काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले एउटा रणनीति बनायो– चुपचाप घण्टीमा छाप । रास्वपाको यो रणनीतिसँगै ‘घण्टी चिन्ह र बालेन’ ब्रान्डिङले दुईतिहाइ नजिकको जीत निकाल्न सफल भयो । नयाँ संविधान जारी भएपछि पहिलोपटक संविधानको धारा ७६ को उपधारा १ अनुसार सरकार बनाउने गृहकार्यमा रहेको रास्वपाले सरकार सञ्चालनका लागि पनि चुनावकै जस्तो नारा र रणनीति तय गरेको छ ।
रास्वपाले वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को नेतृत्वमा सरकार गठन भएपछि ‘चुपचाप बालेनलाई साथ’को नारासहित सरकार सञ्चालन प्रक्रिया अघि बढाउने भएको छ । रास्वपाको यही रणनीतिअनुसार प्रधानमन्त्रीको शपथग्रहणअघिबाटै पार्टीले भावी प्रधानमन्त्रीलाई ‘रियल र भर्चुअल’ दुवै स्थानबाट चुपचाप राख्दै आएको छ । रास्वपा उच्च स्रोतका अनुसार यो नीतिले सरकारका काममा सांसद, मन्त्री र पार्टी सदस्यले सहयोग गर्ने, सरकारले गरेका नराम्रा काम सरकार र पार्टी संयन्त्रभित्र राखेर समाधानको पहल गर्ने जस्ता विषय छन् ।
यो नीतिको विस्तृत खाका पार्टीको नीति अनुसन्धान विभागले अन्तिम रूप दिएपछि पूर्ण कार्यान्वयनमा ल्याउने रास्वपाको योजना छ । चुनावी रणनीति बनाउँदादेखि नै काठमाडौंको एक होटलमा बसेर कार्यकर्ता र नेतासँग भेटघाट गरिरहेका बालेन्द्र निर्वाचन परिणाम आइसक्दा पनि सोही होटलबाटै आगामी राण्नीति बनाउने र भेटघाट गर्नमै व्यस्त छन् ।
रास्वपा उच्च स्रोतका अनुसार शपथग्रहणअघि कुनै पनि खुल्ला कार्यक्रममा बोल्न नलगाउने र शपथग्रहणपछि मात्र सम्बोधन गर्न लगाउने रणनीतिअनुसार बालेन चुपचाप छन् । निर्वाचनसम्मुखमा बृहत् एकता सहमतिमार्फत भावी प्रधानमन्त्रीका रूपमा प्रस्ताव गरिएका बालेनले झापा क्षेत्र नम्बर ५ मा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भारी मतान्तरले हराए ।
तर चुनाव जितेपछि उनी मतदातालाई धन्यवाद दिन निर्वाचन क्षेत्र पुगेका छैनन् भने सामाजिक सञ्जालबाट समेत उनले मतदातालाई धन्यवाद दिएका छैनन् । ‘उहाँ विगतमा पनि हल्ला कम, काम बढी गर्ने नेता हो, प्रधानमन्त्रीका रूपमा पनि उहाँले गफ र कुराभन्दा बढी कामले देखाउने हो,’ बालेनको सचिवालयका एक सहयोगीले राजधानीसँग भने ।
उनका अनुसार बालेनकै सुझाव, सल्लाह र चाहनामा प्रधानमन्त्रीका रूपमा शपथग्रहण नगरेसम्म सार्वजनिक भाषण र अन्तर्वार्ता नदिने रास्वपाको रणनीति रहेको छ । यो रणनीति विषयमा रास्वपाले उच्च तहका नेताबाहेकलाई औपचारिक रूपमा जानकारी दिएको छैन । बालेनलाई राज्यसत्तामा समेत ‘ब्रान्डिङ’ गर्ने रणनीतिअनुसार अघि बढेको रास्वपाले प्रतिनिधिसभा सदस्य जितेका पार्टीका सांसदहरूको अभिमुखीकरण कार्यक्रममा समेत बालेनलाई उपस्थित गराएन ।
उद्घाटन कार्यक्रममा वरिष्ठ नेता बालेन र समापनमा अध्यक्ष रवि लामिछानेले सम्बोधन गर्ने भनिए पनि मंगलबार राजधानीमा सुरु भएको अभिमुखीकरण कार्यक्रममा बालेन उपस्थित भएनन् । ललितपुरको ग्वार्कोस्थित एक होटलमा कार्यक्रम भइरहँदा बालेन काठमाडौंको एउटा होटलमै बसेर निकटस्थहरूसँग भेटघाट गरिरहेका थिए ।
भोलि राष्ट्रपतिलाई निर्वाचन परिणाम
निर्वाचन आयोगले २१ फागुनमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणामसहितको प्रतिवेदन बिहीबार राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाउने भएको छ । निर्वाचन आयोगका अनुसार बुधबार सार्वजनिक बिदा भएका कारण बिहीबार मात्र राष्ट्रपतिलाई निर्वाचनको अन्तिम परिणाम हस्तान्तरण गर्न लागिएको हो । राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार बिहीबार दिउँसो ४ बजे आयोगको प्रतिवेदन राष्ट्रपतिले बुझ्ने कार्यतालिकासमेत तय भइसकेको छ ।
शाक्यका अनुसार गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रियसभा सदस्यमा नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय पनि मंगलबार राष्ट्रपति कार्यालयमा दर्ता भएको छ । उनले राष्ट्रपतिको कार्यालयले सरकारको पत्र पाएर प्रक्रियामा गइसकेको बताउँदै सिफारिस’bout राष्ट्रपतिले चाँडै निर्णय गर्ने बताए ।
शपथबिनै वरिष्ठ नेता
प्रधानमन्त्रीका रूपमा शपथग्रहणको तयारी गरेका रास्वपा वरिष्ठ नेता बालेनले पद तथा गोपनीयताको शपथग्रहण नै गरेनन् । निर्वाचनअघि पार्टीले उनलाई वरिष्ठ नेताका रूपमा चयन गरेको थियो । वरिष्ठ नेता चयन भएपछि एकपटक रास्वपा केन्द्रीय कार्यालय पुगेर उनका लागि छुट्याइएको कोठामा एकछिन बसे पनि उनले वरिष्ठ नेताका हैसियतमा र रास्वपाको सदस्यका हैसियतमा समेत शपथग्रहण गरेका छैनन् ।
बालेनका निकटस्थका अनुसार पार्टी कार्यालयमा पुगेर पदभार ग्रहण नै गरिसकेका कारण अब शपथग्रहणको सन्दर्भ सकिएको छ । तर रास्वपाका नेताहरू भने बालेनले पनि अन्य पार्टी सदस्यले जस्तै पद तथा गोपनीयताको शपथग्रहण गर्नुपर्ने माग गरिरहेका छन् ।
शुक्रबारबाट सरकार गठन प्रक्रिया सुरु
निर्वाचन आयोगले बिहीबार अपराह्न प्रतिनिधिसभा सदस्यको अन्तिम निर्वाचन परिणाम प्रतिवेदन बुझाएलगत्तै राष्ट्रपति रामचन्द्र पौडेलले सरकार गठनको प्रक्रिया थाल्नेछन् । आयोगले प्रतिवेदन बुझाएको भोलिपल्ट शनिबार पर्ने भएकाले सम्भवतः आइतबारमात्र संविधानको धारा ७६ को उपधारा १ अनुसार राष्ट्रपतिले सरकार गठनको आह्वान गर्नेछन् ।
बढीमा सात दिनको समय दिएर सरकार गठनको आह्वान गर्ने राष्ट्रपतिको तयारी छ । संविधान बनेपछि पहिलोपटक सरकार गठनमा धारा ७६ को उपधारा १ को प्रयोग हुने भएको हो । यो उपधारामा ‘राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमतप्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्रीमा नियुक्त गर्नेछ र निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठन हुनेछ’ उल्लेख छ । राष्ट्रपति कार्यालयका अनुसार रास्वपाले संसदीय दलको नेता चयन नगरेसम्म राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने सम्भावना कम छ ।
सर कार गठनका लागि समय दिएर आह्वान गर्ने कि रास्वपाले संसदीय दलको नेता चयन भएको जानकारी गराएपछि स्वतः उसले जानकारी गराएको संसदीय दलको नेतालाई प्रधानमन्त्रीमा नियुक्त गर्ने भन्ने विषयमा भने राष्ट्रपति परामर्शमा छन् । पहिलोपटक यो धाराको प्रयोग हुन लागेकाले विगतमा जस्तो निश्चित समय दिएर दाबी गर्न भन्ने कि सोझै नियुक्त गर्ने भन्ने विषय टुंगो लागिनसकेको राष्ट्रपति कार्यालयको भनाइ छ । रास्वपाले समेत बालेन्द्रलाई संसदीय दलको नेता बनाउन विधान संशोधन गर्नुपर्ने छ ।
रास्वपाले पार्टी सभापतिले संसदीय दलको नेता चयनसम्ब धारा निलम्बन गरेर पछि बस्ने बैठकबाट अनुमोदन गराउने कि पार्टीको बैठक बसेर विधान संशोधन गर्ने भन्ने निर्णय लिइसकेको छैन । संसदीय दलको नेता चयनमा विलम्ब नभएमा राष्ट्रपति आइतबार र ढिलोमा सोमबारसम्ममा प्रधानमन्त्री नियुक्त गर्ने तयारीमा छन् । तर रास्वपाका नेता शिशिर खनाल भने प्रधानमन्त्री नियुक्त हुन आगामी सोमबार अर्थात् ९ चैतसम्म लाग्नसक्ने बताउँछन् ।
The post रास्वपाको सत्ता रणनीति: चुपचाप बालेनलाई साथ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....