ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
‘निर्वाचन परिणाम अप्रत्याशित छ, हामीले जनताको असन्तुष्टिलाई बेलैमा बुझ्न सकेनौं’
2082 General Election

‘निर्वाचन परिणाम अप्रत्याशित छ, हामीले जनताको असन्तुष्टिलाई बेलैमा बुझ्न सकेनौं’

Inquiry Nepal Inquiry Nepal March 11, 2026 at 7:34 PM 44 views
नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले भर्खरै सम्पन्न निर्वाचनको परिणाम कांग्रेसका लागि अनपेक्षित रहेको बताएका छन्।...

नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले भर्खरै सम्पन्न निर्वाचनको परिणाम कांग्रेसका लागि अनपेक्षित रहेको बताएका छन्।

बुधबार नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’ मा नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइँटेलसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन्।

खतिवडाले चुनावमा ठूला पार्टीहरूको परम्परागत मत खस्किएको र नयाँ शक्तिहरूको उदय भएको विषयलाई गम्भीरतापूर्वक लिएको सुनाए।

‘हामीले सोचेको भन्दा फरक नतिजा आयो। कांग्रेस र एमालेका बलिया किल्लाहरू भत्किएका छन्। मधेशवादी दलहरूको अवस्था पनि त्यस्तै रह्यो,’ उनले भने, ‘यस पटक जनताले गोप्य रूपमै नयाँ तरिकाले मतदान गरे।’

उनले आमसभा र जुलुसमा ठूला नेताहरूको प्रभाव कम देखिएको र बालेन, रवि लामिछाने जस्ता नयाँ अनुहारप्रति जनताको आकर्षण बढेको औंल्याए।

कांग्रेसभित्रै पनि युवा नेतृत्वको आवश्यकता महसूस गरिएको र गगन थापाजस्ता नेताहरूलाई जनताले रुचाएको उनले सुनाए।

‘हामी बदलियौं, अब देश बदल्छौं भन्ने नारा कांग्रेसले दियो, तर साँच्चै हामी बदलियौं त ? यो प्रश्न जनताले सोधेका छन्,’ उनले भने, ‘पुरानै अनुहार दोहोरिँदा जनतामा वितृष्णा देखिएको छ।’

खतिवडाले पार्टीभित्रको आन्तरिक असन्तुष्टि र टिकट वितरणको शैलीप्रति पनि असन्तुष्टि व्यक्त गरे। उनले पार्टी नेतृत्वले जनभावना बुझ्न नसकेको र पुराना नेताहरूलाई मात्र अवसर दिँदा युवा पुस्ता रुष्ट भएको बताए।

उनले भने, ‘हाम्रो पार्टीमा महामन्त्रीहरू नै पराजित हुने अवस्था आयो, यो गम्भीर विषय हो।’

उनले जनतामा रहेको वितृष्णा र असन्तुष्टिलाई सम्बोधन गर्न नसक्दा नयाँ दलहरूले फाइदा लिएको बताए। ‘हामीले जनतालाई पासपोर्ट लिन, सामान्य सेवा पाउन कति गाह्रो छ भन्ने कहिल्यै बुझेनौं। उनीहरूले ठूलो कुरा मागेका थिएनन्, मात्र सुशासन र सहज सेवा चाहेका थिए,’ उनले थपे, ‘तर हामीले उल्टै राज्यको ढुकुटी सिध्याउने गरी ठूला-ठूला पद सिर्जना गर्‍यौं, सल्लाहकारहरूको फौज राख्यौं।’

खतिवडाले प्रदेश संरचनाप्रति पनि जनताको असन्तुष्टि बढेको बताए। ‘एउटै प्रदेशमा २० जनासम्म मन्त्री बनाउने, ठूलो खर्च गर्ने तर जनताको काम नगर्ने प्रवृत्तिले प्रदेशप्रति नै वितृष्णा जगाएको छ,’ उनले भने, ‘हामीले जनताको यो असन्तुष्टिलाई बेलैमा बुझ्न सकेनौं।’

उनले कांग्रेसले अबको दिनमा जनताको भावना बुझेर अघि बढ्नुपर्ने र पार्टीभित्र व्यापक सुधारको खाँचो रहेको कुरामा जोड दिए।

election election 2082