ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
मतदानपछि मतदाता भारत फर्किन थाले
2082 General Election

मतदानपछि मतदाता भारत फर्किन थाले

Inquiry Nepal Inquiry Nepal March 12, 2026 at 8:35 PM 33 views
निर्वाचनका बेला स्वदेश फर्किएका सुदूरपश्चिमेली मतदान सकिए लगत्तै रोजगारीका लागि कैलालीको त्रिनगर सीमा नाका हुँदै भारत फर्किन थालेका छन् ।...

निर्वाचनका बेला स्वदेश फर्किएका सुदूरपश्चिमेली मतदान सकिए लगत्तै रोजगारीका लागि कैलालीको त्रिनगर सीमा नाका हुँदै भारत फर्किन थालेका छन् । केही दिनदेखि नेपाल–भारतको त्रिनगर सीमा नाका हुँदै उनीहरु भारततिर फर्किन थालेका हुन् ।

रोजगारीका साथै उपचार, व्यापार तथा अन्य व्यक्तिगत कामका लागि दैनिक सयौँ नेपाली उक्त नाका हुँदै भारत जाने–आउने गर्छन् । त्रिनगर सीमा नाकामा भेटिएका कञ्चनपुरका पदम पन्तले मतदान गरेर आफू फेरि भारततिर जान लागेको बताए ।

उनले भने, ‘दुई महिनाअघि मतदान गर्न नेपाल आएको हुँ । अहिले फेरि काममा फर्किन थालेको छुँ ।’ खुला सीमा नाका कारण आवतजावत सहज भए पनि कतिपयका लागि भने आवश्यक कागजातको अभावले समस्या सिर्जना भएको छ ।

त्रिनगर नाकामै भेटिएकी अछामकी कल्सु साउदले उपचारका लागि भारत जान लागेको बताइन । उनले भनिन्, ‘मतदान गरेपछि नेपालमै स्वास्थ्य जाँच गरौँ भन्ने सोचेकी थिएँ । तर अहिले नियमित चेकअपका लागि फेरि भारत जान लागेकी हुँ ।’

सुदूरपश्चिमका धेरै बिरामी उपचारका लागि भारतीय अस्पताल धाउँछन् । नेपाल–भारतबीचको खुला सिमाना रहेकोले दुई देशका नागरिकले धेरै ठाउँमा सहज रूपमा आवतजावत गर्न पाउने व्यवस्था छ । सुदूरपश्चिमका नागरिक दैनिक रोजगारी, व्यापार, शिक्षा र उपचारका लागि भारत जाने गर्छन् । बिहान नेपालबाट भारत काममा जाने र साँझ फर्किने व्यक्ति धेरै भेटिने गरेका छन् ।

नेपालमा निर्वाचन हुने जानकारी पाएपछि केही समयका लागि भारतलगायत विभिन्न देशमा काम गर्ने नेपाली मतदानका लागि घर फर्किएका थिए । निर्वाचन सम्पन्न भएपछि भने पुनःकामका लागि विदेश फर्किने क्रम देखिएको हो । विशेषगरी युवा तथा श्रमिक वर्गका नागरिक झोला बोकेर भारत जाने दृश्य सामान्य बनेको छ ।

सदियौँदेखि सुदूरपश्चिमेलीको रोजगारीको प्रमुख गन्तव्यस्थल भारत बनेको छ । सुरक्षा गार्ड, निर्माण क्षेत्र, होटल, उद्योग, कृषि तथा अन्य दैनिक ज्यालादारी काममा नेपालीले काम गर्ने गर्छन् । नेपालमा कामको अवसर कम हुनु र कमाइ पर्याप्त नहुनु भारत जाने प्रमुख कारण हो । रोजगारी मात्र नभएर स्वास्थ्य उपचारका लागि भारत जाने नेपालीको सङ्ख्या ठूलो छ । सुदूरपश्चिमका धेरै जिल्लामा विशेषज्ञ चिकित्सक, आधुनिक उपकरण र ठूला अस्पतालको अभाव छ । जटिल रोग लागेका बिरामी प्रायः भारतका अस्पतालमा भर पर्ने गरेका छन् ।

धनगढी, महेन्द्रनगरलगायत सीमावर्ती क्षेत्रबाट भारतका बरेली, हल्द्वानी, देहरादून, लखनउ, भोजीपुरा र दिल्लीसम्म उपचारका लागि बिरामी जाने गर्दछन् । खुला सिमाना भए पनि पछिल्लो समय सीमा पार गर्दा आवश्यक कागजातमा कडाइ गरेको छ । नागरिकता, मतदाता परिचयपत्र वा अन्य पहिचान कागजात नहुँदा कतिपय नागरिक सीमामै रोकिने गरेका छन् ।

election election 2082