प्रत्यक्ष र समानुपातिक गरी कुल १८२ सिट जितेको छ । दोस्रो बनेको नेपाली कांग्रेसले ३८ सिट जितेको छ ।
नेकपा (एमाले) २५ सिटमा खुम्चिएको छ । चौथो बनेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) १७ सदस्यीय भएको छ । श्रम संस्कृति पार्टी सात सदस्यीय सांसदसहित उदाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका ५ सांसद छन् ।
आयोगले निर्वाचन परिणाम बुझाएसँगै नयाँ सरकार गठनको बाटो खुलेको छ । अब सरकार गठनको प्रक्रिया सुरु हुने जनाइएको छ । आयोगले प्रतिवेदन बुझाएसँगै नयाँ सरकार गठनका लागि बाटो खुलेको छ । रास्वपाले स्पष्ट बहुमत ल्याइसकेको अवस्थामा अब राष्ट्रपतिले रास्वपा संसदीय दलका नेतालाई प्रधानमन्त्री नियुक्त गर्न सक्नेछन् ।
रास्वपाले संसदीय दलको नेता चयन गरेर औपचारिक जानकारी राष्ट्रपति कार्यालयलाई पठाएलगत्तै उनलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नेछन् । नेपालको संविधानको धारा ७६ (१) बमोजिम गठन हुने नेतृत्वको सरकारले संघीय संसदमा विश्वासको मत लिइरहनु पर्दैन ।
The post प्रतिनिधिसभा निर्वाचनको प्रतिवेदन राष्ट्रपतिलाई बुझाइयो appeared first on RONB post.