नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले जनताले मतपत्रमार्फत ‘अस्वीकार’ को कठोर फैसला सुनाइसकेपछि आफ्नै कार्यकर्तालाई सत्य बोलेको आधारमा कारबाहीको धम्की दिनु कति बुद्धिमानी हुने भन्ने प्रश्न उठाएका छन्।
उनले यति ठूलो नैतिक पराजयपछि पनि अरूलाई कारबाही गर्ने ‘नैतिक आधार’ नेतृत्वसँग कति बाँकी छ भन्ने प्रश्नसमेत गरेका हुन्।
'जब जनताले मतपत्रबाटै 'अस्वीकार' को कठोर फैसला सुनाइसकेका छन्, तब आफ्ना कार्यकर्तालाई सत्य बोलेको आधारमा 'कारबाही' को धम्की दिनु कतिसम्म बुद्धिमानी होला? यति ठूलो नैतिक पराजयपछि पनि अरूलाई कारबाही गर्ने 'नैतिक आधार' अब नेतृत्वसँग कति बाँकी छ?' उनले सामाजिक सञ्जालमा भने।
पाण्डेले नेकपा एमालेको वर्तमान संरचना र कार्यशैली नै ‘रिसेट’ गर्नुपर्ने बेला आइसकेको बताएका छन्। उनका अनुसार यस्तो गम्भीर मोडमा पनि 'सबै ठीक थियो, हामीलाई त फसाइयो' भन्ने निष्कर्ष निकाल्नु आफैँलाई धोका दिनु हो।
उनले अन्तर्घात वा षड्यन्त्रको चर्चा भए पनि त्यसले ५–१० हजार मतसम्म मात्रै तलमाथि गर्न सक्ने उल्लेख गर्दै देखिएको ४०–५० हजारको मतान्तरलाई ‘फसाइएको’ भनेर व्याख्या गर्नु जनताको विवेकको अपमान हुने बताए।
'नेकपा (एमाले) को पूर्ण संरचना र कार्यशैली 'रिसेट' गर्नुपर्ने बेला आइसकेको छ। यस्तो गम्भीर मोडमा पनि 'सबै ठीक थियो, हामीलाई त फसाइयो' भन्ने निष्कर्ष निकाल्नु आफैँलाई धोका दिनु हो। मानौँ, कसैले फसायो होला, अन्तर्घात भयो होला - तर अन्तर्घातले ५ - १० हजार मत तल-माथि होला,' पाण्डेले भने, 'देखिएको ४०–५० हजारको मतान्तरलाई 'फसाइएको' भनेर व्याख्या गर्नु जनताको विवेकको अपमान हो।'
उनले अब पनि पार्टीले आफ्नो तरिका बदल्ने आँट नगरी 'अरू असफल होलान् र फेरि हाम्रो पालो आउला' भन्ने सोचमै अल्झिरहने हो भने त्यो पार्टी र देश दुवैका लागि घातक हुने चेतावनी दिएका छन्।