काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले संसदीय राजनीतिबाट सन्न्यास लिने घोषणा गरेका छन्। उनले व्यक्तिगत इच्छाविपरीत संसदीय निर्वाचन लडेको र अब नलड्ने बताएका हुन्।
सामाजिक सञ्जालमा लेखेका छन्, ‘म सार्वजनिक रूपमा स्पष्ट पार्न चाहन्छु– म संसदीय (पदको) राजनीतिबाट टाढा रहनेछु तर यसको मतलब राजनीतिबाट बीचमै गायब भएको होइन ।’
उनले आफूले व्यक्तिगत इच्छाविपरीत दुई पटक संसदीय निर्वाचन लडेको उल्लेख गर्दै एक पटक जित र एक पटक हार व्यहोरेको बताए। तर दुवै निर्णयप्रति आफू सन्तुष्ट रहेको उनको भनाइ छ।
राउतले २०७५ सालमा ‘स्वतन्त्र मधेश गठबन्धन’लाई सरकारले काम गर्न नदिएको र जनतामाझ जान रोक लगाएपछि पार्टी गठन गर्नुपर्ने अवस्था आएको स्मरण गरेका छन्। सो क्रममा अरू नेताहरूले अध्यक्ष बन्न नमानेपछि आफू नै पार्टीको नेतृत्व सम्हाल्नुपरेको उनले उल्लेख गरेका छन्।
२०७९ सालको आमनिर्वाचनमा आफू प्रत्यक्ष वा समानुपातिक कतैबाट नलड्ने सोच बनाएको भए पनि पार्टीका नेताहरूको आग्रहपछि निर्वाचनमा भाग लिएको उनले बताए। सो निर्णयका कारण पार्टीले प्रत्यक्षतर्फ एक सिट र समानुपातिकतर्फ पाँच सिट जित्दै राष्ट्रिय पार्टी बन्न सफल भएको उनको दाबी छ।
त्यस्तै २०८२ को निर्वाचन नलड्ने निर्णय पहिल्यै गरेको भए पनि अन्तिम समयमा पार्टीका नेताहरू र कार्यकर्ताको मनोबल नघटोस भनेर फेरि उम्मेदवारी दिएको उनले उल्लेख गरेका छन्। परिणाम आएपछि पनि साथीहरूको सल्लाह मानेर चुनाव लडेको निर्णय सही भएको महसुस भएको उनले बताएका छन्।
राउतले अब संसदीय वा पदको राजनीतिबाट विश्राम लिने तर राजनीतिबाट भने अलग नहुने स्पष्ट पारेका छन्। उनले आफ्नो सिद्धान्त, एजेन्डा र जनताको अधिकारका लागि निरन्तर संघर्ष गर्ने प्रतिबद्धता जनाएका छन्।
राउत यसपटक सप्तरी–२ बाट प्रतिनिधिसभा सांसदका उम्मेदवार थिए। तर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रामजी यादवसँग पराजित भए।
The post सिके राउतले लिए संसदीय राजनीतिबाट सन्यास appeared first on RONB post.