ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
पार्टीमा निर्वाचनको समीक्षा गर्दै कुलमानले भने: यो हार होइन उज्यालो यात्राको सुरुवात
2082 General Parties Analysis

पार्टीमा निर्वाचनको समीक्षा गर्दै कुलमानले भने: यो हार होइन उज्यालो यात्राको सुरुवात

Inquiry Nepal Inquiry Nepal March 15, 2026 at 4:02 PM 58 views
घिसिङले प्राप्त जनमतलाई हारको रूपमा नलिई भविष्यको उज्यालो यात्राको मूल्यवान बीउका रूपमा ग्रहण गर्नुपर्ने बताए ।...

उज्यालो पार्टी नेपालका अध्यक्ष कुलमान घिसिङले निर्वाचनबाट प्राप्त जनादेशलाई आफ्नो पार्टीको यात्राका रुपमा टिप्पणी गरेका छन् ।

निर्वाचनको समीक्षासहित पार्टीको रणनीति तय गर्न दुई दिन भएको बैठकलाई सम्बोधन गर्दै घिसिङले प्राप्त जनमतलाई हारको रूपमा नलिई भविष्यको उज्यालो यात्राको मूल्यवान बीउका रूपमा ग्रहण गर्नुपर्ने बताए ।

चुनौतीपूर्ण परिस्थितिमा पनि पार्टीले देशभर उल्लेखनीय सद्भाव, विश्वास तथा जनसमर्थन प्राप्त गरेको उल्लेख गर्दै उनले अब यसै आधारमा संगठन विस्तार, सदस्यता अभिवृद्धि, डिजिटल अभियान, स्थानीय जनसम्पर्क तथा आगामी प्रदेश तथा स्थानीय तह निर्वाचनको तयारीलाई तीव्रता दिने बताए ।

घिसिङले उज्यालो नेपाल पार्टी कुनै जाति, क्षेत्र वा समूह विशेषको नभई सम्पूर्ण नेपाली जनताको साझा, समावेशी तथा जिम्मेवार राजनीतिक विकल्प भएको मनन गर्दै पार्टीप्रति विश्वास राखी मतदान गर्ने सम्पूर्ण मतदाता, उम्मेदवार, नेता, कार्यकर्ता, समर्थक तथा शुभेच्छुकहरूप्रति धन्यवाद ज्ञापन गरेका छन् । यो मतले आगामी दिनमा अझ सशक्त, अनुशासित, जनमुखी तथा परिणाममुखी ढङ्गले अघि बढ्ने प्रेरणा मिलेको घिसिङले बताए ।

बैठकले समीक्षा कार्यक्रमबाट प्राप्त सुझाव, अनुभव तथा निष्कर्षहरूलाई आधार बनाई देशव्यापी संगठन सुदृढीकरण, जनतासँग निरन्तर संवाद, विकासमुखी एजेन्डा निर्माण, रचनात्मक खबरदारी तथा मुलधारको राष्ट्रिय राजनीतिक शक्ति निर्माणको दिशामा दृढतापूर्वक अघि बढ्ने निर्णय गरेको पार्टीका प्रवक्ता राजु थापाले बताए ।

त्यस्तै बैठकले निर्वाचन शान्तिपूर्ण तथा सफलतापूर्वक सम्पन्न गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने वर्तमान सरकारलाई धन्यवाद दिने, राष्ट्रिय स्वतन्त्र पार्टीलाई ऐतिहासिक सफलताका लागि बधाई ज्ञापन गर्ने तथा आगामी सरकारलाई सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्ने निर्णय समेत गरेको छ ।

parties election 2082