ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
लोकप्रियतावादको ललिपप
2082 General Election

लोकप्रियतावादको ललिपप

Inquiry Nepal Inquiry Nepal February 27, 2026 at 6:07 AM 46 views
निर्वाचनको मुखैमा मुलुकलाई प्रभावित पार्ने गरी अन्तर्राष्ट्रिय सञ्चार माध्यमको प्रयोग समेत भएको देखिएको छ।...

निर्वाचनका लागि एक साताभन्दा कम समय बाँकी रहँदै गर्दा यसलाई प्रभावित तुल्याउन अनेकन् क्षेत्रबाट प्रयास भइरहेका छन्। आजको दिनमा निर्वाचनलाई प्रभावित गर्ने काम देशभित्रकै सञ्चार माध्यमबाट मात्र हुँदैन। यसका निम्ति सामाजिक सञ्जाललाई प्रयोग र दुरुपयोग दुवै गर्ने स्थिति देखिएको छ। कुनै सामग्रीलाई समग्रतामा नहेरी आफू अनुकूलका अन्तर्वस्तु तयार पारी निर्वाचनलाई प्रभावित गर्ने गरी प्रयोग गरेको देखिएको छ। आफ्नो पक्ष वा विपक्षका उम्मेदवारलाई सजिलो वा अप्ठ्यारो पार्ने गरी यस्ता सामग्रीको प्रयोग भइरहेको छ। यस्तो बेलामा हिजोका सामग्रीलाई खोजीखोजी प्रयोग गरेको देखिन्छ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमको प्रयोग पनि यस्तो बेलामा हुन्छ। तिनले आफ्नो स्रोतसाधन प्रयोग गरी यहाँको जनमत अनुकूलका व्यक्तिका निम्ति उपयोग गराउने कोसिस गर्छन्। कुनै पनि मुलुकका आफ्ना विशिष्टता हुन्छन्। तर, त्यसलाई भिन्न रूपमा प्रयोग गर्न आफ्ना माध्यमको उपयोग गर्ने खतरा उत्तिकै हुन्छ। त्यसमा पनि सामाजिक सञ्जाललाई प्रयोग गरी सर्वसाधारणलाई भावनात्मक बनाई तिनले चाहेअनुसारका उम्मेदवारलाई जिताउने खेलको आयोजना पनि हुन सक्छ। जसले धेरै सामाजिक सञ्जाललाई दुरुपयोग गर्न सक्छ, उसले निर्वाचन आफ्नो हातमा पार्नसक्ने अवस्था पनि सजिलै आउँछ।

पछिल्ला वर्षहरूमा निर्वाचनलाई आफूअनुकूल पार्न फेक सामग्री तयार गर्ने प्रचलनले व्यापकता पाएको छ। कृत्रिम बौद्धिकता (एआई) प्रयोग गरी तयार पारिएका सामग्री सर्वसाधारणका निम्ति छुट्याउनै नसक्ने छन्। तिनको उपयोग गरेर आफूले चाहेको उम्मेदवारका पक्षमा मत लिने खतरा पनि उत्तिकै छ। अल्गोरिदमका कारण आफूलाई मन परेका उम्मेदवारको मात्रै सामग्री आउने अवस्था हुन्छ। अझ कतिपय अवस्थामा यस्ता सामग्रीको बाढी नै लगाइदिने गरी लक्षित क्षेत्र, उमेरका मानिसलाई लक्ष्य गर्न सकिन्छ। यसले मतदातालाई भावनात्मक अवस्थामा पुर्‍याएर निर्णय गराउने अवस्था छ। विगत समयमा जस्ता कुनै देश विशेषले मात्र निर्वाचनलाई प्रभाव पार्दैन, बरु यसमा ठुला प्रविधि कम्पनीबाट वितरित सामाजिक सञ्जालबाट प्रभाव पार्न सक्ने देखिन्छ। तिनलाई हाम्राजस्ता मुलुकमा कुनै पनि हिसाबले नियन्त्रण वा नियमन गर्न सक्ने अवस्था रहँदैन।

यस्तै सामग्रीका कारण कैयन् देशमा मतदाता ‘लोकप्रियतावाद’को सिकार भएका छन्। कतिपय अवस्थामा सर्वसाधारणले कुन ठिक वा बेठिक छुट्याउन सक्ने अवस्था हुँदैन। हामीकहाँजस्तो प्रविधिको ज्ञान कम भएका ठाउँमा इन्टरनेटमा प्राप्त सबै सामग्री सही हुन् भन्ने भान पर्छ सक्छ। त्यसले सर्वसाधारणबाट झुक्याएर मत तान्ने खतरा हुन्छ। वास्तवमा हाम्राजस्ता मुलुकहरूले सूचना प्रविधिको उपयोग गर्दा नीतिगत तयारी गर्नुपर्ने हो। विगतमा कहिल्यै त्यसतर्फ ध्यान दिइएन। पहिले यस्ता सामग्री निःशुल्क उपयोगमा आएका थिए। अहिले यिनै माध्यममा हाम्रो मुलुकबाट ठुलो मात्रामा राजस्व मात्र जाँदैन, सर्वसाधारणको समय पनि व्यतित भएको हुन्छ।

दलहरूले सर्वसाधारणसँग मत माग्ने मात्र होइन, सूचना प्रविधिको उपयोगमा समेत चनाखो बनाउनुपर्ने अवस्था छ। निर्वाचन आयोगले पनि सर्वसाधारणलाई यस्ता पक्षबाट जोगाउन भूमिका खेल्नुपर्ने हुन्छ। तर, नेपालीले निर्वाध रूपमा उपयोग गरेको इन्टरनेटका माध्यमबाट तिनको मत दुरुपयोगको खतरा पनि उत्तिकै छ। तिनलाई भावनात्मक रूपमा कमजोर तुल्याएर पनि मत लिनसक्ने खतरा छ। लोकप्रियतावाद यस्तो खतरनाक हतियार भएको छ कि कैयन् मुलुक निर्वाचनपछि पछुताएका छन्। लोकप्रियतावादले सही र गलत छुट्याउन नसक्ने अवस्थामा पुर्‍याउँछ। इन्टरनेटका माध्यममा देखाइएकोजस्तो अनुहार कतिपय अवस्थामा उम्मेदवारको नहुन पनि सक्छ। यसकारण तिनलाई राम्ररी बुझेर मात्र मत दिनुपर्ने हुन्छ।

हामीकहाँ इन्टरनेटमा गलत सूचनाको आगो लगाएर पनि यथार्थमै मुलुकलाई संकटमा पारिएको छ। जिम्मेवार व्यक्तिले सिंहदबार जलाउने धम्की दिँदा अन्ततः त्यही जलाउन गएको स्थिति गत भदौ २४ मा मुलुकले बेहोरिसकेको छ। शान्तिपूर्ण आन्दोलनको अनुमति जिल्ला प्रशासन कार्यालयबाट लिने र फेरि आन्दोलनलाई विस्फोटक बनाउने गरी तयारी गरिएको पनि अनुभव भएकै छ। त्यसैलाई आधार बनाएर फेरि निर्वाचनको मुखैमा मुलुकलाई प्रभावित पार्ने गरी अन्तर्राष्ट्रिय सञ्चार माध्यमको प्रयोग समेत भएको देखिएको छ। त्यसैले आजको दिनमा देशभित्रबाट भन्दा पनि बाहिरबाटै राजनीतिलाई प्रभावित पार्ने अवस्था आएको छ।

अतः निर्वाचनको निकटमा रहेको मुलुकमा देखिएका सामाजिक सञ्जाल, अन्तर्राष्ट्रिय तथा राष्ट्रिय सञ्चार माध्यमको दुरुपयोगको खतरालाई बेवास्ता गर्न सकिँदैन। यहाँको जनमतलाई प्रभावित पार्ने प्रयास सबैतिरबाट भइरहेको छ। यसबाट सजग हुन सर्वसाधारण आफैं तत्पर भएनन् भने मुलुक थप संकटमा पर्ने देखिँदै छ। लोकप्रियतावादको खतराबाट जोगिई मुलुकको आवश्यकतालाई बुझेर निर्णय गर्नु अहिलेको अपरिहार्यता भएको छ। हाम्राजस्ता मुलुकलाई चारैतिरबाट खतरा देखिएको छ।

election election 2082