ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
नयाँ दलमा पुरानै रोग, मन्त्रीको कुर्सीका लागि रास्वपामा दौडधुप
2082 General Parties

नयाँ दलमा पुरानै रोग, मन्त्रीको कुर्सीका लागि रास्वपामा दौडधुप

Inquiry Nepal Inquiry Nepal March 19, 2026 at 7:02 AM 49 views
काठमाडौं । नयाँ राजनीतिक विकल्पका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रै मन्त्री पदका लागि सुरु भएको तीव्र दौडधुपले पार्टीको ‘नयाँपन’माथि नै प्रश्न उठ्न थालेको छ । सरकार गठनको तयारी तीव्र भइरहेका बेला रास्वपाका दर्जनौं सांसदहरू मन्त्री बन्ने होडमा खुलेआम लबिङमा लागेपछि पार्टीभित्र असन्तुष्टि र गुटबन्दीको संकेत देखिएको छ । प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ […]

काठमाडौं ।

नयाँ राजनीतिक विकल्पका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रै मन्त्री पदका लागि सुरु भएको तीव्र दौडधुपले पार्टीको ‘नयाँपन’माथि नै प्रश्न उठ्न थालेको छ । सरकार गठनको तयारी तीव्र भइरहेका बेला रास्वपाका दर्जनौं सांसदहरू मन्त्री बन्ने होडमा खुलेआम लबिङमा लागेपछि पार्टीभित्र असन्तुष्टि र गुटबन्दीको संकेत देखिएको छ ।

प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ गरी कुल १८२ सांसद निर्वाचित भएको रास्वपामा अहिले ‘को मन्त्री बन्ने’ भन्ने प्रतिस्पर्धा चर्किएको छ । उच्च तहका नेतासँग भेटघाट, आन्तरिक दबाब र मिडिया प्रयोगमार्फत आफूलाई अघि सार्ने प्रयास तीव्र बन्दै गएको स्रोत बताउँछ । विश्लेषकहरू भन्छन्– ‘रास्वपाले पुराना दलको विकल्प दिने दाबी गरे पनि व्यवहारमा भने उसका अधिकांश सांसदहरूमा पुरानै दलकै जस्तो ‘मन्त्री मोह’ देखिन थालेको छ ।’

यही प्रवृत्तिले पार्टीभित्रै असन्तुलन ल्याउन थालेपछि सभापति रवि लामिछाने बुधबार सांसद अभिमुखीकरण कार्यक्रमको समापन मन्तव्यमै कडा असन्तुष्टि जनाउनुभयो । लामिछानेले स्पष्ट शब्दमा भन्नुभयो– ‘मन्त्री बन्नकै लागि मिडिया ट्रायल गर्ने, नाम चलाउने र दबाब सिर्जना गर्ने काम तुरुन्त बन्द हुनुपर्छ ।

’ लामिछानेले कसलाई मन्त्री बनाउने भन्ने कुनै औपचारिक निर्णय नभएको अवस्थामा सञ्चारमाध्यममा नाम उछाल्नु ‘पुराना दलकै शैली’ भएको भन्दै कडा आलोचना गर्नुभयो । ‘रास्वपाका १८२ सांसदको क्षमता पार्टीलाई थाहा छ, दौडधुप गरेर मन्त्री पाइँदैन, त्यसैले अहिले नै त्यस्तो खेल र सटर बन्द गर्नुस्’ – लामिछानेले आफ्ना सबै सांसदहरूलाई निर्देशन दिँदै भन्नुभयो ।

रास्वपा स्रोतका अनुसार, पार्टीभित्र ‘रवि–क्याम्प’ र ‘बालेन–क्याम्प’ को चर्चा सुरु भइसकेको छ । मन्त्री छनोटमा दुवै पक्षका व्यक्तिलाई समेट्ने गरी ‘कित्ताकाट’ हुने सम्भावना रहेको बताइन्छ । अर्कोतर्फ, पार्टीको वाचापत्रमा बाहिरबाट विज्ञ ल्याउने प्रतिबद्धता रहे पनि अहिले अधिकांश सांसद भने ‘हामी नै योग्य’ भन्ने दबाबमा देखिन्छन् । यसले पार्टीभित्र दुई धार स्पष्ट बनाएको छ– बाहिरका विज्ञ ल्याउने पक्ष र निर्वाचित सांसद नै मन्त्री बन्नुपर्छ भन्ने

अर्को पक्ष ।

दुई पक्षबीचमा समेत बेमेल हुन सक्ने स्रोतको दाबी छ । मन्त्री छनोटको अधिकार कसको भन्ने विषयमा शीर्ष नेतृत्वमै मतभेद देखिन थालेको स्रोतको दाबी छ । बालेन पक्षले बालेन प्रधानमन्त्री भएपछि आफ्नो टिम आफैं छान्न पाउनुपर्छ भन्ने अडान राख्न सक्ने देखिन्छ भने रवि तथा मूल नेतृत्व भने सूची पार्टीले तय गर्नुपर्छ भन्ने पक्षमा छ । यो विवाद समाधान नभए मन्त्री छनोट नै ठूलो राजनीतिक संघर्ष बन्न सक्ने आँकलन गरिएको छ ।

रास्वपाले चुनावमा दिएको ‘स्वच्छ राजनीति’ को नारा अहिले आफ्नै व्यवहारले चुनौतीमा परेको देखिन्छ । मन्त्री बन्ने लबिङ, मिडिया ट्रायल र गुटबन्दीको संकेतले पार्टीको विश्वसनीयतामाथि प्रश्न उठ्न थालेको छ । रास्वपा पुराना दलको बाटो समात्छ कि साँच्चिकै नयाँ मापदण्ड स्थापित गर्छ भन्नेबारेको प्रश्नको जवाफ रास्वपाले कसरी दिन्छ त्यो भने मन्त्री छनोटपछि नै थाहा हुने विश्लेषण गरिएको छ ।

१८२ आकांक्षी, १८ मात्रै मन्त्री !
भावी प्रधानमन्त्रीका रूपमा अगाडि बढिरहनुभएका बालेन्द्र शाह (बालेन) ले मन्त्रालय संख्या घटाएर अधिकतम १८ मा सीमित गर्ने योजना बनाउनुभएको बताइन्छ । हालको २१ मन्त्रालय घटाउने तयारीले ‘मन्त्रीको कुर्सी’ झन् सीमित हुने निश्चित छ । यसका कारण १८२ सांसदमध्ये १८ जनामात्रै मन्त्री बन्नेछन् भने राज्यमन्त्री कसैलाई पनि नबनाउने रणनीति अख्तियार गरिएको जनाइएको छ । त्यसैले गर्दा पनि मन्त्री छनोटलगत्तै बाँकी ठूलो समूह असन्तुष्ट हुने सम्भावना बढेको छ ।



रास्वपाका १८२ सांसदको क्षमता पार्टीलाई थाहा छ, दौडधुप गरेर मन्त्री पाइँदैन, गुटबन्दी गरेर मन्त्री पाइँदैन त्यसैले अहिले नै त्यस्तो खेल र सटर बन्द गर्नुस् ।
रवि लामिछाने
सभापति रास्वपा

parties election 2082